शुक्रबार १८ आश्विन, २०८१ (Friday October 04, 2024)

सामलिस्थान (सालु-रामेछाप)

मंगलवार २८ असार, २०७९ Nepalexplores 1772


सामलिस्थान (सालु-रामेछाप)

  • देवशंकर पौडेल

परापूर्व कालदेखि एक पानीढलोबाट अर्को पानीढलोमा आतेजाते गर्नु पर्दा होचा भञ्ज्याङबाट पार गरिन्थ्यो । त्यस्ता ठाउँमा धेरैवटा बाटाको सङ्गम हुनु स्वभाविक हुन्थ्यो । त्यस्ता ठाउँमा मानिसहरूको बाक्लो ओहोर दोहोर हुनेगर्थ्यो । होटल, पसलको विकास हुनु पहिले त्यस्ता भञ्ज्याङ वा दोवाटाहरूमा पाटी पौवा, धर्मशाला, ठाँटी, चौताराहरू स्थापना गरिएका हुन्थे । सालुपाटी, च्याउँकीठाटी त्यसैका उदाहरण हुन् । 

हालको सालुपाटी बजारमा सालका काठमा आकर्षक कलाले भरिएको एउटा पाटी थियो । बुट्टेझ्याल, ढोका, थाम, मोठआदि भएको एउटा आकर्षक पाटीमा पूर्व ताप्लेजुङ, इलाम सम्मका यात्रुहरू यसै पाटीमा आएर बास बस्थे । सालको पाटी स्थापना भएको ठाउँ भएकाले सालपाटी सालपाटी भन्दा भन्दै अचेल “सालुपाटी” भन्ने गरिन्छ । यो एकातिर थलारीडाँडाको उचाई, अर्कातिर थानाडाँडाको उचाईको विचमा सवैभन्दा होचो भञ्ज्याङ हो । नजिकैको अर्को भञ्ज्याङ्गलाई च्याउकीठाँटी भनिन्छ । कुनै च्याउकी नाम भएकी महिलाले ठाँटी स्थापना गरिदिएकाले उनकै नामबाट स्थानीयहरूले ठाउँको नाम नै “च्याउकीठाँटी” राखिदिए । ती परोपकारी महिला च्याउकी को थिइन् रु अध्ययन हुन बाँकी नै छ । उनको परोपकारको चिनो च्याउकी ठाँटी नाम आज पनि प्रसिद्ध छ ।

सालुपाटी भञ्ज्याङ हनुमान ढोकादेखि उनन्तीस कोशको दुरीमा छ । यो यस्तो दोवाटो हो, जहाँबाट पूर्व-पश्चिम पहाडी मुलबाटो र तराई पहाड मुलबाटो छुट्टिन्छ । अर्को बाटो ढुङ्गेछाप, भालुखोप, रामेछाप, ल्याङल्याङ, हुलाकडाँडा, बेतिनी, खुर्कोट भएर सिन्धुली जान्छ । अर्को बाटो सामलिस्थान, रणजोर, मन्थली, मुगिटार, माढीफाँट, रजगाउँ, सान्ने, पुछिघाट, घुमाउने चैनपुर भएर काठमाण्डूतर्फ सोझिन्छ । यसबाटो भएर काठमाण्डू आवतजावत गर्दा छ कोस सुनकोशी गढतिर र छ कोस रोसीका जंघार हिंड्नु पर्थ्यो ।

सालुमा पुराना सभ्यताका अवशेषहरू छन् । यहाँ एउटा विचित्रको देवीको मन्दिर छ । त्यसलाई सामलिस्थान भनेर चिनिन्छ । त्यहि मन्दिरको नामबाट गाउँको नाम नै सामलिस्थान रहेको छ । अन्यत्रका देवी, देउतालाई चामल, गहुँआदिको नैवेद्य चढाइन्छ । तर यी देवीलाई कोदाको रोटी चढाउने परम्परा छ । तामाङ पुजारी छन् । किम्वदन्ती अनुसार परापूर्व कालमा यस क्षेत्रमा किरातीको बसोबास थियो । रोगले ग्रस्त भएकी किरात कन्या घरघरै माग्दै खाँदै गरेर हिंड्दै गर्दा यस स्थानमा आए पछि देहत्याग गरिछन् । त्यहिं कसैका आङमा उत्रिइन् । धामीले त्यहाँ थानीको रुपमा मान्न थाले । आजसम्म मानमानितो हुँदै आएको छ । यी किरातीद्वारा स्थापना गरिएकी देवी हुन् ।

मन्दिरबाट केहि पश्चिम दिशातिर एउटा पानीको कलात्मक धारो छ । अचेल पहाड सुख्खा हुँदै गएकाले पानीको मुल सुकिसकेको छ । त्यसवेला बाह्रै महिना पानी सुक्दैनथ्यो । यो पँधेरो सारै मेहनतले ढुङ्गा कुँदेर बनाइएको छ । स्थानीयहरू कोहि “हिटीको धारो” “हिटीको पँधेरो” भन्ने गर्छन् । स्थानीयको भनाई अनुसार यो धारो मल्ल कालीन हो । त्यहाँ भएका कलात्मक पर्खाल यथावत छन् । गोहिमुखे ढुङ्गे धारो र धाराको मुनि सजाईएको शंख फुकेको ढुङ्गे मुर्ति अलप भइसकेका छन् । 

लेखक पौडेल नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज हुन । उनले रामेछापका विभिन्न भुभागमा रहेका ऐतिहासिक विषयवस्तुको खोज, अनुशन्धान र विश्लेषण गर्दै आएका छन । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु