राष्ट्रियगान रचनाकारका छोरी बनिन् गायिका


 राष्ट्रियगान रचनाकारका छोरी बनिन् गायिका

२०७५ चैत्र २५ । गत विहीवार अपरान्हतिर अनामनगरस्थित सेवा रेकर्डिङ स्टुडियोमा राष्ट्रियगान रचनाकार व्याकुल माइला स–परिवार भेटिए । त्यसैगरी थिए त्यहाँ वाम्बुले मातृभाषाका संरक्षण र विकासका अभियान्ता लिब्जु–भुम्जु पत्रिकाका सम्पादक गणेश राई ।
स्टुडियोभित्र घन्किरहेको वाम्बुले राई मातृभाषाको बाल गीत–

कि बाकि टुङटुङ
कि याम्कि कुङकुङ
नाले पालो थेयुँम उङ

अर्थात् 
कि बसौँ चुपचाप
कि उभौँ ठि¨
चकचक गर्दा लडेँ म ...

नेपाल एक्सप्लोर्स टिम त्यहाँ पुग्दा रेकर्डिङको सबै टेक ओके हुने क्रममा कहाँ कहाँ दोहो¥याउनु पर्ने हो सो थाहा पाउन गीत घन्किरहेको थियो । कानमा माइक्रोफोन अनि फरिया–चोली, सिरबन्दी, च्याप्टेसुन लगायत किरात सांस्कृतिक भेषभूषामा गीत गाइरहेकी बाल गायिका निष्ठाले रेकर्डिष्ट एवं सङ्गीतकार पदम रजान मगरलाई अनुरोध गर्दै भनिन्, “अंकल लास्ट स्टेन्जा फेरि गाउँछु ल, अलि प्रनाउनसेसन मिलेन छ †” रेकर्डिष्टले हुन्छ भने । सहरमै जन्मेकी हुर्केकी कारण निष्ठाले वाम्बुले भाषा बोल्दिनन् । तर, यति गीतको समेतले उनले उच्चरण मिलेको नमिलेको थाहा पाउने भएकोमा उनका पापा व्याकुल र बडा गणेश द¨ परे । यस उदाहरणबाट गीत मातृभाषा सिक्न, सिकाउन अर्थात् भाषाको विकासको लागि प्रभावकारी माध्यम रहेछ भन्ने कुरा बुझ्न सकिन्छ ।

गणेश राईले भने “यो नै हाम्रो वाम्बुले भाषाको पहिलो रेकर्डेड बालगीत हो ।” राई जातिभित्र २९ वटा भाषाहरू जीवित छन् । त्यसमध्ये वाम्बुले मातृभाषा ओखलढुंगा, खोटाङ लगायत विभिन्न स्थानमा रहेका वाम्बुले राई समुदायले बोल्दछन् । यो भाषामा विगत २५ वर्षदेखि लिब्जु–भुम्जु पत्रिका निरन्तर प्रकाशन हुँदैआएको छ भने गत २० वर्ष यता हरेक वर्ष कविता प्रतियोगिता आयोजना हुँदै आएको छ । यस भाषामा करिब २ दर्जन पुस्तकहरू प्रकाशित छ । द नेदरल्याण्डस्का स्कलर जाँ रव्यार अप्गेनर्टले यस भाषाको व्याकरण विषय शोधपत्र लेखेर सन् २००२ मा विद्यावारिधि उपाधि हासिल गरेका छन् । त्यसैगरी त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तहका आधा दर्जन शोधार्थीहरू यस भाषामा शोध–अनुसन्धान गरेका छन् । व्याकुल माइला आफ्नो मातृभाषामा समेत कलम चलाई राख्छन् ।

जीवनमा अनुराधा कोइराला जस्तै समाजसेवी बन्ने रहर बोकेकी निष्ठा अहिले सेन्ट मेरिज स्कुल कक्षा ६ मा पढ्दै गरेकी छिन् । गायनमा उनी निकै अब्बल छिन् । यो उनको पहिलो रेकर्डेड गीत हो । आफ्नी छोरीको गीति करिअरको सुरुवातसँगै आफ्नो मातृभाषा बालगीत रेकर्डिङको समेत सुरुवात भएकोमा व्याकुल माइलाले खुशी व्यक्त गरे । उनले भने, “मेरी छोरीले यसरी गाउलिन् भन्ने लागेको थिएन, उनी त राम्रै गायिका रहिछिन् ।” 

तस्वीरः श्रीहरि श्रेष्ठ, nepalexplores.com


Leave a comment