मंगलवार १८ कार्तिक, २०८३
१७ कात्तिक, काठमाडौं ।
मेची भन्सार कार्यालयमा राजस्व सङ्कलन बढ्दै गएको छ ।
चालु आर्थिक वर्ष २०८३, ०८४ को पहिलो तीन महिनामा मेची भन्सार कार्यालय, काँकडभिट्टाले लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ ।
साउन देखि असोजसम्म रु.४ अर्ब ९२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु.४ अर्ब ६७ करोड ७ लाख ७३ हजार सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी माङ्कल राईले बताएका छन् ।
यस अवधिमा निर्धारित लक्ष्यको ९४ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
भदौमा रु.१ अर्ब ६४ करोड लक्ष्य रहेकामा रु. १ अर्ब ५५ करोड ३५ लाख ३८ हजार सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।
असोजमा भने राजस्व सङ्कलन थप बढेको रु. १ अर्ब ८४ करोड ५० लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु. १ अर्ब ८३ करोड ७३ लाख ९८ हजार सङ्कलन भएको जनाएको छ ।
असोज महिनाको राजस्व सङ्कलन लक्ष्यको ९९ दशमलव ५९ प्रतिशत रहेको जनाएको छ ।
गत आर्थिक वर्षको ३ महिनाको सोही अवधिमा रु.४ अर्ब १५ करोड २० लाख ९ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ ।