बिहीबार २० कार्तिक, २०८३
१९ कात्तिक, काठमाडौं ।
म्याग्दीको अन्नपूर्ण पदमार्गमा सूचना केन्द्र स्थापना भएको छ ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मौरिस हर्जोग (अन्नपूर्ण) पदमार्गको प्रवेशद्वार बाँस्कोटमा पर्यटक सूचना केन्द्र तथा चेकपोष्ट स्थापना गरिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समितिको पहलमा सूचना केन्द्र तथा चेकपोष्ट स्थापना गरिएको जनाएको छ ।
स्थापना केन्द्र बाट आधार शिविर जाने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क सङ्कलन, अभिलेख राख्ने, पदमार्ग तथा आधार शिविरबारे जानकारी र पदयात्राका क्रममा आवश्यक सहजीकरण गरिने जनाएको छ ।
सूचना केन्द्रको बुधबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का निर्देशक रविन कडरियाले संयुक्त रूपमा उद्घाटन गरेको जनाएको छ ।
केन्द्र स्थापना गरिएको एक्याप घान्द्रुकका संरक्षण अधिकृत भीम पौडेलको अनुसार आधार शिविरको पदयात्रामा आउने पर्यटकको तथ्याङ्क व्यवस्थित गर्ने, पदमार्ग र आधार शिविरबारे जानकारी उपलब्ध गराउने तथा पदयात्राका क्रममा पालना गर्नुपर्ने नियम र पर्यटकीय सूचना बारे जानकारी दिने उद्देश्यले स्थापना गरिएको जनाएका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाई अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गबारे जानकारी दिनाका साथै त्यहाँ उपलब्ध सेवा तथा सुविधाबारे सूचना प्रवाह गर्न केन्द्रले सहयोग पुग्ने संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताएका छन् ।
आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर ४ हजार ५० मिटर उचाइमा अवस्थित छ । भने ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरसम्म पुग्ने मौरिस हर्जोग पदमार्ग प्राकृतिक सौन्दर्य र साहसिक पदयात्राका लागि आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ ।
‘जेठो हिमाल’का रूपमा चिनिने अन्नपूर्ण प्रथमको आधार शिविर पुग्न नारच्याङको बेँसी गाउँदेखि बाँस्कोट, दोभान, छोटेपा हुँदै हुमखोलासम्म करिब २० किलोमिटर सडक यात्रा गर्नुपर्छ । हुमखोला बाट करिब २१ किलोमिटर पैदल यात्रा गरी दुई दिनमा आधार शिविर पुग्न सकिन्छ ।
पदमार्गमा पर्ने फुतफुते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र वरिपरिका हिमशृङ्खलाको प्राकृतिक दृश्यले पदयात्रालाई थप आकर्षक बनाएको छ ।