बिहीबार २ चैत्र, २०७९
विगत लामो समय देखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागी यतिबेला विद्यार्थी संगठनहरु हरेक क्याम्पसमा क्रियाशील भएका छन । त्रिभुवन विश्वविद्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि विद्यार्थी संगठनहरु निर्वाचन केन्द्रित भएर चुनावी मैदानमा उत्रिएका छन । त्रिविका आंगिक ६१ क्याम्पसहरु र सम्बन्धन प्राप्त क्याम्पसहरुमा हुने स्ववियु निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन त्रिविले आचारसमिंता सहित परिपत्र समेत गरिसकेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेपाली विद्यार्थी आन्दोलनको मेरुदण्ड हो । नेपाली विद्यार्थी आन्दोलनलाई निर्णयक र उपलब्धिमुलक बनाउन स्ववियु बीना विद्यार्थी आन्दोलनको औचित्य पुष्टि हुनै सक्दैन ।
स्ववियुलाई विद्यार्थी आन्दोलनको गहनाको रुपमा हेरिन्छ । तर, विद्यार्थी संगठनहरु स्ववियु चुनावको महत्व र आवश्यकता बारे जिम्मेवार बन्न नसक्दा विगत लामो समय यता स्ववियु निर्वाचन हुन सकिरहेको छैन । परिवर्तनको महत्वपुर्ण हिस्सा बोकेको स्ववियु निर्वाचनको सरगर्मिले ईतिहासलाई ब्युँझाएको मात्र छैन, विगत लामो समय देखि प्रतिनिधित्व बिहीन बनेका विश्वविद्यालयका शैक्षिक संस्थाहरुमा शैक्षिक गुणस्तरमा सुधार, अनियमितता, बेथिति र भ्रष्टाचारको अन्त्यका लागी थप मलजल हुनेछ । स्ववियु निर्वाचनले समग्र विद्यार्थीको हित र सार्वजनिक सवालका विषयहरुलाई तदारुकताका साथ उठान गर्ने छ । नेपालको पछिल्लो राजनीतिक संस्कार र अस्थिर सरकारका कारण आम जनमानसमा देखिएको वितृष्ण, राजनीति प्रतिको घृणालाई स्ववियु निर्वाचनले प्रष्टता दिनेछ, सहयोग मिल्नेछ । मिनि संसदको रुपमा हेरिएको स्ववियुु र यसको निर्वाचनलाई नियमित र सरल बनाईयो भने भोलिको नीति निर्माण र नेतृत्वको जग इतिहास जस्तै झल्किरहने छ । यसको निरन्तरताले पछिल्लो पुस्तालाई जिम्मेवार बन्न र संगठित गर्ने काममा उत्प्रेरण जगाउने छ । त्यति मात्रै हैन विश्वविद्यालयका क्याम्पसहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले निर्वाचनमा सहभागी हुने अवसर पाउने छन, मताधिकारको सदुपयोग समेत
हुनेछ ।
पाटन संयुक्त क्याम्पसमा अत्यधिक क्रियाशील विद्यार्थी संगठन अनेरास्ववियु आफ्ना ऐजेण्डाहरु लिएर विद्यार्थीहरु माझमा छ । कतिपय संगठनहरु निर्वाचनको मुखमा अनुहार देखाउने, विभिन्न किसिमका बेतिथि र गैरराजनीतिक क्रियाकलापमा संलग्न हुने गर्दछन । यस्ता गतिविधिहरुले विद्यार्थीहरुको हित गर्दैन, क्याम्पसको मुहार फेर्न सहयोग पुग्दैन । अनेरास्ववियु सदैव विद्यार्थीहरुको पक्षमा दृढताका साथ उभिदै आएको छ । मुलुकमा आईपर्ने जुनसुकै समस्याहरु देखि जनजीविकाका सवालमा अग्रमोर्चामा उभिने संगठन अनेरास्ववियु हो । पाटन संयुक्त क्याम्पसमा अनेरास्ववियुले गरेका कामहरु विद्यार्थीहरुले अनुभुत गर्नुभएकै छ । पुस्तकालयबाट पर्याप्त मात्रामा किताब पढन पाउने व्यवस्था, शुद्ध पीउने पानीको व्यवस्था, निशुल्क इन्टरनेटको व्यवस्था, सफा शौचालय आदी जस्ता विषयमा अनेरास्ववियुले आफनो जिम्मेवारी पुरा गर्दै आएको छ, क्याम्पसलाई झकझक्याएकै छ । क्याम्पसमा रहेका नीजि कार्यक्रमहरु ल्याउनुमा अनेरास्ववियुकै देन हो । हामी क्याम्पसको विकास र विद्यार्थीको अधिकार सुनिश्चित गरिनु पर्दछ भन्ने कुरामा स्पष्ट छौ, क्रियाशील छौ ।
विगतमा जस्तै आफ्नो संगठनको पराजय हुने स्थिति देखिए पछि अनेकन जालझेलपुर्ण क्रियाकलापबाट निर्वाचन टार्ने वा हुन नदिने खेल खेलिंदै छ, तर यसले विद्यार्थी आन्दोलन र स्ववियुको स्वर्णिम इतिहासमा तुषारापात हुनेछ । यस्ता बेठिक गतिविधिबाट आम विद्यार्थीको नजरमा स्वंयम आफै कमजोर हुदै जाने हो । अनेरास्ववियुले निर्वाचन गराउनका लागी त्यसकिसिमको वातावरण बनाउन प्रयन्त जारी राखेको छ । हामी लोकतन्त्रका हिमायती हौ । निर्वाचनमा आफना ऐजेण्डा र गरिएका क्रियाकलापहरु लिएर विद्यार्थी माझमा छौ । आम विद्यार्थीहरुको रोजाईमा अनेरास्ववियु पर्ने कुरामा हामी विश्वस्त छौ । अनेरास्ववियु सदैव राष्ट्रिय स्वभिमानको रक्षा, परिवर्तन, एकता र निर्वाचित संस्थाको पक्षमा अग्रणी भुमिकामा संदैव रहँदै आएको छ । सहज वातावरणमा स्ववियु निर्वाचन हुनुपर्दछ र विद्यार्थीले आफनो मताधिकारको सदुपयोग गर्न पाउनु पर्दछ भन्ने विषयमा हामी संघर्षशील छौ ।
जस्तो सुकै परिस्थितिमा पनि समयमा नै स्ववियु निर्वाचन गराउँनका लागी अनेरास्ववियु तयार छ । लोकतन्त्रमा जित र हारलाई सामान्य रुपमा लिनुपर्छ । तर, विगतमा जस्तै आफ्नो स्वार्थ अनुकुलको नतिजा नहुने देखिएपछि अराजनीतिक संस्कार देखाउँने व्यवहारको अन्त्य गर्नु पर्दछ । कतै विभिन्न बहानामा फेरी स्ववियु निर्वाचनलाई टार्ने काम हुदैछ भने यो नेपाली विद्यार्थी आन्दोलनको स्वर्णिम ईतिहास माथि प्रहार गरिदै छ । यसो भयो भने विद्यार्थी संगठन असफल भएको प्रमाण्ति हुनेछ । स्ववियुको आवश्यकता र औचित्य नरहे विद्यार्थी संगठनको नैतिकता र नेपाली विद्यार्थी आन्दोलनको औचित्य माथी गम्भिर प्रश्न खडा हुनेछ ।
स्ववियुलाई विद्यार्थी आन्दोलनको गर्विलो विरासतको पृष्ठभुमिमा लाखौं युवा विद्यार्थीको आस्था र निष्ठाको प्रतिक बनाउन सक्नु पर्दछ । आजको सन्दर्भमा संस्थाको आचरण र संस्कारमा कसरी फरकपन वा नयाँपन ल्याउने भन्ने नैतिक जिम्मेवारी स्वंयम विद्यार्थी संगठनको जिम्मामा छ । संस्था भित्र मौलाउँदै गएको अराजनीतिक प्रतिशोधको भावनालाई निरुत्साहित गरी संगठनका नेतृत्वले आगामी स्ववियु संस्थालाई राजनीतिक संस्कार युक्त आकर्षणको केन्द्र, पुस्ता अभिमुखिकरणको थलो र राजनीति विस्तृतिकरणको आधार केन्द्रको रुपमा विकास गर्दै शैक्षिक अधिकारका निम्ति विद्यार्थीको पक्षमा निर्णयक संकल्प र प्रतिबद्धता व्यक्त गर्नु जरुरी छ । यसका निम्ति नियमितता, अध्ययनरत र प्रशासनिक प्रखरतायुक्त नेतृत्व भोलिको इतिहास निर्माणको खम्बा सावित हुनेछ ।
लेखक जि. सी अनेरास्ववियुको तर्फबाट सभापति (अध्यक्ष) पदका उमेदवार हुन । उनी एमबिएस अध्ययनरत छन ।