शुक्रबार १८ आश्विन, २०८१ (Friday October 04, 2024)

राजनीतिक परिवर्तन सजिलै भएको होईन 

बिहीबार १८ माघ, २०८० nepalexplores 1216


राजनीतिक परिवर्तन सजिलै भएको होईन 

  • देवशंकर पौडेल

हरेक राजनीतिक परिवर्तनमा दुःख थियो । 
रामेछापमा जन्म लिएका राजनीतिक नेता मध्ये सामन्तवादका विरुद्ध सर्वप्रथम पद्मशंकर अधिकारीले हतियार उठाउनु भएको थियो । उहाँले उठाएका हतियारका रापतापमा उहाँका सहयोद्धाहरू मोतिलाल श्रेष्ठ, कीर्तिमान श्रेष्ठ, मीनबहादुर भण्डारी, देवीराम तामाङहरू तेह्र तेह्रबर्ष कारागारको कठोर सजायाँ भोगे । इन्द्रशंकर अधिकारीले पनि जेल सजायाँ भोग्नु पर्‍यो । धनीराम तामाङ, भक्तबहादुर कार्की, कृष्णबहादुर श्रेष्ठ, रुद्रप्रसाद ढुङ्गेलआदिले निर्वासित जीवन विताउनुभयो । 


सरकारले पद्मशंकर अधिकारी, इन्द्रशंकर अधिकारीको सर्वस्व हरण गर्‍यो । त्यही सिलसिलामा पद्मशंकरका सोझा भतिजा शेषशंकर अधिकारीले समेत अनाहकमा कहर काट्नु पर्‍यो । काकाको राजनीतिले उनले पो जेल बस्नु पर्‍यो र जेथा पनि सर्वस्व हरण गर्‍यो । नेपालको अघिल्लो प्रजातान्त्रिक आन्दोलनमा यो परिवारले भोग्नुसम्म भुक्तमान भोग्यो । यो प्रसङ्ग कैलाश ढुङ्गेलजी र म एकरात शेषशंकर अधिकारीका घरमा बास बसेका बेला मसिनो रुपमा थाहा पाएका थियौं ।


नेपालमा तेस्रो पटक उठेको हतियारलाई ‘जनयुद्ध’ नामाकरण भएको थियो । ठाउँ अनुसार ुजनयुद्धु को प्रभाव बेग्ला बेग्लै थियो । कठजोरमा जनयुद्धले शेषशंकरकै परिवारमा खनिएको अवस्था रहेछ । उहाँको जमिन जोतखन गर्न पनि प्रतिबन्ध गरिएछ । विगतमा सामन्तवादका विरुद्धलाग्दा यस परिवारले भोगेको भुक्तमानतर्फ विचार गर्दा यो परिवार जनविरोधिको कित्तामा हाल्नु नपर्ने जस्तो लाग्यो । यस्तो परिस्थितिमा यस किसिमका कृयाकलाप नगर्ने सल्लाह दिनु पर्ने निस्कर्ष निकाल्यौं । त्यसका निम्ती विद्रोही नेतृत्वसंग कुरा गर्न भनेर तुलप्रसाद कडेल र तारानिधि सुवेदी कठजोर जानु भयो । 


हामीले सूचना लिइरहेका थियौं । त्रासका कारण गाउँका मानिसहरू कोही पनि जोत्न मान्दैनन् । खेत बारी बाँझै रहने भए । परिवार भन्छ: हरेक राजनीतिक परिवर्तनमा हाम्रो परिवारले मात्र दुःख पाउनु पर्ने, के र छ यस्तो ? यी कुराले हाम्रो मन काटियो । अर्को चरणमा तारानिधि सुवेदीजी र म कठजोरतर्फ उकालो लाग्यौं । शेषशंकरका छोरा तारणीशंकर अधिकारीसंग भेट भएन । उहाँकी आमा र बहिनीसंग भेट्यौं । समस्या बुझ्यौं । जोत्ने मानिस पाइएन । हामी नै जोत्छौं, पनि भन्यौं । तत्काल गोरु, हला, जुवाआदि जुटेनन् । हामी त्यसै फर्कियौं । 


झर्दै थियौं, तल पिप्लेमा एउटा घरमा विहे रहेछ । त्यसबेला गाउँतिर भेला समारोहहरू बन्दाबन्दी थियो । मानिसहरू समुहमा भेट हुनु नै दुर्लभ थियो । परम्परागत पञ्चेबाजा, नौमति बाजा बजाउन प्रतिबन्ध थियो । भरुवा बन्दुक त के झोसवाला बन्दुक समेत पड्काएर उत्सव मनाउन मनाही गरिएको थियो । यस्तो समयमा समुहमा मानिस भेट्नु दुर्लभ नै थियो । तारानिधिजीसंग मैले प्रस्ताव राखें । विवाह समारोहमा जाऊँ १ दुई गाउँका मानिसहरू भेट हुन्छन्, कुरा गरौं । तारानिधिजीले ‘नबोलाएको विबाहमा जानु हुँदैन’ भन्नु’भो । मैले थप जिद्दी गरें । तारानिधिजी मान्न बाध्य हुनु’भो । हामी विहे घरमा गयौं । केहीबेर बस्यौं । दुलाहा दुलहीलाई आशिर्वाद थियौं । विवाह घरमा खुसी हुनु’भो ।


विहेघरबाट जन्तीपक्ष र घरगाउँले पक्षसंग विदा मागेर बाटो लाग्यौं । उहाँहरू पनि हामीलाई भेट्न नपाएर नियास्रिनु भएको, हामी पनि जनसमुदायसंग भेट्न नपाएर निस्ताएको अवस्था रहेछ । दुवैथरीलाई राहत महसुस भयो । तारानिधिजीसंग यात्रा गर्नु निकै रमाइलो हुन्छ । त्यसपछि रसिला रसिला उखान, टुक्का सुनाउँदै रमाईला रमाईला कुरा गर्दै मन्थली झर्‍यौं ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु