आईतवार २३ कार्तिक, २०८३
२२ कात्तिक, काठमाडौं ।
म्याग्दीको अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको हो ।
८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा मौसम अनुकूल भएपछि दशैं, तिहारको बिदा मनाउनका लागि पर्यटकको चहलपहल बढेको जनाएका छन् ।
अन्नपूर्ण पदमार्गका अभियान्त तेज गुरुङले दशैं पछि दैनिक २०० जनाको हाराहारीमा नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आधार शिविरको भ्रमणमा गइरहेका जानकारी दिएका छन् ।
मनसुनजन्य विपद् बाट क्षति नपुगेको र सुरक्षित भएकाले बिदा मनाउनका लागि युवायुवती र रोजगारी भएकाहरूले अन्नपूर्ण आधार शिविरलाई रोज्ने गरेको बताएका छन् ।
समुद्री सतह देखि ४ हजार ५० मिटरको उचाइमा अवस्थित आधार शिविर पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ।
बढ्दो पर्यटकको चहलपहलले बेनी, भुरुङ–तातोपानी र नारच्याङका पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन् ।
पछिल्लो समय हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुुण्डमा खानेपानी, शौचालय लगायत पर्यटकीय पूर्वाधार निर्माण गरिनुको साथै सङ्घीय, प्रदेश र गाउँपालिकाको बजेट बाट पदमार्ग तथा झोलुङ्गे पुलहरुको मर्मतसम्भार गरिएको जनाएको छ ।