सोमबार १३ भाद्र, २०७९
काठमाण्डौ । मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे ।
सोही वर्ष फर्मका कामदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । घाइतेको उपचारका लागि उनले सुधान्सुु सँगै एक लाख ५० हजार रुपैयाँ ऋण लिए । ऋण दिँदै गर्दा उनले भनेका थिए दिनको २ हजार रुपैयाँ ब्याज पर्छ । उपचारका लागि लिएको ऋण उनले समयमा तिर्न सकेनन् । व्याजको मिटर चढ्दै गयो । उनले २ लाख रुपैयाँ जुटाएर उनलाई जिम्मा लगाए । ठाकुरले यो पैसाले साउ कट्दैन व्याज मात्रै हुन्छ भने । उनले आफ्नो मोटरसाइकल सहित १५ लाख रुपैयाँ थप ठाकुरलाई दिए । डेढ लाख रुपैयाँ ऋणको दुई लाख र पछि १५ लाख भुक्तानी गर्दा पनि उनी ऋण मुक्त भएन् ।
२०७३ सालमा लिएको डेढ लाख रुपैयाँको थप १५ लाख पनि बुझाएपछि उनलाई २२ लाख तिर्न दबाब दिए । विस्तारै ७५ लाख रुपैयाँ भयो भन्दै तिर्न दबाब दिए ।
मनि ट्रान्सफरका सन्चालक समेत रहेका उनलाई मिटरब्याजीको समूहले नियन्त्रणमा लियो । नियन्त्रणमा लिएपछि २०७५ भदौ १ गते नकट्ने गरीका पाँच वटा कागजी तमसुक बनाएर छाडे । सोही कागजका आधारमा उनका बुबाले विराटनगर–१ का नितेश बस्नेत, सिरहा घर भई विराटनगर–२ बस्ने सन्जिव कर्ण, कोसी प्रोजेक्ट बस्ने सोमित कामत, सुभम सिंह, रविनकुमार यादव, नितिनकुमार साहलगायतलाई उनको परिवारले एक करोड ५० लाख भुक्तानी गरिसके ।
एउटा लेनदेनको मुद्दा भने अझै बाँकी नै रहेको उनले बताए । ‘अहिलेसम्म डेढ करोड तिरिसकें,’ आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा उनले भने, ‘अझै ४५ लाखको कागज छ, १० लाख रुपैयाँ दिए मिल्छु भन्दैछन् ।’ उनले मिटरब्याजीका कारण आफ्नो आर्थिक हैसियत डामाडोल भएको गुनासो गरे ।
मिटरव्याजको समस्याले मधेशका गरिब किसानहरु चर्को व्याजले घरवार बिहिन भएका छन ।