मंगलवार २१ असार, २०७९
टोकरपुरको ठूली बेशी भन्दा माथी कुवाखोल्साको भित्तामा एउटा ढुङ्गो हिफाजतले राखिएको छ । त्यस ढुङ्गाको नाम ‘गणेश ढुङ्गो’ हो । यो शिव पार्वतिका पुत्र हात्तीसुँडे गणेश होइन । दोलखा जिल्ला सुनखानी गाउँका सिवाकोटी बंशजका आदि पुर्खा गणेश पाध्या सिवाकोटीका नामबाट राखिएको नाम हो । यसको कथा निकै रोचक छ ।
नेपालको पश्चिमी कुनै गाउँबाट सन्तान दरसन्तानकालागि फराकिलो ठाउँको खोजीमा मामा र भानिज पूर्वी नेपालका भू-भाग हेर्दै हेर्दै सुप्रसिद्ध शैलुङ पर्वतको काखमा आए । मामाको नाम थियो, गणेश उपाध्याय र भानिजको नाम थियो, केशु उपाध्याय । यी शिवाकोटी र कँडेल थरका नैष्ठिक ब्राह्मण थिए । आउँदै गर्दा दुवैजना टोकरपुरको रजमनटारमा आएर बास बसे । वरिपरी खोला खोल्सामा यत्रतत्र पानीको राम्रो स्रोत भएको शान्त र रमणीय टार थियो । उनिहरूलाई ठाउँ मन पर्यो । तर उनिहरू ब्युँझनु भन्दा पहिले विहानी पख कुखुराको भाले बासेको आवाज सुने । त्यस जमानामा बाहुन कुखुरा भन्दा यति टाढा रहेछ, कुखुरो बासेको समेत पनि सुन्नु पर्दा अपवित्र हुने मान्यता । त्यति नै कारणले स्थान मन पर्दापर्दै पनि रजमनटारमा नबस्ने निश्चय गरेर अरु नै नयाँ ठाउँको खोजीमा बाटो लागे ।
उनिहरू रजमनटारबाट उत्तरपूर्व तर्फ सोझिए । जाँदा जाँदा छाँगा, छहराको सङ्गीतमय धुन सुनेर लमतन्न सुतेको अर्को सुन्दर टार, टोकरपुर नजिकै पुगे । टोकरपुर पुग्नु अगाडि पखेरो परेको ठाउँ, मीठो अनि कञ्चन जरुवा पानी भएको खोल्सामा पुगे । उनिहरूलाई भोक अनि प्यास लागिसकेको थियो । झोलामा भाँडाकुँडा र सामल छँदै थियो । झुलो चक्मक साथैमा थियो । त्यहाँ पातमा पनि काँडा भएको एक किसिमको जङ्गली फल चुथ्रा प्रजातिको झाडी थियो । त्यहि चुथ्रा अनि घँगारुका काँडा भएका सुकेका दाउरा खुर्किखार्की जम्मा पारे । त्यहीँको दर्शन ढुङ्गो टिपेर झुलो चक्मक रगडेर आगो निकाले । त्यतै बटुलेर चुल्ढुङ्गा जोरे, खाना पकाएर खाए ।
थकित शरीर, खाना खाइसकेर त्यहीँ केहीबेर आराम गरौं भनेर मामा भानिज ढल्किएका थिए, दुवै निदाएछन् । निकै वेरपछि ब्युँझिए । निन्द्रामा दुवैजनाले गहिरो सपना देखे । भाञ्जा केशु पाध्यालाई ‘यहीँ बस तिम्रालागी यो ठाउँ लाभदायक हुन्छ ।’ मामा गणेश शिवाकोटीलाई चाहीँ ‘यहाँबाट पूर्वोत्तर दिशातिर जानु । जहाँ सातवटा काभ्रा या बाँझका रुख फेला पर्लान्, त्यहीँ बस्नु’ भनेर सपना भएछ । आफू आफूले देखेको सपना एकापसमा कहे । सपनाको भनाई पत्याएर भाञ्जा त्यहीँ बस्ने निश्चय गरे । उनका सन्तान आजसम्म टोकरपुरमै छन् । मामा उत्तरपूर्वी दिशातर्फ काभ्रा वा बाँझका बोट हेर्दै र गन्दै बाटो लागे । भाञ्जा केशु पाध्या पनि मामासंगै साथ लागे ।
जाँदा जाँदा हाल दोलखा जिल्लाको सुनखानी भन्ने स्थानमा सपनामा तोकिएका सातवटा बोट फेला परे । उक्त स्थान मन पनि पर्यो । अव गणेश पाध्याले त्यहीँ बस्ने निश्चय गरे । त्यहाँ भब्य दरवार बनाए । त्यसको नाम ‘चौगारा दरवार’ राखियो । जो अद्यापी छँदैछ । यो मल्ल राजबंश कालिन घटना हो । ‘राजाको भन्दा पनि ठूलो दरवार बनाउँदैछ’ भन्ने उजुरी पर्यो । त्यसको कथा लामो छ । त्यता नजाऔं । मामा आफ्नो ठाउँ हेरेर भाञ्जाका निमित्त हेरिएको ठाउँ टोकरपुरमा फर्किएर आए । भाञ्जालाई ब्यवस्थित गरेर मामा गणेश फेरी सुनखानी फर्किए । सामाजिक ब्यवस्थामा भानिज केशु पाध्या गणेश पाध्याका पण्डित (पुरोहित) भए । मामा गणेश पाध्या यजमान । रुद्री, पूजा, श्राद्धआदिमा भानिज खलकको उपस्थित आजसम्म पनि पूज्य छ । यो प्रवन्ध धेरै पछिसम्म कायम छ ।
उनिहरू शिव पाञ्चायन, नागआदिको पूजा गर्थे । साथमा सालिग्राम राख्ने सम्पुट, शंख, घण्ट समेत थियो । उनिहरूले बोकेको शंख त बजाइनै रहे । विकट जङ्गली बाटो हिंड्दा हिंड्दै घण्टको रालो भने कहाँ झर्यो झर्यो । गणेश सिवाकोटी सुनखानी पुग्दा घण्टमा रालो रहेनछ । सायद सिवाकोटी परिवारमा यो ऐतिहासिक घण्ट सुरक्षित हुनुपर्छ ।
दुवै पुख्र्यौली थलामा फर्किए । आआफ्ना परिवार लिएर आए । आआफूले रोजेका ठाउँमा बस्ती बसाले । मामा भानिज दुवै विद्वान थिए । टोकरपुरबाट सुनखानी पुग्न निकै टाढा भयो । मामालाई टाढा छाडेर बस्नु पर्दा भाञ्जा केशु पाध्या कँडेललाई छट्पटी भयो । कताकता एक्लो महसुस भएर बेचैन भइरहेको थियो । हर्दम उनले मामा गणेश पाध्या सिवाकोटीलाई सम्झिइरहे । जताततै मामाको स्वरुप मात्र देख्न थाले । टोकरपुर आएको पहिलो दिन खाना खाँदा सुस्ताउँदा जुन ढुङ्गामाथी मामा निदाएका थिए । उनले त्यहि ढुङ्गालाई मामा सम्झिए । अन्त्यमा त्यहि कुवा खोल्साको ढुङ्गामा पुगेर उनको मन अडियो । घरका हरेक चाडबाडमा मामा गणेश सिवाकोटीलाई सम्झिन थाले । हुँदाहुँदा मामाको प्रतीक मानेर त्यसै ढुङ्गालाई पूजा गर्न थाले । यो चलन केशु पाध्याका सन्तान दरसन्तानसम्म चलिरह्यो ।
अहिले सडक खन्दा ‘गणेश ढुङ्गो’ बाटामा अर्गेलो भयो । त्यस ठाउँबाट हटाउनु पर्ने भयो । गणेशका भाञ्जाका सन्तान कुमार कँडेलले डोजर प्रयोग गरेर उक्त गणेश ढुङ्गो सडकको भित्तामा ब्यवस्थित र सुरक्षित गर्नु भएको छ । उक्त कुवाखोल्साको ढुङ्गो हात्तीसुँडे गणेश नभएर सुनखानीका सिवाकोटी बंशका प्रथम पुरुष गणेश सिवाकोटीको प्रतीक हो । यस ऐतिहासिक ढुङ्गालाई थप ब्यवस्थित गर्नुपर्ने आवस्यकता महसुश भइरहेको छ ।
लेखकः पौडेल नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज हुन ।