सोमबार १ मंसिर, २०८३
३० कात्तिक, काठमाडौं ।
जनकपुरधाममा सामाचकेवा पर्वको तेस्रो दिन धुमधामले मनाईदै छ ।
कार्तिक शुक्ल पञ्चमीमा सुरु भई १० दिनसम्म मनाइने यस पर्वको एघारौँ दिन अर्थात पूर्णिमाको रात सामाचकेवाको विसर्जन गरिन्छ ।
जनकपुरधाममा सुरु भएको सामाचकेवा पर्व दाजुभाइ र दिदीबहिनी बिचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकको रुपमा मानिने प्रचलन रहेको छ ।
पर्वका अवसरमा मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारीले सामूहिक रूपमा नाचगान गर्दै दाजुभाइको सुख, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा रहेको छ ।
पण्डित रामकुमार शास्त्रीका अनुसार पर्वको पहिलो दिन दिदीबहिनीहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भिरमा पुगेर दाजुभाइको हात बाट खनिएको माटो ल्याई त्यसलाई गिलो बनाएर विभिन्न आकृतिका सामा र चकेवा निर्माण गर्नुका साथै रातो रङको बाँसको डालामा सामाचकेवा सजाएर दियो बाल्ने र राति गाउँका चोक, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर तथा छठघाटमा लगेर नाचगान गर्ने प्रचलन रहेको बताएका छन् ।
दिदीबहिनीहरू १० दिनसम्म सामाचकेवा खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्ने र यस अवसरमा महिलाहरूले ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय’ तथा ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ बोलका गीत गाउने चलन रहेको बताएका छन् ।
पर्वको एघारौँ दिन बिहानै पुनः सामाचकेवा बनाएर रङ्गरोगन गरि साँझ दाजुभाइलाई दहीचिउरा खुवाई परम्परा अनुसार फाँर भर्ने र दाजुभाइ बाट सामाचकेवा फुटा बाजागाजा सहित नाचगान गर्दै सामाचकेवाको विसर्जन गरिने स्थानीयले बताएका छन् ।