शनिबार १९ बैशाख, २०८३ (Saturday May 02, 2026)

देवशङ्कर अङ्कलका सङ्गतले पार लागिँदैन

मंगलवार ७ श्रावण, २०८२ nepalexplores 5599


देवशङ्कर अङ्कलका सङ्गतले पार लागिँदैन

देवशंकर पौडेल

त्यसबेला मसँग मोवाइल फोन थिएन। एक दिन वेलुका ल्यान्डलाइनमा अपरिचित व्यक्तिबाट फोन आयो।

‘म तपाईँलाइ भेट्न चाहन्छु, कहाँ भेटहुन्छ।’ मैले तपाईँ को हुनुहुन्छ ? भनेर सोधेँ। उहाँले भन्नु भयो, ‘भेटमा नै चिनाजान गरौँला।’ अपरिचित भएपनि स्वर मायालु थियो। मैले भनेँ भोली विहान सात वजे म मनमोहन अस्पताल, सीता पाइलामा विरामी भेटिरहेको हुन्छु, त्यहाँ भेट्न सक्नु हुन्छ। पन्द्र वर्ष जति पहिलेको प्रसङ्ग हो, मिति विर्सिएँ। त्यसको भोलीपल्ट म विहानै मनमोहन अस्पताल पुगेँ। विरामी भेटेर बाहिर निस्किँदै थिएँ। मनमा बेलुका फोन गर्ने अपरिचित मानिस पनि सम्झिँदै थिएँ।

बाहिर अस्पतालको प्राङ्गणमा एकजना भाईले नमस्कार गर्नु भयो र भन्नु भयो, मलाई चिन्नु हुन्छ ? मलाई चिन्न गाह्रो प¥यो। गहिरिएर हेरेँ। अनुहार चिनेजस्तो लाग्छ, नाम र अनुहार जुटेन, ठम्याउन सकिन। उहाँले नै आफ्नो नाम र गाउँ भन्नु भयो। वि.सं. २०४६-०४७ को जनआन्दोलनताका देखि म तपाईँसँग धेरै समयसम्म हिँड्ने सानो भाइ मै त हुँनि! त्यसपछि मलाई सम्झना आयो। 

उहाँले भन्नु भयो– मेरो कथा व्यथा तपाईँलाई सुनाउन मन छ। आज तपाईँ र म मेरा घरमा गएर लामो कुरा पनि गर्ने, सँगै खाना पनि खानेँ गरौँ हुन्छ ? मैले तपाईँको घर कहाँ छ ? भनेँ। उहाँले तारकेश्वरको लामबगर भन्नु भयो। म त्यो ठाउँमा पुगेको थिइनँ। बालाजु नजिकै भन्नु भयो। मैले हुन्छ जाऔँ भनेँ। उहाँले आफ्नो गाडीमा राखेर मलाई लामबगर लानु भयो।

उहाँको बाल्यकाल आमासँग बेग्लै घरमा वितेछ। आमालाई निकै दुःख रहेछ । त्यो अनुभूति उहाँलाई भलिभाँति भएछ। नेपालबाट पञ्चायत व्यवस्था गयो। विभिन्न खालका पार्टीहरू सतहमा देखा परे। “गरिव दुःखीको पार्टी कम्युनिस्ट पार्टी हो” भन्ने कुरा उहाँले सुन्नु भएछ। अनि पन्द्र बर्षको उमेरदेखि मसँग हिँड्नु भएछ। त्यस अवधिमा गाउँका ससाना मुद्दा मामला पनि उहाँको अगुवाईमा गरिवका पक्षमा निसाफ दिलाउनु भएछ। उहाँ सम्झिनु हुन्छ त्यसबेला मैले “जनताको नखानु, खायो भने हिजोका शोषक सामन्त, जाली फटाहा र हामी विच फरक छुट्टिदैन। जनताका घरमा जाँदा खानु पर्छ। खानु प¥यो भने उनिहरूका बारीमा जे फल्छ, जनता जे खान्छन् त्यही खानु, बचनमा पक्का हुनु र लिनदिनमा इमानदार हुनु” आदि भनेको रहेछु।

समय वित्दै गए। गाउँका मानिस सदरमुकाममा काम लिएर आउँदा उहाँले सहयोग गर्नु हुन्थ्यो। कामको सिलसिलामा खाना खाउँ भन्दा रहेछन्। मलाई आदर्श मान्दै मेरो कुरा सम्झिएर ति मानिसलाई पनि आफूले खाना खाने होटलमा लगेर खुवाउने गर्नु हुँदोरहेछ। एकदिन होटल चलाउने दाजु सूर्यबहादुर श्रेष्ठ (हाल कटहरको बोट नजिकको फलफूल पसल) पहिलेको बाँकी दिनु भए हुन्थ्यो ? भन्नु भएछ। (त्यसबेला उहाँको होटल हाल तामाकोशी सेवा समिति नजिक थियो।) खाएको बाँकी सत्र हजार रुपैयाँ भएको रहेछ। त्यसबेलाको मूल्य पहाडका दुईवटा भैँसी बराबर त्यसपछि भाइको निन्द्रा परेन। अनेक छटपटी भयो।

पिताजीबाट छुट्टै बस्नु भएकी आमा मोहनमाया श्रेष्ठसँग भन्न सक्ने अवस्था नै थिएन। कता गएर के ल्याएर तिर्ने ! भावनामा बगेर गरिवको उत्थान गर्न हिँडेको केटो आफ्नै कर्मले आफैँ झन् पो गरिव हुँने भयो !! पिता ज्ञानदास श्रेष्ठलाई भनौँ सानीआमाका साथ हुनुहुन्छ। कसरी भन्ने ? उनले छटपटीमा भिनाजु भीमबहादुर श्रेष्ठ र दिदी बिन्दा (कलिमाया) लाई सम्झिए। सम्झिएर के गर्नु उहाँहरू मुलुकको सिमाना भन्दा धेरै पर कलकत्ताको बडाबजारमा थिए। विहान उठेर सहयोगी चरित्रका आफूले मनखाएका गाउँले नातामा माहिलाबा खिलप्रसाद भट्टराईसँग आफ्नो दुःख विसाउने निधो गरेर निधाए।

विहानै उठेर खिलप्रसादका आगनमा पुगे। आँट बटुलेर “माहिलाबा मलाई बीस हजार रुपैयाँ दिनुन” भने। माहिलाबाले एक हप्तापछि आइज त्यसबेला मसँग पैसा हुन्छ दिउँला भने। हप्तापछि माहिलाबाले दिएको बीस हजारबाट सत्रहजार सूर्यबहादुरलाई तिरेर बाँकी तीन हजार छँदै थियो। उनलाई सिद्धान्त मन परेको छ। के मिलेन मिलेन देवशंकर अङ्कलका सङ्गतले पार लागिँदैन भन्ने लागेर विदेशिने सोच बनाए। तिनै बाँकी रहेका रुपैयाँ लिएर दिदी भिनाजु भेट्न कलकत्ता गए। विचार मन परेको छ। विचारसँग व्यवहार मिलेन। गरिवको उत्थानमा हिँडेको ठिटो आफैँ झन् गरिव भयो। यस्तै यस्तै कुरा गुन्दै मन दुखाएर उनि विदेशिएका थिए। 

त्यतै कलकत्तामा काम गरे। पैसा भएपछि माहिलाबासँग लिएको कर्जा तिरे, व्यवहार मिलाए। केहि खर्च सञ्चय गरेर खाडी मुलुकतिर गएर पनि काम गरे। कसैलाई दुःख दिएनन्, बरु सहयोग नै गरे। काठमाडौँ फर्किए, व्यवसायिक कारोबार गरे, आत्मनिर्भर भए। विदेश बस्दा पनि आफूले सानै उमेरदेखि परेको वैचारिक छाप कायमै थियो। दुःख र हण्डर खाएर कमाएको पार्टीको सदस्यता कायम राखे। सदस्यता शुल्क र लेवी भोजकुमार श्रेष्ठमार्फत बुझाई रहे। 

उहाँ भन्दै रहनु भयो। म उहाँबाट व्यवहारिक तवरबाट मनमनै प्रशिक्षित हुँदै थिएँ। हामी राजनीतिक मैदानमा बुर्कुसी मारिरहँदा को कार्यकर्ता के गरिरहेको छन् ? उसका आन्तरिक समस्या के के छन् ? ख्याल गरेका हुँदा रहेनछौँ। यस्तै यस्तै कुरा मनमा खेले। आजभन्दा झन्नै पन्द्र वर्ष पहिले नारायण श्रेष्ठ गैराथोक सालुले मलाई विगततिर फर्काएर गम्भिर बनाउनु भएको थियो। त्यस दिन नारायणजी र मेरो पुनर्मिलन भयो। आज नेपालमै छौँ। वैचारिक राजनीतिक हिसावले साथसाथै छौँ। साथै हुनुमा गर्व छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु