मसानसँग माछा मार्ने माझी 


मसानसँग माछा मार्ने माझी 

रामेछाप नगरपालिकाको १ नम्बर वडामा पर्ने गोठगाउँबाट हाम्रो यात्रा सुरु भयो । शनिवारको दिन विहानको खाना खाएर यात्रामा हिँडेका हामी देवशंकर पौडेल, कमल राई, श्रीहरि श्रेष्ठ, प्रमिला श्रेष्ठ, विन्दा घिमिरे, सन्दिप अर्याल, रोसन खत्री र मसहित ८ जनाको टाेली नवलपुरका लागि निस्कियौं । गोठगाउँबाट नवलपुर जानका लागि पैदल यात्रामा निस्किएका हामीलाई त्यहाँ पुग्न दुई दिन लाग्यो । यात्राका क्रममा हामीले आफ्ना तीता–मिठा अनुभवहरु साट्दै, कुराकानी गर्दै, रमाइलो गर्दै यात्रा कटाउने निधो गरौं । समूहमा रहेकामध्ये धेरै रामेछापकै स्थानीय भएतापनि उहाँहरु पनि काठमाडौंमा बसोबास गर्दै आउनुभएका थिए भने म लगायत केही भने रामेछापका लागि नौलो अनुहार थियौं । हामीलाई रामेछापको यात्रा निकै रोचक अनि रमणीय थियो ।

विनय हुमागाई

यात्राकै क्रममा हाम्रो भेट एक जना माझी दाइसँग भयो । झट्ट हेर्दा साधारण र सिधा स्वभावका देखिने ती माझी दाइ उनको कुरा भने त्यति साधारण थिएन । लिखु खोलाको किनारै किनार साँघुटारबाट हिमगंगा बसेरी हुँदै हामी सुनकाेशी र लिखुकाे संगमस्थल नवलपुरघाट जाने क्रममा अगौटे बजारस्थित माझी गाउँमा हामी पुग्दा उनीसँग हाम्रो भेट भएको हो । श्याम बहादुर माझी नाम बताउते उनी भन्दैथिए, लिखु खोलाको किनारमा वारि अगौटे बजार र पारि ओखलढुंगा जिल्लामा पर्ने नौबिसे गरी जम्मा १३ धुरी माझीहरुको वस्ती रहेकाे छ । उनले सानैदेखि माछा मार्न यही खोलामा सिकेका हुन् । 

उनले लिखु खोला देखाउदै भने ‘यो खोलामा पहिले पहिले थुप्रै माछा हुन्थे। अहिले माछा मार्न गाह्रो छ।’ उनले थपे, “म सानो छँदा खोलामा फट्के मार्दा, एक दुई ओटा माछा त्यसै खुट्टाले किल्चेर मार्थे ।’ उनको कुरा सुनेपछि लाग्यो सायद पहिले पहिले यस खोलामा साच्चिनै थुप्रै माछाहरु हुन्थे होलान् । हामीले जिज्ञासा बस माछा कम हुनुको कारण सोध्यौं । उनले अपत्यारिलो पारामा भने “खै बिस पनि हाल्थे रे त्यसैले गर्दा गाउँ घरका गाई बस्तुलाई बच्चा बच्चीलाई बिस लाग्थ्यो रे ।’ करेन्ट पनि लाउथे ? हामीले जिज्ञासापूर्ण तरिकाले सोध्यौं, उनले झटपट जवाफ दिए, “त्यसैले त सखाप पार्यो नि !’

श्याम बहादुर माझीले आफ्नो जीबन कालमा सिध्रे माछा, असले माछा, बाम माछा, ठेड माछा लगायत थुप्रै प्रजातिका माछाहरु मारेको अनुभव सुनाए । 

हामी यात्राको क्रममा हामीसंगै यात्रा गर्नु हुने विन्दा घिमिरेको घरमा बास बस्न पुगेका थियौं । घरमा कोही पनि बस्नु हुँदैन रहेछ । तर हाम्रो ८ जनाको टिमले त्यही बस्ने निधो गरेपछि हामी आफैले साँझको भान्सा तयारी गरी खायौं र सुत्नतर्फ लाग्याै । दिनभरी हिँडेको शरीर कतिबेला सुतियो र कतिबेला उज्यालो भयो पत्तो पाइएन । भोलिपल्ट घामको पहिलो किरणसँगै हामी पनि ब्युझियौं । ती माझी दाइ घरको आँगनमा आइसकेका रहेछन् । विन्दा दिदीले पकाउनु भएको चिया पिउँदै माझी दाइले हामीलाई आफ्नो जीवनकालमा घटेको घटना सुनाउन आतुर भए । चियागफमा उनले भुतको कथा सुनाउन थाले । बर्सौ पहिले लिखु खोलाको किनारमा मसान भेटिन्थ्याे रे । यो कुरा सुनेर सबैको कान ठाड्ठाडो भयो ।

माझीले कथालाइ रोचक बनाउदै बिस्तारमा सुनाउँदै गए । उनको कथामा भुत र त्यो खोला किनारमा बस्ने मानिसको भेट कसरी भयो भनि सुनाउँदै थिए । कथाको सिलसिलामा एक रोचक प्रसङ्ग आयो जहाँ भुतले त्यो मान्छेको नारीमा समातेर खोला भित्र तान्यो रे । मानिसले त्यो भूतको हात छुटाउन सकेन । मानिसलाई भूतबाट आफ्नु हात छुटाउन भुतको हात काट्नु पर्यो । त्यति गर्दा नि मानिसले सुख पाएन । अझैपनि भूतको काटिएको हात भने त्यो मानिसको दाहिने हातमा कसिलो पाराले टाँसिएको थियो । 

हामी सबैले लिखु खोला तर्फ हेर्दै कथा सुनिराख्यौ, माझी भन्दै थिए । यसै क्रममा हामीसँगै रहनुभएका देवशंकर पौडेलले मुख खोल्नुभयो, “तपाईले भूत देख्नु भा’को छ ?” माझीले  खोलामा जाल हाल्न जाँदा एक पटक खोलामै भूत भेटेका हुन् रे । यत्तिकैमा श्रीहरि अंकलले सोध्नुभयो, ‘भूत कस्तो हुन्छ त ?’  माझीले भने “भूत हामी जस्तै हुन्छ । जब मैले खोलामा जाल हाल्थे । उसले पनि हाल्थ्यो । आफूले जे गर्यो उसले नि त्यहि गर्थ्यो ।’ 

अघिको प्रसङ्ग जोड्दै माझीले भने, ‘त्यो मानिसलाई आफ्नु हातमा टाँसिएको भूतको हात छुटाउन सारै मुस्किल पर्यो रे । पछि कुनै उपाए नलागेपछि त्यो मानिसले फलामको काम गर्ने मानिसको सहायताले भूतको हात भाच्नु प¥यो रे ।

त्यो छोटो समयको भेटमा हामीलाई श्याम बहादुर माझीबाट उहाँको त्यो अचम्मको अनुभव सुन्ने मौका मिल्यो । हामीले उहाँसँग फोटो खिचाएर विदा माग्यौं । यात्राको क्रममा हामीले धेरै प्रसंगमा उहाँलाई सम्झी राख्यौ ।

तस्वीरः विनय हुमागाई, nepalexplores


Leave a comment