बिहीबार ११ मंसिर, २०८३
१० मंसिर, काठमाडौं।
मुस्ताङमा हिउँ चितुवा र नाउर संरक्षणका लागि चरन क्षेत्रको अध्ययन सुरु भएको छ।
मुस्ताङको उच्चलेकमा जलवायु परिवर्तनका कारण चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तरमा ह्रास आउन थालेपछि हिउँ चितुवा र नाउर संरक्षणका लागि अध्ययन तथा घाँसको नमुना सङ्कलन थालिएको हो।
हिउँ चितुवाको आहारा र नाउरको लागि चरण क्षेत्र तथा आवश्यक पर्ने घाँसको नमुना सङ्कलन थालिएको जनाएको छ।
दुर्लभ हिउँ चितुवाको बासस्थान रहेका मुस्ताङका उच्चलेकमा चरन क्षेत्रको अवस्था र घाँसको गुणस्तर मापन गर्न चरन क्षेत्रको अध्ययन तथा घाँसको नमुना सङ्कलन थालिएको जनाएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङ कार्यालयको अनुसार हिउँ चितुवाको आहारा प्रजाति नाउरको संरक्षण तथा सङ्ख्या वृद्धि गर्ने उद्देश्यले छुट्टाछुट्टै सर्वेक्षण गरिरहेका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक सञ्जोग थकालीले जानकारी दिएका छन्।
मस्ताङको तल्लो क्षेत्रमा अध्ययनका लागि १ र उपल्लो मुस्ताङमा ३ गरी ४ वटा चरन क्षेत्रमा क्यामेरा जडान गरि घाँस तथा चितुवाको लागि आवश्यक पोषणको अध्ययन भइरहेको जनाएको छ।
मुस्ताङमा घाँसका नमुना सङ्कलन गरी चरनको विद्यमान अवस्था, घाँसका प्रजाति र विविधता, जैविक पदार्थको परिमाण तथा पोषण तत्वको अवस्था मापन गरिने स्रोतले जनाएको छ।
वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा १० वर्गमिटरका खण्ड बनाई प्रत्येक खण्डभित्र १ वर्गमिटरका उपखण्ड निर्धारण गरेर घाँसको नमुना सङ्कलन भइरहेको एक्यापका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक सञ्जोग थकालीले बताएका छन्।
तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा १५ र घरपझोङ गाउँपालिकामा ९ गरी २४ वटा खण्ड तथा तिनका ४८ वटा उपखण्ड बाट हिउँ चितुवाको आहारा प्रजातिले खाने घाँसको नमुना सङ्कलन भइरहेको थकालीले बताएका छन्।
वारागुङ मुक्तिक्षेत्रका साङ्ता, फल्याक, लुप्रा, मुक्तिनाथ, कागबेनी र झोङ लगायत उच्चलेकका चरन क्षेत्रमा नमुना सङ्कलन भइरहेको छ।
क्यामेरा जडान गरिएका क्षेत्रमा एक खण्ड देखि अर्को खण्डसम्मको दूरी कम्तीमा ५०० मिटर कायम गरेर नमुना लिइएको थकालीले जानकारी दिएका छन्।
हिउँ चितुवाको सङ्ख्या वृद्धि गर्न, आहारा बढाउन तथा नाउरका लागि चरन क्षेत्र सुधार एवम् घाँसको गुणस्तर वृद्धि आवश्यक रहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताएका छन्।
लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १५० वटा खण्ड बाट घाँसको नमुना सङ्कलन भइरहेको बताएका छन्।
हिउँ चितुवाको अध्ययनका लागि निर्धारण गरिएका ३ क्षेत्रमा ५ वर्गकिलोमिटरको जाली संरचना भित्र पर्ने चरन क्षेत्र समेटेर नमुना सङ्कलन भइरहेको पौडेलले बताएका छन्।
घाँसले ओगटेको क्षेत्रका आधारमा प्रतिखण्ड बढीमा ४० देखि ५० वटासम्म नमुना सङ्कलन गरिने प्रमुख उमेश पौडेलले बताएका छन्।
सर्वेक्षणका क्रममा हरियो घाँस र सुकेको घाँसको तौल समेत मापन गरिने, सङ्कलित नमुना प्रयोगशालामा पठाएर घाँसको पोषण तत्व तथा गुणस्तर परीक्षण गरिने र नाउरको आहारा उपलब्धता तथा गुणस्तर सुधारका उपाय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताएका छन्।
हिउँ चितुवाको प्रमुख आहारा नाउर भएकाले यसको आहाराको गुणस्तर र उपलब्धताले नाउरको शारीरिक अवस्था, मोटोपन तथा प्रजनन क्षमतामा पार्ने प्रभावसमेत अध्ययन गरिने छ।
चरन क्षेत्रको अवस्था र घाँसका प्रजातिबारे वैज्ञानिक अध्ययन गरी आहारा प्रजातिको संरक्षण तथा सङ्ख्या वृद्धि गर्ने लक्ष्य रहेको समेत बताएका छन्।