मंगलवार २ मंसिर, २०८३
१ मङ्सिर, काठमाडौं ।
अर्घाखाँचीमा दुर्लभ चरा काँडे भ्याकुर देखिएको छ।
नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको हो।
अर्घाखाँची जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर प्रजातिको चरा देखिनु जैविक विविधताको अध्ययन र अभिलेखीकरणका दृष्टिले महत्वपूर्ण मानिएको जनाएको छन्।
डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यस अघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख नभएको जनाएको छ।
ठाडादहमा यसको उपस्थिति पुष्टि भएपछि जिल्लाको वन तथा प्राकृतिक बासस्थानमा पाइने चराको विविधताबारे थप जानकारी प्राप्त भएको उल्लेख गरेको छ।
नेपालबाहेक विश्वका अन्य कुनै पनि देशमा प्राकृतिक रूपमा नपाइने यो चरा ठाडादहमा देखिनु जिल्लाका लागि महत्वपूर्ण उपलब्धि भएको कार्यालयका सूचना अधिकारी केसर खड्काले बताएका छन्।
अङ्ग्रेजीमा ‘स्पाइनी ब्याब्लर’ नामले चिनिने काँडे भ्याकुरको वैज्ञानिक नाम ‘एकान्थोप्टिला निपालेन्सिस’ हो । यो नेपालको मौलिक जैविक सम्पदाका रूपमा परिचित रहेको छ।
काँडे भ्याकुर सामान्यतया घना झाडी, वनका झाडीदार क्षेत्र तथा प्राकृतिक वनस्पतिले ढाकिएका स्थानमा बस्ने लजालु स्वभावको चरा हो।
झाडीभित्र लुकेर बस्ने भएकाले यसलाई सहजै देख्न कठिन हुँने हुँदा नयाँ क्षेत्रमा यसको उपस्थिति अभिलेख हुनु पक्षी अध्ययन तथा जैविक विविधताको पहिचानका दृष्टिले महत्वपूर्ण मानिने सूचना अधिकारी खड्काले बताएका छन्।
यस क्षेत्रका वन तथा प्राकृतिक बासस्थानमा अन्य प्रजातिका चरासमेत हुन सक्ने सम्भावना रहेको खड्काले बताएका छन्।
काँडे भ्याकुर जस्ता दुर्लभ चराको संरक्षणका लागि प्राकृतिक बासस्थान जोगाउनुपर्ने सूचना अधिकारी खड्काले बताएका छन्।