शुक्रबार ८ जेष्ठ, २०८३ (Friday May 22, 2026)

जेन्जी परिवर्तका बाहक हुन्

सोमबार ६ आश्विन, २०८२ nepalexplores 7226


जेन्जी परिवर्तका बाहक हुन्

देवशंकर पौडेल
जन्मका आधारमा मानिसलाई अनेक समुहमा बाँडिएको रहेछ। कसले कहाँ र कुन उद्देश्य राखेर यो वर्गिकरण ग¥यो, मैले पनि त्यहाँसम्म पुग्न पाएको छैन, पुग्दै गरौँला! 

आजका तेह्र वर्षदेखि अठ्ठाइस वर्ष उमेर समुहलाई जेन्जी (Gen Z) पुस्ता भनिएको रहेछ। यो उमेर समुह वेदाग हुन्छ। उसका हृदयमा लोभ र पापको प्रवेश भएकै हुँदैन। ऊ चिन्तनशील, उन्नत चेतनाले युक्त, जिज्ञाशु र परिवर्तनको बाहक हुन्छ। 

नेपालका शासकले यो वर्गीकरण अनुसार जेन्जी वा जेनजेड शब्द सुन्न पाएको तेस्रो दिनका दिन यहि पुस्ताले सत्ता पल्टाई दिए। उनिहरूको असन्तुस्टी भ्रष्टाचार, विलासी जीवन र सामाजिक सञ्जालमा लगाएको प्रतिवन्ध थियो। यो कुनै पार्टीगत आन्दोलन नभएर उमेर समुहको आन्दोलन थियो। 

यस पटक नेपालको इतिहासमा अभूतपूर्व राजनीतिक परिवर्तन भयो। अचम्म त यो भयो कि अघिल्लो दिनसम्म शासकहरू ‘केटाकेटी आउँछन्, गुलेली खेलाउँछन्, आअफ्ना घर जान्छन्’ भन्दैथिए। भोलिपल्ट गुलेली पनि नलिई फगत कापी कलम र स्कुल कलेजको पोशाकमा आवाज मात्र लिएर सडकमा निस्किएका किशोर किशोरीको जुलुस थेगीनसक्नु भयो। सरकार क्रुद्ध बन्यो। आन्दोलनकारीहरूका टाउका टाउकामा  ताकेर गोली बर्सिए। कतिपयको गिदी नै छरपस्ट भयो। सडक रक्तम्य भयो। असङ्ख्य युवा युवतीहरू घाइते भए। मुलुक धर्धरी रोयो। 

बलियो राजनीति बोकेका, कैयौँ वर्ष जेलनेल भोगेका, बाहिर आएर गोलघरका यातनाका कथा सुनाएका, चरम यातना दिँदा पनि नगलेका, मुर्धन्य मुर्धन्य नेतृत्त्वको दिमागको सन्तुलन नै तलमाथि पारिदियो। कोहि एकापसमा मुखछाड्छन्, कोहि भग्नावशेषमा गएर खरानी उदिन्छन्। कोहि आफ्ना शरीरमा त्यही खरानी घस्छन्। कोही योगीले विघुत घसेझैँ ललाटमा घस्छन्। एकसेएक स्वघोषित त्यागी सर्वहारा दिमाग समेतलाई दिग्भ्रमित र थप शिक्षित तुल्यायो यो क्रान्तिले!

किशोरावस्थाका निहत्था युवा युवतीको नरसंहार गरेका प्रति सरकारलाई आत्मग्लानी भयो। ऊ घरबाट निस्किन सकेन। सेनाले घरघरमा पुगेर हेलिकप्टरबाट ओसारेर सुरक्षित स्थानमा पु¥याउनु प¥यो। सुरक्षित हुन नसकेकाहरूका घरघरमा गएर आन्दोलनकारीहरूले हातपात गरे। उनीहरूका घर श्रीसंपति आगो लगाएर भस्म खरानी बनाए। अघिल्लो दिन झन्नै दुई दर्जनको सङ्ख्यामा हत्या र हजारौँ विरामी देखेका नगरबासी आन्दोलनमा उत्रिए। के गर्न हुने, के नहुने छुट्याउन सकेनन्। 

मुलढोकामा आगोसल्काएर भित्र पस्ने हुँदा आफैँ सल्किएर पनि कतिपयले ज्यान गुमाए। कतिपयलाई पछि होस आयो। तीनतला माथिबाट हाम फालेको पनि देखियो। त्यसदिन आफ्नै ख्याल नगर्नेले अरुको के विचार गरे होलान्!

विष्णु पुराणमा उल्लिखित मिथक दैत्यराज हिरण्यकशिपुको बध गरेपछि उन्मत्त भएका नृसिंहले जथाभावी चिथोरे झैँ शासनमा पुगेका व्यक्तिहरूका जस्का भेट्यो उसैका घर खरानी बनाए। सिंहदरवार, राष्ट्रपति भवन, बबरमहल जस्ता पुरातात्त्विक भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालित संघीय संसद भवन, सर्वोच्च अदालत, नेपाल राष्ट्र बैंक, लगायत राजधानीका सवैजसो प्रहरी कार्यालयआदिमा आगो लगाए। 

सुनिन्छ जेन्जीको सोच भन्दा बाहिरको कर्म भयो। आन्दोलनमा घुसपेठ भयो। राजधानी खरानीको थुप्रोको रुपमा छ। यो आक्रोस अराजक बन्यो। राजधानीमा मात्र सिमित रहेन, क्षणभरमै मुलुकभरि फैलियो। ठाउँठाउँमा गाउँपालिका, नगरपालिका र वडाकार्यालयसम्म पोलिए। मानौँ स्वर्गका हवेली एक्कासी नर्कमा रुपान्तरण भयो।

संयोगले थरहरि घिमिरेजी (हिमगङ्गा, बसेरी) र म मुलुक बाहिर छौँ। यी खवरले हामीलाई दुःखी बनायो। हामीले पनि जेन्जी पुस्ता भनेको यस अघि सुनेका रहेनछौँ। हामीलाई पनि यही आन्दोलनले सुनायो। हामीले यो कुनै वैचारिक समुह नभएर उमेर समुह हो भन्ने बुझ्यौँ। त्यो जुनसुकै पार्टीमा संलग्न परिवारका पनि हुन सक्थे। थरहरिजी र म म्यासेन्जरमा कुरा गरिरहन्छौँ। हामीले जेन्जी पुस्ताका बारेमा विवेचना पनि ग¥यौँ। जेन्जी उमेरमा आआफ्ना मनोदशाका बारेमा पनि छलफल ग¥यौँ। 

हाम्रो छलफलका क्रममा थरहरिजीले हामी बाहेक २००७ सालको क्रान्तिका योद्धाहरू जेन्जी नै थिए, भन्नु भयो। त्यसपछि सोच्दै गयौँ । सवै आन्दोलनका योद्धाहरू जेन्जी नै रहेछन्। नेपालमा काग्रेस पार्टी, कम्युनिस्ट पार्टीको स्थापना जेन्जी पुस्ताले नै गरेको रहेछ। भदौ २४ गते अगाडीका प्रधानमन्त्री झापा आन्दोलनका समयमा जेन्जी नै थिए। माओवादी ’जनयुद्ध’ जेन्जी पुस्ताले नै गरेको थियो। चार अमर सहिदहरू जेन्जी नै थिए। हामी आफैँ पनि जेन्जी उमेरमै राजनीतिक आस्था संगालेका हौँ। 

थरहरि घिमिरेजीले उहाँका पिताजी मु. नन्दलाल घिमिरे कालीन प्रजातान्त्रिक योद्धाहरूको नामै लिएर सुनाउनु भयो। जो नेपालमा सरकारले उठिबास लगाएर भारतको दरभङ्गामा निर्वासित समेत भएका थिए। जस्तो– गञ्जबहादुर एक्चाई मगर (बोलुङबोलुङ), कालीबहादुर क्याप्छाकी मगर (बोलुङबोलुङ), भक्तबहादुर मङ्ग्राती (टोकले मुखिया, बोलुङबोलुङ), रत्नबहादुर तामाङ (बोलुङबोलुङ), बलबहादुर तामाङ (ओख्रेनी), बजिरमान पाख्रिन (ओख्रेनी), बलबहादुर तामाङ ’बन्दे’ (चिलाउनेखर्क), जयबहादुर सुनुवार (वसन्तपुर), बलबहादुर कुमाल (बाँकिमैरी), गोपालदास भौकाजी (साँघुटार) आदि। यिनका अगुवा पद्मशङ्कर अधिकारी (कठजोर) थिए। यी सवै त्यसबेला जेन्जी उमेरमै रहेछन्। सानो भूगोलमा यति धेरै निस्वार्थ विद्रोहीहरू क्रियाशिल हुँदा त्यसवेलाको समाज निकै चेतनशिल हुँदोहो!

हो, परिवर्तनका बाहक हरेक युगमा युवा पुस्ता नै हो। अहिले यो रुपमा आयो। अत्याचारको अन्त्यका निम्ति पौराणिक मिथक अनुसार माछो, कुर्म, बँदेल, नृसिंह, बामन, परशुराम, राम, कृष्ण, बुद्ध, कल्की रुपलिएर समयानुकुल विभिन्न अवतारको व्याख्या छ। 

यो चरणको अहङ्कार र भ्रष्टाचारको अन्त्य गर्न नेपाल आमाका वीर छोराछोरीले जेन्जी अवतार लिएझैँ झापुझुप दुई दिनमा यति ठूलो परिवर्तन गरे। जसले मकाउनलागेको लोभ, स्वार्थ र अहङ्कारको पारो आफ्नै उचाईमा व्यवस्थित ग¥यो। मानव समाजमा क्रान्ति प्रतिक्रान्ति चलिरहन्छ। आन्दोलनकारीले क्रान्तिलाई प्रतिक्रान्ति हुनबाट जोगाउनु पर्दछ। यो आफैँमा प्रतिक्रान्ति नबनोस्। 

आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण महान सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जलि! घाइते योद्धाहरूको शिघ्र स्वास्थ्यलाभको कामना !!




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु