धार्मिक तथा पर्यटकीय महत्व बोकेको शैलुङ


धार्मिक तथा पर्यटकीय महत्व बोकेको शैलुङ

दोलखा र रामेछापको सिमानामा अवस्थित ३१४५ मिटरको उचाईमा रहेको शैलुङ धार्मिक (बौद्ध, हिन्दु)  पर्यटकीय क्षेत्रका रुपमा प्रसिद्ध छ । दोलखा र रामेछापको मात्रै नभएर छिमेकी जिल्ला काभ्रे, सिन्धुपाल्चोक र देशैभरबाट पनि यहाँ परापूर्व कालदेखि नै तीर्थ जाने परम्परा रहिआएको छ ।

कुमार थोकर

शैलुङमा महादेवको दर्शन गर्नेहरुको घुइचो लाग्छ । विशेषगरी शिवरात्री, नयाँ वर्ष, जनै पूर्णिमा, बाला चतुर्दशी र कार्तिक पूर्णिमाको बेला यहाँ ठूलो मेला लाग्ने गर्दछ । बुद्ध धर्म मान्ने मानिसहरु र हिन्दू धर्म मान्ने मानिसहरु सबैले उत्तिकै श्रद्धा र विश्वास गर्ने शैलुङमा यहाँ अहिले विश्वशान्ति स्तुपा निर्माण भइरहेको छ । प्रस्तुत छ यसै विषयमा केन्द्रित रहेर कुमार थोकरले तयार पार्नुभएको यो सामाग्री । 


परिचय :
शैलुङ रिगसुम गोन्पो सेवा समाज गैरनाफामूलक सामाजिक संस्था हो । बौद्धधर्म, बौद्धपरम्परा, बौद्धशिक्षा र बौद्धदर्शनको प्रवद्र्धन गर्दै धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको पहिचान गरी त्यस्ता सम्पदाहरुको पुनर्निर्माण, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ वि.स. २०७१ सालमा यो समाजको स्थापना भएको हो । त्यस्ता सम्पदाहरुको भौतिक पूर्वाधारको विकास गरी आन्तरिक र बाह्य धार्मिक तथा साँस्कृतिक पर्यटनलाई आकर्षित गर्दै स्थानीयको आयआर्जनमा वृद्धि गर्न समाजले समुदायसँग सहकार्य गर्दछ । त्यसबाहेक वातावरण, शैक्षिक, सामाजिक, साँस्कृतिक, धार्मिक आदि पक्षहरुको सन्तुलित विकासको लागि समुदायकै सहभागितामा समाजले आफ्नो गतिविधिलाई अघि सार्दै आएको छ ।
उद्देश्यहरु
– बौद्ध परम्परा, शिक्षा, दर्शनको संरक्षण र प्रवद्र्धन गर्ने 
– धार्मिक क्षेत्रहरुको पहिचान गरी भौतिक पूर्वाधारको विकास गर्ने 
– धार्मिक पर्यटनको अवधारणालाई अघि बढाउने 
– बौद्ध आध्यात्मिक दर्शनको माध्यमबाट वातावरण संरक्षण र सम्वद्र्धन गर्ने 
– विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी वन, जंगल र प्राकृतिक स्रोत साधनको संरक्षण गर्ने सहयोग गर्ने

शैलुङ ज्याङ्छयुब छ्योतेन निर्माण प्रगति विवरण

धार्मिक, साँस्कृतिक र जैविक विविधताले भरिपूर्ण शैलुङ क्षेत्रको एकीकृत विकास गर्दै यस क्षेत्रलाई धार्मिक तथा साँस्कृतिक पर्यटनको गन्तब्य स्थलको रुपमा उभ्याउन शैलुङ ज्याङ्छयुब छ्योतेन (बोधिचैत्य) परियोजना अघि सारिएको हो । संस्थाका संरक्षक श्रद्धेय धर्म गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछे र रामेछाप दोलखा जिल्लाका स्थानीयहरुको पहल र अग्रसरतामा स्थानीय स्रोत र साधन परिचालन गरी ५३ फिट अग्लो छयोतेन (चैत्य) निर्माण गर्ने लक्ष्य अनुरुप वि.स. २०७३ भाद्र महिनादेखि छ्योतेन निर्माण कार्य शुभारम्भ गरिएको हो ।

यसको निर्माण अनुमानित लागत २ करोड ५० लाख रहेको छ । बौद्ध धर्म गुरुहरुको प्रत्यक्ष निगरानीमा धार्मिक विधिविधान अनुरुप निर्माण कार्य भइरहेको छ्योतेनको फाउन्डेसन (जग) निर्माण कार्य सम्पन्न भई बुम्बाको निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । यसै त उच्च स्थान त्यसमाथि मौसमी प्रतिकूलता, प्राविधिक तथा सीमित आर्थिक स्रोतको कारण निर्माणकार्यलाई निरन्तरता दिन नसकिने बाध्यताबीच यतिसम्म निर्माण कार्य सम्पन्न हुनु पनि ठूलो उपलब्धी ठानेका छौं । यसका लागि आ–आफ्नो पक्षबाट धार्मिक भाव राखेर सहयोग गर्नु हुने समस्त श्रद्धालु तथा शुभेच्छुक महानुभावहरुप्रति समाज हार्दिक कृतज्ञता जाहेर गर्दछ ।

ज्याङ्छयुब छ्योतेन (बोधिचैत्य) किन ? छ्योतेनको महत्व के हो ? 

स्वयम् भगवान् बुद्धले महापरिनिर्वाण पश्चात् आफ्नो अस्तुधातु राखी चैत्य निर्माण गर्न भनी सारिपुत्र तथा उपासकउपासिकलाई आदेश दिएका थिए । फलस्वरुप तथागत बुद्ध महापरिनिर्वाण हुनु भएपछि आठ राज्यमा तथागत बुद्धको अस्तुधातु विभाजन गरी आठवटा चैत्य निर्माण भएको थियो । तत्पश्चात् चैत्य निर्माणले गति पाएको देखिन्छ । यी अष्टचैत्यहरुमध्ये ज्याङ्छयुव छ्योतेन (बोधिचैत्य) सबैभन्दा महत्वपूर्ण चैत्य हो ।

बोधगयामा भगवान् शाक्यमुनी बुद्धले सम्यक सम्बोधी लाभ गरेको स्मरणमा मगध नरेश विम्विसारले पहिलो पटक यसप्रकारको चैत्य निर्माण गर्नु भएको इतिहास रहेको छ । बोधिको अर्थ बुद्ध– ज्ञान र चैत्यको अर्थ चित्त अर्थात् बुद्धको चित्तको प्रतीकको रुपमा बोधिचैत्यलाई लिन सकिन्छ । पुज्यनीय टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेज्यू यस पावन भूमिमा २०७० सालमा पाईला राख्नुहुँदा यस क्षेत्रको महत्वलाई बोध गर्नुभई बोधिचैत्यको आवश्यकता महसुश गर्नु भएको हो । यसको निर्माण गरी प्राणप्रतिष्ठा (राब्ने) भएपछि यस भेग लगायत चारैतिर सुख, शान्ति र समृद्धि छाउने श्रद्धेय गुरुको मुखारविन्दबाट उल्लेख भएकोले उहाँकै सदीक्षा अनुरुप यस चैत्यको निर्माण कार्य अघि बढाएको हो । यस्तो पुण्य कार्यमा सहभागी हुनु भएमा यस लोकका साथै परलोकमा समेत सम्पूर्ण मित्र सुख प्राप्त हुने र अन्ततः मोक्षमार्गमा पुग्न सकिने कुरा प्रमाणिक बुद्धवचन, सूत्र र तन्त्रमा समेत उल्लेख छ ।

चैत्यको प्राणप्रतिष्ठा पश्चात् दर्शन गर्नाले, नाम मात्र श्रवण गर्नाले, स्मरण गर्नाले, शरीरले स्पर्श गर्नाले साथै पवित्र चैत्य रहेको स्थानको हावाले छोएमात्र पनि समस्त सत्वप्राणीहरु दूर्गति (नरक, प्रेत र पशु) को जन्मबाट मुक्त हुने कुुरा बौद्ध सूत्र र तन्त्रमा उल्लेख छ । यसर्थ यस्तो महत्वपूर्ण पुण्य कार्यमा यहाँहरुको सबै प्रकारको सहयोग प्रार्थनीय छ ।

तस्वीर: श्रीहरि श्रेष्ठ, दावाशांवो शेर्पा, कुमार थोकर


Leave a comment