डेरी उद्योगबाट कमाएको ख्याती (भिडियोसहित)


डेरी उद्योगबाट कमाएको ख्याती (भिडियोसहित)

मन्थली । रामेछापको सदरमुकाम मन्थलीमा यतिबेला ४४ डिग्री तापक्रम छ । पहिलोपटक जो कोही मन्थली पुग्यो भने मध्य तराईमा हुनेजत्तिकै गर्मीले यहाँ बस्नै सक्दैनन् । गर्मी झेल्ने मेसोमा मन्थलीमा रहेको चिरन्जिवी डेरीका उत्पादन लस्सी, दही मोहीले साथ दिने गरेको छ । 

मन्थलीमा यो डेरीले त्यत्तिकै लोकप्रियता पाएको होइन । यसका सञ्चालक भानु श्रेष्ठको निकै ठूलो मिहिनेत र परिश्रमले यो अवस्थामा पु¥याएको हो । 

२०६७ सालमा ७ लाख रुपैयाँबाट सुरु भएको चिरन्जीवी डेरीले हाल दैैनिक १५ सय लिटर दूध कलेक्सन हुने र त्यसबाट दही, मोही उत्पादन गर्दै उपभोक्ताहरुलाई विक्री वितरण गर्दै आइरहेको छ । २०६७ सालमा मास्टर्स डिग्री अध्ययन समाप्त भएसँगै डेरी उद्योग खोल्ने सोँच राखेका श्रेष्ठले डिडीसीका काठमाडौं वितरण प्रमुख (हाल महाप्रवन्धक) ईश्वरीराज न्यौपानेसँग सरसल्लाह गरेर यो उद्योग सुरुवात गर्नुभएको हो । सुरुमा डेक्चीमा दूध जम्मा गरेर डेरी सुरु गरेको बताउने श्रेष्ठले १५ वर्षसम्म काम गरेर बचेको ७ लाख रुपैयाँबाट सुरु गरेको डेरी उद्योग अहिले रामेछापकै मुख्य डेरी उद्योगका रुपमा विकास भएको छ ।

डेरी उद्योग सञ्चालन गरेसँगै आज यो क्षेत्रका किसानहरुको आर्थिक विकास राम्रोसँगभएको बताउनु हुन्छ । हाल यहाँका किसानहरु मोटरसाइकल चढेर दूध बेच्न आउने, छोराछोरीलाई राम्राराम्रा स्कुलमा पढाउन सक्ने अवस्थामा पुगेको श्रेष्ठ बताउनु हुन्छ । 

रामेछापमा स्वेत क्रान्ति गरिछाड्ने अठोट बोक्नुभएका श्रेष्ठ यहाँसम्म आइपुग्न निकै कठिनाई भोग्नुपरेको बताउनु हुन्छ । हाल जिल्लामा आवश्यकताअनुसार माग पूरा गर्दै आएको बताउने श्रेष्ठले आफ्नो डेरीबाट चिज, पनिर, लस्सी, दही, मोही, घ्यू उत्पादन गर्दै उपभोक्तासम्म पु¥याउन आफू  आज १० जनालाई रोजगारी दिन सफल भएको बताउनुहुन्छ ।

आफ्नो डेरीको अध्ययन गर्न आउनु भएका नेकपाका नेता पूर्व सांसद एवं पूर्व राजदूत कमल कोइराला र नेकपाका केन्द्रीय सदस्य एवं पूर्व सांसद देवशंकर पौडलसँग पनि सरकारले स्वेत क्रान्तिका लागि राम्रो वातावरण बनाइदिन आग्रह गर्दै सरकारले किसानको हित अनुकूल काम गर्न आवश्यक नीति निर्माण तयार गर्ने र किसानहरुलाई बजार र प्रविधिसँग जोडेर सहयोग गर्ने वातावरण बनाई अनुदान दिने व्यवस्थाका निम्ति पहल गर्न आग्रह समेत गर्नुभयो ।

श्रेष्ठले गरेको मिहिनेतले रामेछापमा डेरी उद्योगबाट निकै ख्याती कमाएको छ भने यसले किसानहरुलाई पनि कृषि कर्म गरेरै पनि आर्थिक विकास र समृद्धि सम्भव छ भन्ने देखाएको छ । 

तस्वीरः श्रीहरि श्रेष्ठ

भिडियो:

 


 


Leave a comment