शुक्रबार ९ आश्विन, २०८३
देवशंकर पौडेल
कविराज बस्नेत पोकु निवासी हुनुहुन्थ्यो । कति सालमा हो, उहाँकी श्रीमती वित्नु भयो । सायद सँगसँगै घर छेउबाट पहिरो गयो। पहिरो फैलिँदै गएर घर नै तान्लाजस्तो भयो । मलाई सम्झना अनुसार उहाँ हाम्रा घरमा आएर आफूलाई परेको समस्या बताउनु भयो । उहाँलाई बलियो घरघँडेरी चाहिएको थियो । अरु धेरै कुरा बुझिँन । पछि उहाँले सालघारीको घर किनेर पोकुबाट पुलु सर्नुभयो । सायद उक्त घरबारी गोठपानी, साउनेगाउँका कुनै कार्कीबाको हुँदोहो, कसरी किन्नु भयो, मलाई जानकारी भएन । मलाई यति जानकारी छ, कविराज बा हाम्रो हजुरबाका प्रिय यजमान हुनुहुन्थ्यो । पिताजीका प्रिय मित्र । त्यसले हाम्रो र उहाँको घरमा आइजाई खुब हुन्थ्यो ।
वि.सं. २०२५÷२०२६ तिरको कुरा हो, जस्तो लाग्छ । भानिजदाजु वेदप्रसाद भट्टराई (गामनाङ, ओखलढुङ्गा) ले मलाई अक्षरारम्भ गराउनु भयो । सुरु गरेको केहि दिनमै म लेख्न पढ्न सक्ने भएँ । यो द्रूत पढाईका बारेमा बस्नेत बाले सुन्नु भएछ । उहाँका छोरा जेठा र माहिला भिन्न भएर पोकुमै हुनुहुन्थ्यो । साहिलो टेकबहादुर, काहिलो रोमबहादुर र कान्छो रुद्रबहादुर बस्नेत एकाघरमा थिए । उनिहरूलाई पढाउन घरैमा हाम्रो भानिजदाजुलाई पठाइदिन बस्नेतबाले हजुरबा र बासँग अनुरोध गर्नु भएछ । भानिजदाजु विहान बेलुका मलाई पढाउने, दिउँसो सालघारी गएर बस्नेतबाका छोराहरू र अरु छिमेकीहरूलाई समेत पढाउन थाल्नु भयो । दुई बहिनी छोरी पनि थिए । छोरी पढाउने चलन थिएन । दाजु–भाइ पढेको टुलुटुलु हेरे । यो कति समय चल्यो मलाई होक्का भएन । सायद बस्नेत काहिँला भाइलाई सम्झना हुन सक्छ ।
कविराजबा हाम्रा घरमा आउँदा पढाईको महत्त्वका वारेका छलफल गर्नु हुन्थ्यो । त्यसले हामीलाई समेत प्रेरणा मिल्थ्यो । पछि मैले एसएलसी गरेँ, आइए, विए गरेँ । पुरेतका छोराका हरेक सफलतामा कान्छाबा खुसी हुनु भयो । उहाँको तमाखु खाने अम्मल थियो । उहाँका दलानको दलिनमा एउटा किताब थियो । त्यसको नाम थियो, “गुणरत्नमाला” । त्यसो त गुणरत्नमाला हाम्रो गाउँको घरघरमा हुन्थ्यो । अक्षर फुटेपछि हामी लय हालेर गुणरत्नमाला पढ्थ्यौँ । मलाई सम्झना भएसम्म गुणरत्नमालामा लेखिएका केहि कविता यस्ता थिए–
विद्या सुन्न भनेर कान बनिए, के गर्नु ती कुण्डल ।
दानै गर्न भनेर हात बनिए, बाला भिरी के फल ।।
जिब्रो पढ्न र मन्त्र जप्न बनियो, न स्वादका खातिर ।
यो चोला उपकार गर्न बनियो, श्रृङ्गारमा के छ र ?
त्यसैगरि अर्को प्रेरणादायी स्लोक थियो–
अल्छ्याई नलिनू उँघी नरहनू, निद्रा नधेरै लिनू ।
क्वैदेखि नडराउनू, रिस कतै कैल्यै नउठ्ने हुनू ।।
धन्दा झट्पट छिन्नु फूर्ति रहनू, जुम्सोपना छाड्दिनू ।
विद्यामा धनमा पुरा हुनुपरे, यो बानी हर्दम् लिनू ।।
अर्को श्लोक–
सुन्दरी जनका छल–जालमा जो नर बेरिन पुग्दैनन् ।
क्रोध डँडेलो दन्कनलाग्दा जो जन रन्कन लाग्दैनन् ।।
मधुरा मधुरा भोग मिलेमा, जो नर परपर तर्किन्छन् ।
त्यस्ता धीरा नरले सारा, जगतै बसमा गरिदिन्छन् ।।
बाहरू यी स्लोकको महत्त्व बुझाई बुझाई पढाउनु हुन्थ्यो । बस्नेत साहिँला दाजु, काहिलो र कान्छो भाई स्वर हालिहाली पढ्थे। त्यसो त यो पुस्तक लालबहादुर राउत (पोकु), खड्कबहादुर राउत (पोकु), भैरबहादुर कार्की (पुलु), शेरबहादुर कार्की (पुलु), दलबहादुर पौडेल (पुलु), पूर्णबहादुर कार्की (पुलु), टीकप्रसाद पौडेल (पुलु), हुतराज पौडेल (पुलु), खेटराज दाहाल (पुलु), जयबहादुर कार्की (पुलु), गणेशप्रसाद पौडेल (बेलौरी), गौरीकान्त पौडेल (बेलौरी), ज्ञानप्रसाद दाहाल (बेलौरी) का घरमा हुन्थे। अन्यत्र पनि हुँदाहुन् । सर्वसाधारणले पढुन् भनेर होला दलानका खोपातिरै राखिन्थे ।
यी र यस्ता पुस्तकहरू आफ्ना घरमा छैनन् भने, जसका घरमा छ; त्यहाँबाट मागेर पनि पढिन्थ्यो । त्यसबेलाको नैतिक शिक्षा यहि गुणरत्नमाला र अरु धार्मीक पुस्तकहरू थिए । नेपाली भाषा, अङ्ग्रेजी भाषा, गणित, अदालती बन्दोबस्त जस्ता गहन र व्यवहारिक विषयहरू ठूलो बर्णमाला (पहिलो पुस्तक) ले पर्याप्त ज्ञान दिन्थ्यो । प्रमाणपत्र नभएका तर आजको एसएलसी वा सो भन्दा माथिको योग्यता त्यसवेला घरै बसी पसी पढाई हुन्थ्यो । बुढापाकाहरू तमासुक वा फिरादपत्र घरैमा लेख्थे, आधुनिक शिक्षा लिएका पढेलेखेका सन्तान टुलुटुलु हेरिरहेका हुन्थ्यौँ ।
कविराज बस्नु भएको घर आज पनि छ । त्यसबेला गाउँमा विद्यालय थिएनन् । कविराज बाको घर केहि समयसम्म शैक्षिक केन्द्र बन्यो । आज अध्ययनका अनेकौँ सहज उपाय र साधन छ्यापछ्याप्ति छन् । खोजी गुणस्तरको हो । प्रातःस्मरणीय कविराज बस्नेत कान्छाबाले रोप्नु भएका बर–पिपलका बृक्ष जिर्जिरेपानीका पाखामा स्मृतिका चिह्न बनेर हुर्किइरहेका छन् । समाजसेवी, शिक्षाप्रेमि श्रद्धेय बस्नेत कान्छाबा हृदयको कुनामा हुनुहुन्छ । उहाँ २०४९ साल जेठ महिनामा ७५ वर्षको उमेरमा निजी निवास तत्काल सैपु गाविस–३, पुलु, सिरिसेमा निधन भयो ।
(२०५३ असौज ९)