चार दिने मेरो इलाम यात्रा 


बेलायतलाई कार्य क्षेत्र बनाएर पनि नेपाललाई सँधै मायाँ गर्नुहुने इलामको समाल्बुङ माइतीघर भएकी वरिष्ठ समाजसेवी सुमित्रा राईज्यूसँग सँगै यात्रा गर्ने अवसर पाइयो । पूर्वी पर्यटकीय क्षेत्र श्रीअन्तुसम्मको धार्मिक र पर्यटन प्रवद्र्धनका लागि प्रचार प्रसार र अवलोकनका लागि सुमित्रा ज्यूकै पहलमा उहाँसँगसँगै चार दिन यात्रा गर्न सफल भयौं । केही गाह्रो, त्यो भन्दा पनि रमाइलो मेरा लागि यात्रा निकै अविष्मरणीय बन्न पुग्यो ।
निर्माण व्यवसायी तथा सामाजिक अभियन्ता कुमार थोकर तामाङको साथमा १९ गते बिहीबार झापा जानका लागि हाम्रो सात जनाको टिम तयार भयो । इलाम जानका लागि हवाई मार्ग झापा मार्फत जाने भएकाले हामीले झापा जाने निर्णय ग¥यौ । १९ गते १२ बजे काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरमार्फत हामी झापाको चन्द्रगढीका लागि हिँड्यौं ।  

विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुभएका व्यक्तित्वहरुसँगको यात्रा मेरो मनमा निकै उत्साह थियो । इलामका लागि मेरो पहिलो यात्रा त्यहाँको भौगोलिक भू–बनोट, कतिखेर पुगिन्छ होला भन्ने ब्यग्र प्रतिक्षा थियो मनमा । हामी वरिष्ठ समाजसेवी सुमित्रा राई, सामाजिक अभियन्ता कुमार थोकर तामाङ, फिल्मशाला प्रालिका अध्यक्ष श्रीहरि श्रेष्ठ, प्रबन्ध निर्देशक किरण मोक्तान, नाम्सादिम अनलाइनका अध्यक्ष हिरामान वल तामाङ, अन्नपूर्ण पोष्टका सह–सम्पादक सचितानन्द राई, तेमल अनलाइनका संवाददाता रोज बहादुर तामाङ (च्याङ्बा)सहितको टोली काठमाडौंबाट उडान भरी करिव ४२ मिनेटको हवाई यात्रापछि झापाको चन्द्रगढी विमानस्थलमा अवतरण ग¥यो । त्यहाँ सुमित्रा दिदीको दाजु देउकुमार राई हामीलाई लिनका लागि गाडी लिएर पहिलै आइपुग्नुभएको रहेछ । 

यात्रामा सुमित्रा दिदीले टिममा हिँडेकोमध्ये अविवाहत रहेका हिरामान र च्याङ्बातिर इंगित गर्दै ‘इलामको केटी, झापाको खेती, ताप्लेजुङको तोङ्बा र सुकुटी’ भन्दै जिस्काउँदै हुनुहुन्थ्यो । त्यसैगरी सचितानन्दज्यूले अर्काे उखान थप गर्नुभयो, ‘हिँड्यो इलाम, खायो सिलाम फर्किदा गुण्टा लिलाम ।’ यात्रामा हाँसोको पहिरो गयो । 

हाम्रो यात्रा विर्तामोडस्थित सुमित्रा दिदीको बहिनीको घर पुगेर रोकियो । त्यहाँ हामीले खाजा खायौं र निस्कियौं । हाम्रो यात्रा इलामसम्मका लागि थियो । त्यसैले हामी गाडी चढी बुधबारे हुँदै उकालो यात्रा अगाडि बढ्यौं । इलामका नाकबेली सडक, घुम्तीहरुमा रमाइलो गर्दै कन्यान्म हुँदै साँझ करिव साढे ६ बजेतिर सूर्योदय नगरपालिका समाल्बुङस्थित सुमित्रा दिदीको माइतीघरमा पुग्यौं । सुमित्रा दिदीले त्यहाँ रहनुभएका आफ्ना दाजु, भाउजुसँग परिचय गराउनुभयो । भाउजुले पकाउनु भएको मिठो खानाको परिकारको खाएर त्यही हामीले बास बस्यौं । 

विहान सूर्यको आगमनसँगै हामी सबै जना उठ्यौं । वास्तवमै सुन्दर इलाम रहेछ, ओछ्यानबाटै घाँम अनि हरियाली सुन्दरता देख्न पायौं, मनै फुरुंग भो । भाउजुले पकाउनु भएको चिया नास्ता खाएपछि दिनभरीका लागि हाम्रो यात्रा तय भयो । 

नजिकै वडा कार्यालय, प्रहरी चौकी र निर्माणाधिन अवस्थामा गुम्बा रहेछ । हाम्रो यात्रा धार्मिक पनि भएकाले गुम्बामा स्वागत र परिचयात्मक कार्यक्रम राखिएको रहेछ । गुम्बाका पदाधिकारीहरु र समाल्बुङबासीको अतिथि सत्कार साह्रै अविष्मरणीय बन्यो । हाम्रो टिममा रहेका भाई कुमार थोकरले निर्माणाधिन गुम्बाका लागि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसपछि हामी पर्यटकीय क्षेत्र अन्तु डाँडाका लागि निस्कियौं । हामीसँगै स्थानीय बुद्धिजीविहरुको समेत उपस्थित थियो । 

एउटै बारीको पाटोमा अलैची, चिया, अकबरे खुर्सालीलगायत घर वरिपरि फूलेका फूलहरुको दृश्यावलोकन गर्दै अन्तुडाँडामुनि रहेको शिव मन्दिर पुग्यौं । त्यहाँ पनि स्वागतको कार्यक्रम राखिएको रहेछ । सुमित्रा दिदीले मन्दिर नजिकैको बाटो निर्माणका लागि सहयोग स्वरुप रु ५० हजारको चेक हस्तान्तरण गर्नुभयो । त्यसपछि हामी उकालो सिँढी चढ्दै श्रीअन्तुडाँडातिर लाग्यौं । धुपीको जंगलमाथि चुचुरोमा सूर्याेदयको दृश्यावलोकनका लागि भ्युटावर निर्माण गरिएको रहेछ । त्यहाँ केहीबेरको बसाईपछि हामी भञ्ज्याङतिर झ¥यौं । भञ्ज्याङमा पुराना होमस्टे व्यवसायी धनबहादुर आलेसँग भेट भयो । त्यहाँ महिला केन्द्रित २० जनालाई जनरल कुकको तालिम संचालन भइरहेको रहेछ । त्यसपछि अर्काे रमणीय स्थल झिल (पोखरी) पुग्यौं । रमाउँदै डुंगामा चढ्यौं । माथि चिया बगानमा केही तस्बिरहरु खिच्यौं । नजिकै संचालिक एक चिया उद्योगमा पनि पुग्यो र त्यहाँ केहीबेर चिया निर्माण सम्बन्धी म्यानेजर रुष्तम घिसिङबाट जानकारी लियौं । साँझको घाम डुम्ब लागि सकेको थियो । हामी त्यस दिनको क्रियाकलापलाई थाती राखेर घर फर्कियौं । दिनभरिको हिँडाईले हामी थकित थियौं । तर रमाइलो यात्राले हामीलाई थकान महशुस भने गर्न दिएन । घरमा हामीले खाना खाएपछि कतिखेर निदायौं पत्तो पाएनौं । 

रातभरि पानी प¥यो विहानको उज्यालो भएसँगै पानी पर्न कम भयो । चिया नास्ता खाएसँगै हाम्रो यात्रा सन्दकपुरका लागि तय भयो । जुन इलाम जिल्लाकै सबैभन्दा उचाई ३९०० मिटरको रहेको छ । गाडी लिएर हामी यात्रामा निस्कियौं । यात्राका क्रममा हामी फिकल, बाह्रगोला, माईखोला हुँदै इलाम बजार पुग्यौं । त्यहाँ जिल्लाकै सबैभन्दा ठूलो होटल सुमित होटलका संचालक तुलबहादुर देवानसँग भेट गरी विहानको खाना त्यही खाने निर्णय ग¥यौै । केहीबेरको बसाईपछि पुनःयात्रामा निस्कियौं । ठाडो उकालो अनि कच्ची सडक पार गर्दै हामी प्रसिद्ध धार्मिक पोखरी माईपोखरी पुग्यौं । त्यहाँ माइपोखरीको दर्शनपछि यात्रालाई पुनःनिरन्तरता दियौं । कठिन यात्रा, भर्खर खन्दै गरेको नयाँ बाटो, चिप्लो माटोमा घुम्तिहरु पार गर्दै कालापोखरीमुनि जंगलसम्म हामी पुग्यौं । समय साँझको करिव ६ बजिसकेको थियो । त्यसमाथि सन्दकपुरसम्मको यात्रा अझै करिव २ घण्टा लाग्ने सडकमै भेट भएका एक स्थानीयले जानकारी दिए । त्यसमाथिको यात्रा हाम्रा लागि सम्भव भएन । त्यही केहीबेर विश्राम ग¥यौं र फर्कियौं । उस्तै बाटो, खाल्डाखुल्डी, ओरालोतिर हाम्रो गाडी मोडियो । हामी रातभरको यात्रापछि विहानपख ३ बजे सुमित होटलमा आईपुग्यौं र त्यही सुत्यौं । भोलिपल्ट आइतबार विहान उठेर चियाखाजा खाएर केहीबेर इलाम बजार घुम्यौं र खाना खाएर काठमाडौं फर्किने निर्णय ग¥यौं । हाम्रो हवाई यात्राका लागि चन्द्रगढी विमानस्थलसम्म सुमित्रा दिदी पनि आउनुभएको थियो । त्यहाँबाट हामी बुद्ध एयरमार्फत काठमाडौं हिँड्यौ । 

सुमित्रा दिदीको निमन्त्रणामा हामीले इलाम भ्रमणका लागि बिहीबार काठमाडौंबाट गई चार दिनको यात्रा पूरा ग¥यौं । उहाँसँगको यो चार दिन मेरा लागि जीवनभरको अविष्मरणीय क्षण बन्नेछ । 


 


Leave a comment