बुधबार ३० माघ, २०८१ (Wednesday February 12, 2025)

विर्ता उन्मुलनको बाह्र बर्ष पछि र आज

मंगलवार ३ श्रावण, २०७९ Nepalexplores 1409


विर्ता उन्मुलनको बाह्र बर्ष पछि र आज

  • देवशंकर पौडेल:

वि.सं. १८६२ पछि सिरिसे, कबै र बोक्से हाम्रा पुर्खाको विर्ता रहेछ । विर्ता, गुठीआदि सामन्ती युगका आधार र अवशेष हुन् । विर्ता वि.सं. २०१६ सालसम्म रह्यो । वि.सं. २०१६ सालमा विर्ता उन्मुलन भयो । गुठी जीवीतै छ । 
यो चाहीँ वि.सं. २०२९ पछिको कुरा हो । त्यस वेलासम्म पनि यी तीनै ठाउँमा राम्रो खेत बनिसकेको थिएन । थेग्ला थेग्ली खेत र थेग्ला थेग्ली बयरका घारी थिए । पाँच बर्षसम्म हप्ताको दुई पटक लगातार त्यहि बगर खेत भएर हिंड्ने यात्रु विद्यार्थीहरू थियौं हामी । हिंड्दैजाँदा भोकाउथ्यौं पनि । भोकाएका किशोरहरूका निम्ती पाकेका बयरका फलको खाजा अनि लिखुको पानीद्वारा प्यास मेट्नु साप्ताहिक पोषण थिए । लिखुको पानी कञ्चन थियो । सोझै अञ्जुलिले  उघाउँदै पिउँदै गरिन्थ्यो । विद्यालयतर्फ जाँदा जति तल गयो त्यति गौंडा गौंडामा साथीहरू थपिंदै जान्थे । फर्किदा घट्दै जान्थे । 

साँघुटार जाँदा कहिलेकाहीँ पिताजीका साथ गइन्थ्यो । बाटामा पिताजीले विर्ताका अनेकौं प्रसङ्ग सुनाउनु हुन्थ्यो,  ‘वि.सं. २०१५ सालको प्रजातान्त्रिक चुनाव पछि जितेका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले विर्ता उन्मुलन गरिदिएका रहेछन् । त्यस भन्दा पहिले यी जमिनको तिरो तिर्नु पर्दैनथ्यो । त्यस यता तिरो लाग्न थालेको हो ।’ म त्यसैसाल जन्मिएको रहेछु । बाले जुन बेला मलाई विर्ताका कथा सुनाइरहनु भएको थियो, त्यतिबेलासम्म ती बगरहरू हाम्रो अधिनमा थिएनन् । पछिल्ला पुस्ताका भाईभाईमा कुरा नमिलेर पाकेको धान बाली लुटालुट पनि भएका रहेछन् । त्यस पछि बेच बिखन भएर कसकसका भएभए । 
कबैमा एउटा भीमकाय डल्लो ढुङ्गो अर्को ढुङ्गामाथी टक्रक्क अडिएको थियोरछ । त्यो वि.सं. १९१३ साल कात्तिक (दशैंको टीका) का दिनमा आएको ठूलो बाढीले त्यहाँ ठड्याएको रहेछ । जुनबेला मेरो हजुरबा पनि जन्मिनु भएको थिएन । 

एकदिन त्यहि ऐतिहासिक ढुङ्गाको छेउ कबैको बाटो भएर साँघुटार जाँदै थिएँ । बाटा छेउको ढुङ्गे बगरमा मभन्दा पाको उमेरको एउटा ठिटो र उसकी श्रीमती ठूलाठूला ढुङ्गा पल्टाइरहेका थिए । उनीहरूका कपडा जीर्ण थिए । ढुङ्गा माटामा खेल्नुपर्ने भएर यस्ता कपडा लगाएका हुँदाहुन् । बाटामा को हिंडेको छ रु त्यता हेर्दैनथे । काममा ब्यस्त थिए । केहिबेर उभिएर हेरें । फुकालेका ढुङ्गा पल्टाउँदै पल्टाउँदै लगेर छेउ लाउँथे, चाङ लगाएका ढुङ्गाढुङ्गा विचको छिद्र भागमा सेउला खाँद्थे । त्यस पछि च्याफ्लामा बोकेको गेगर, माटो विछ्याउँथे । उनीहरू दिनहुँ यसै गरि खेत विराउँदा रहेछन् । म चाहीँ उहाँहरूका कामको साप्ताहिक अवलोकन गर्ने गर्थें । यो जोडीलाई घरको दलिनमा गौंथलीका जोडीले चुच्चामा माटो बोकेर आकर्षक गुँड बनाएर बचेरा हुर्काए झैं सम्झिन्थें ।

त्यो अवलोकन कक्षा छमा पढ्दा वि.सं. २०२९ साल फागुन देखिको थियो । कक्षा आठमा पुगे पछि म कम्युनिष्ट विचारतर्फ आकर्षित भएँ । जब म कम्युनिष्ट भएँ, यस्ता गरिव र मेहनती मानिस कम्युनिष्ट हुन्छन्, भन्ने थाहा पाएँ । त्यति बेलाको किशोरले आफू भन्दा पाको मानिसलाई यी कुरा सोध्न र भन्न सक्ने कुरा थिएन । एक दिन के मुद्दा परेर हो, प्रहरी चौकी साँघुटारमा ती ढुङ्गा पल्टाउने दाजु र अरु मानिसहरू केहि गलफति गर्दै गरेको देखें । हामी चौकी छेउमा भीमबहादुर भौकाजीका घरमा बस्थ्यौं । म पनि कुरा सुन्न भनेर चौकी पुगें । त्यो किसान ठिटो नडराइकन कडा स्वरमा प्रस्तुत भएको देखें । त्यसबेला कुराको चुरो बुझेको थिईंन । मेरो भावना त्यो ठिटातर्फ आकर्षित भएकै थियो । चौकीको छलफल पछि बल्ल थाहा पाएँ उहाँको नाम डम्बरबहादुर राउत रहेछ ।

गाउँ घर साँध मिमानामा के किचलो थियो । एकदिन गाउँलेहरूले डम्बरबहादुरको पाकेको धान र आलीको भटमास बाली रातको समयमा काटेर लिखुमा बगाई दिएछन् । देखेको छैन कसले गर्‍यो गर्‍यो । उहाँले अन्दाज र आसङ्का गर्नु भएको भए पनि हामीलाई थाहा भएन । हामी मेहनती किसानका पक्षमा भयौं । उहाँ पनि स्वतः हाम्रा पक्षमा उभिन थाल्नु भयो । अव भने विस्तारै सैद्धान्तिक कुरा पनि हुन थाल्यो । डम्बरबहादुर राउत हामीसंग विभिन्न अभियानमा हिंड्न थाल्नुभो । ब्यवहारिक हण्डर ठक्करबाट खारिएर बलियो र भरपर्दो कम्युनिष्ट बन्नु भयो । 

पछि बुझ्दै गयौं, उहाँले सात भाई छोरा र तीन बहिनी छोरी त्यही खोरीया फाँडेर, ढाँडका ढुङ्गा कुटेर उब्जिएको बालीले पाल्नु परेको रहेछ । उहाँकी श्रीमती त्यति धेरै सन्तान जन्माई हुर्काई गरेको शरीरले ढाँड ढुङ्गा पल्टाउने किसिमको कष्टकर परिश्रम गर्नु परेको रहेछ । मैले सुन्थे कैयन् पटक सुत्केरी अवस्थामा पनि उहाँले यस्ता परिश्रम गर्नु भएको थियो रे । आज डम्बरबहादुर राउत हामी माझ हुनुहुन्न । यो हाम्रो समाजको एउटा उदाहरण मात्र हो । ‘घरघरका कहानी’ भनेजस्तो हाम्रो समाजमा यस्ता कष्ट कति छन् कति, आज सम्झिन्छु, हामीले ल्याएको ब्यवस्थाले मेहनती जनताको पक्षमा आधारभूत रुपमा कत्तिको काम गरेको छ । हाम्रो वैधानिक ब्यवस्थाको गन्तब्य कता छ ?  नेपाली समाज हेर्ने आँखाहरुले शुक्ष्म अध्ययन गर्नमा ढिला हुनु हुँदैन ।

लेखक पौडेल नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज हुन । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु