बिहीबार २ आश्विन, २०८२
देवशंकर पौडेल
बृद्धिलाल पौडेललाई श्री ३ भीमशमशेरले उनको दरबारमा अनुष्ठान गरेर चाँदीका सिक्का र तिलले पुरै शरीर पुरेर दान दिएछन्।
उक्त रुपैयाँ भरिया लगाएर रामेछाप जिल्लाको सैपु गाउँसम्म पु¥याउनु भएको रहेछ। घरमा राख्दा चोरी हुँने डरले तामाका ध्याम्पामा भरेर, सनासोले ध्याम्पाको मुख बटारेर गहिरो खाल्टो खनेर कतै गाड्नु भएछ।
बृद्धिलाल बा वित्नु भयो। उक्त सम्पति कहाँ गाडियो गाडियो उहाँका सन्तानले थाहा पाएनन्। अनुमान छ, त्यो सैपुको भेडाखोर भन्ने ठाउँमा गाडिएको हुनुपर्छ। भेडाखोर खलक भित्र उक्त गाडधनका हकदार छन्। बाहरू भन्नु हुन्थ्यो, उक्त गाडधन देवीप्रसाद पौडेल दाजुको घर घडेरी आसपास छ।
यस्तो अर्को पनि घटना छ। इतिहासको कालखण्डमा नेपालले चीनलाई सर्तो बुझाउनु पर्ने रहेछ। माहिला हजुरबा सुवेदार देवनाथ पौडेल नेपालको तर्फबाट चीनको पेकिङमा स्थायी प्रतिनिधिको रुपमा खटिनु भएको रहेछ। त्यतै चीनीयाँ कन्यासँग विबाह पनि गर्नु भएछ। ति चीनियाँ हजुरआमा नेपालसम्म पनि लिएर आउनु भएछ। जेठी हजुरआमासँग झगडा प¥यो। भाषा मिलेन, घर पनि मिलेन। देवनाथ हजुरबाका साहिला भतिज लालप्रसाद पौडेलले सरकारी व्यवस्था मिलाएर ति हजुरआमालाई चीनतर्फ नै फिर्ता पठाउनु भएको थियो रे देवनाथकी जेठी श्रीमतीलाई चीनाल्नी आमै भन्थे।
गणेशप्रसाद पौडेल (बेलौरी, साहिलाबा) का घरमा मैले पनि देखेँ। उहाँ वि.सं. २०२८ माघमा वित्नु भयो। देवनाथ हजुरबा अन्तिममा नेपाल आउँदा भरिया लगाएर चाँदीका चीनीयाँ मोहोर रुपैयाँ ल्याउनु भएको रहेछ। चीनीयाँ मोहरलाई कालामोहर भनिँदो रहेछ। पालौरीमा एउटा फराकिलो बारी थियो। हामी त्यहाँ कपर्दी खेल्थ्यौँ। सायद माहिला हजुरबाको घर त्यहिँ हुनुपर्छ। चीनाल हजुरबाले पालौरीबाट पुलुतर्फको जङ्गलमा बृद्धिलाल बाकै झैँ काला मोहर गाड्नु भएको रहेछ। कहाँ गाडिएको छ, कसैले थाहा पाएन। उहाँ निःसन्तान हुनुहुन्थ्यो। यसका ओख्रेनी खलक हकदार हुनुहो। यो कुरा काहिँलाबा प्रेमप्रसाद पौडेल (भोटेबारी) र पिताजी तेजप्रसाद पौडेलबाट सुनेथेँ।
हाम्रा बा हजुरबाका समयमा नेपालमा आजको जस्तो जताततै बैंक थिएनन्। विदेशतिर लगेर व्यापार र होटल व्यवशायमा लगानी गरौँ, आजको जस्तो व्यवस्था थिएन। आजका टठाबाठाले विदेशतिर व्यवस्थापन गरेको कुरा जताततै सुन्न पाइन्छ। घरमा राखौँ चोरीको भय हुनाले हाम्रा पुर्खाले दुःख गरेर कमाएका, दानदातव्यमा मिलेका चाँदीका सिक्का जमिनमुनी गाड्नु परेको थियो। गाडधन जो पायोलाई भन्न भएन। आफू मर्दा गाडधन गाडिएका गाडियै भए। अब भने बल्ल सन्तानहरूले मेटलडिटोनेटर प्रयोग गरेर पत्तालगाउन सक्ने सम्भावना प्रवल भएको छ।
त्यस बेलाको सिक्का चाँदीका थिए। ओसारपसार गर्न गाह्रो थियो। आजको जस्तो नोटको विकास भएको थिएन। नोट गभर्नरले सहीछाप गरेको बैंकको तमासुक हो। यो बैंकमा राख्ने सुविधा छ। अब त अनलाइनबाट सबथोक हुन्छ। चिया खाएको पैसा तक अनलाइनबाट तिर्न मिल्छ। नेपालका मूर्धन्य भनेर कहलाईएका पाका पुराना मानिसले अर्वौँ मूल्य बराबरका नोट हाम्रा बृद्धिलाल र देवनाथ बाहरूकाझैँ मजेरीमा सुरक्षित तरिकाले खाल्टो खनेर गाडे हुन्।
अहिले कम्प्युटरबाट छिरेर संसार चाहार्ने क्षमताको विकास भइसकेको छ। आजका किशोर किशोरीहरू बुढापुरानाबाट अबको दुनियाँ चल्दैन, राजनीति पनि चल्दैन भन्थे। भ्रष्टाचार अन्त्य गर्ने नाममा जेनजी नाम दिएर तिनले अभूतपूर्व आन्दोलन गरे। राजनीतिक ईतिहासमा कोतपर्वमा भन्दा ज्यादा निर्दाेस किशोर विद्यार्थी मारिए। आन्दोलनमा घुसपेठ भयो, भन्ने पनि सुनियो। जे होस्, नेपालमा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा मूर्खतापूर्ण आगजनी भयो।
त्यो नराम्रो भयो। धेरै नराम्रो मध्ये भष्म खरानीबाट एउटा बुद्धिको पोको पनि भेटिय। (यदि कम्प्युटरको करामत होईन भने) त्यो भनेको आजको युगमा मूर्धन्य भनिएका नेता महोदयका मझेरीमा गाडधन। नेपालका अगुवा त हाम्रा बृद्धिलाल–देवनाथ बाका युगमा छन् भने देश कहाँ होला ! धन्य अग्रज बुद्धि ! गाडधन माथि पलङ राखेर मस्तराम निदाइरहेका। युवाहरूले पुष्टि गरिदिए, गाडधन पुस्ताबाट मुलुक चल्न सक्दैन।