बिहीबार १८ भाद्र, २०८३ (Thursday September 03, 2026)

पत्रकार निष्कासन गर्न खोजिए पछि रासस विरुद्ध पत्रकारहरुको धर्ना

शुक्रबार २८ आश्विन, २०७९ Nepalexplores 1521


पत्रकार निष्कासन गर्न खोजिए पछि रासस विरुद्ध पत्रकारहरुको धर्ना

काठमाडौं । वर्षौदेखि राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवी पत्रकारको रोजगारी खोस्न लागेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघलगायत  पेशागत  संघसंगठनले शुक्रवार रासस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । 

पत्रकारलाई निष्कासन नै गर्नेगरी श्रमजीवी पत्रकार विरुद्ध रासस व्यवस्थापनले कदम चालेपछि राससका अस्थायी (करार) ज्यालादारी पत्रकार संघर्ष समितिको आयोजना तथा नेपाल पत्रकार महासंघलगायत पेशागत संघ संगठनका प्रतिनिधिहरूको सहभागितामा राससमा धर्ना दिइएको हो ।


धर्नापछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले पत्रकार विरुद्धका कदम तत्काल सच्चाउन रासस व्यवस्थापनलाई चेतावनी दिएका छन । महासंघकै नेतृत्वमा आन्दोलनको नयाँ  कार्यक्रम घोषणा गरिने र कुनै पनि हालतमा श्रमजीवीको मुद्दा स्थापित गरेरै छाड्ने उनले स्पष्ट पारे ।  महासचिव पुरीले महासंघका पुर्वअध्यक्ष धर्मेन्द्र झाले नै श्रमजीवी पत्रकारलाई हटाउने कार्य गर्नु अनुचित भएकाले तत्काल २२ जना पत्रकारको नवीकरण गर्न माग गरेका छन ।


नेपाल पत्रकार महासंघ अगुवाइमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, श्रमजीवी पत्रकार संघलगायत पत्रकारका पेशागत संगठनको सहभागितामा रासस केन्द्रीय कार्यालयमा शुक्रवार दिउँसो १ देखि ३ बजेसम्म धर्ना कार्यक्रम गरिएको थियो । राससका अस्थायी (करार) ज्यालादारी पत्रकारलाई रासस व्यवस्थापन पक्षले हटाउन थालेपछि चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु