मंगलवार २६ श्रावण, २०८३ (Tuesday August 11, 2026)

ताप्लेजुङको तिम्बुङ पोखरीमा पर्यटकको चहलपहल बढ्दो

मंगलवार २६ श्रावण, २०८३ nepalexplores 1198


ताप्लेजुङको तिम्बुङ पोखरीमा पर्यटकको चहलपहल बढ्दो

२६ साउन, काठमाडौं ।

ताप्लेजुङको तिम्बुङ पोखरीमा पर्यटकको चहलपहल बढेको छ ।

हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली वनस्पतिको मीठो सुगन्ध, हरियाली डाँडाकाँडा, याक र चौँरीका गोठ, चट्टान बीच छङ्छङ् गर्दै बग्ने खोल्साले पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दै गएको छ ।

हिमालको अनुपम दृश्यले सजिएको तिम्बुङ पोखरीको प्रचारप्रसार बढ्दै जाँदा पछिल्लो समय पूर्वी नेपालको आकर्षक साहसिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको हो ।

समुद्री सतह देखि करिब ४ हजार ३५० मिटरको उचाइमा अवस्थित तिम्बुङ पोखरीमा आन्तरिक पर्यटकको चहलपहल पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ । 

प्रचारप्रसार सँगै तिम्बुङ पोखरीमा हाल दैनिक सरदर दुई दर्जन बढी आन्तरिक पर्यटकहरू पुग्ने गरेको स्थानीय पर्यटन व्यवसायी अमिर राई बताएका छन् । 

राईले तिम्बुङ पोखरीमा आउने पर्यटकको सुविधाका लागि पहिलोपटक सबै भन्दा माथि अर्थात् पोखरी नजिकै होमस्टे (घरवास पर्यटन) खोलेको बताएका छन् ।

सदरमुकाम फुङलिङ बाट करिब ५ देखि ६ घण्टाको सवारी यात्रा र त्यस पछि एक दिनको पैदल यात्रा तय गरे पछि पुगिने यो पोखरीले यात्रुलाई केवल गन्तव्यको आनन्द र प्रकृतिसँगको गहिरो साक्षात्कार पनि गराउँछ । भने तिम्बुङ पोखरी पुग्ने अधिकांश मानिसले स्वर्गकै अनुभूति हुने गरेको बताउँने गरेका छन् ।

तिम्बुङ पोखरी पटक–पटक पुगे पनि फोटोपत्रकार डेभिट ओझाको रहर भने नमेटिएको बताएका छन् । आफ्नो अनुभव सुनाउँदै ओझा भन्छन्, ‘हरेक पटक पुग्दाको मौसम, त्यहाँको प्राकृतिक वातावरणले गहिरो छाप छोड्ने गर्छ । शान्त वातावरण, हिमालको सौन्दर्य, साहसिक पदयात्रा र त्यस क्षेत्रमा हुने स्वागत सत्कार लोभ लाग्दो रहेको बताएका छन् ।’ 

कतिपय परम्परागत गोठहरू गोठस्टे (पर्यटकलाई राख्न सकिने गोठ) मा परिणत हुँदा र नयाँनयाँ होमस्टे थपिँदा आफ्नोमा आकर्षित गर्न गोठस्टे र होमस्टेले स्वागत सत्कारका नयाँनयाँ तरिका अपनाउने गरेको उनले बताएका छन् । 

कतै छुर्पी खुवाएर, कतै तातोपानी र चिया खुवाएर आफ्नो परिवेशका कुरा सुनाएर यहाँका व्यवसायीले मक्ख बनाउने गरेको उनको अनुभव बताएका छन् ।

आन्तरिक पर्यटकको आगमन बढेसँगै तिम्बुङ पोखरी जाने पदमार्गमा रहेका परम्परागत गोठहरू अहिले गोठस्टेमा रूपान्तरण हुन थालेका छन् । भने विभिन्न खर्कमा रहेका परम्परागत गोठका संरचनामा थप सुधार गरेर पर्यटकलाई खान र बस्नका लागि सुविधा सम्पन्न बनाइदा पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । 

तिम्बुङ पोखरी क्षेत्र प्राकृतिक सौन्दर्यले मात्र होइन, जैविक विविधताका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ । यहाँ विश्व संरक्षण सूचीमा रहेको रेड पाण्डासहित बहुमूल्य जडीबुटी केन्जो (पदमचाल), पाँचऔँले लगायतका जडीबुटी पाइन्छन्, जसले तिम्बुङ पोखरीलाई अध्ययन अनुसन्धानको गन्तव्य पनि बनाएको छ ।

समाजसेवी कैलाश राईले पोखरी जाने पदमार्ग, विश्रामस्थान, अन्य आवश्यक संरचना निर्माणका लागि तीनै तहका सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।

स्थानीय तहले केही लगानी गरे पनि त्यो पर्याप्त हुन नसकेकोले यातायातका लागि सडकको स्तरोन्नति, पदयात्राका लागि पदमार्गको दिगो र भरपर्दो व्यवस्थापन हुन सके पर्यटकीय गतिविधि थप बढेर जाने उनको भनाई रहेको छ ।

तिम्बुङ पोखरीको प्रचारप्रसारका लागि स्थानीय सरकारको सहयोगमा विभिन्न खेलकुद सहितका गतिविधि हुने गरेकको पर्यटन व्यवसायी अमिर राईले बताएका छन् ।

भारतको सिक्किमसँग सिमाना जोडिएको तिम्बुङ पोखरी आसपास हाँडी पोखरी, लक्ष्मी पोखरी, लाम पोखरी लगायत थुप्रै पोखरी रहेका छन् । 

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अन्तर्गत पाँचथर र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा पर्ने यस पोखरीमा पाँचथर र ताप्लेजुङ दुवै जिल्ला बाट पुग्न सकिने बाटोहरू रहेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु