बुधबार १२ कार्तिक, २०८३ (Wednesday October 28, 2026)

बडाहाकीमका कक्षमा बम प्रहार

बुधबार १२ कार्तिक, २०८३ nepalexplores 8598


बडाहाकीमका कक्षमा बम प्रहार

देवशंकर पौडेल

मैले सुनेको थिएँ, तत्कालीन क्रान्तिकारी नेता पद्मशङ्कर अधिकारी (कठजोर, रामेछाप) ले रामेछापको बडाहाकीम धर्मबहादुर पहाडीका कार्यकक्षलाई लक्षित गरेर बम पढ्काउनु भएको थियो रे १ यो निकै जोखिमपूर्ण काम थियो। मलाई त्यसमा संलग्न को को थिए र त्यो कुन मितिमा थियो, भनेर खोजी गर्न मन लाग्यो।

बम प्रहार गर्ने साहस रुद्रप्रसाद ढुङ्गेल (पकरबास, रामेछाप) ले गर्नु भएको रहेछ। साथमा टोकले भन्ने भक्तबहादुर तामाङ (भटौली) पनि हुनुहुन्थ्यो भन्ने थाहा पाएँ। मैले सुनेको आजभन्दा नौ वर्ष पहिले हो। त्यसबेला पद्मशङ्कर अधिकारी र भक्तबहादुर तामाङको निधन भइसकेको थियो। अब रुद्रप्रसाद ढुङ्गेल मात्र जीवित हुनुहुन्छ भनेर एकदिन श्रीहरि श्रेष्ठजी र मैले उहाँसँग भेटेर पुराना कुरा सुन्ने इच्छा राख्यौँ। सुन्यौँ मात्र होइन, उहाँसँगको सम्बादको रेकर्ड समेत गर्‍यौँ।

पद्मशङ्कर अधिकारीले कठजोरको फ्याङ्ली भन्ने जङ्गलमा बसेर आदेश दिँदै दुई थान बम थमाउनु भएछ। आदेश रहेछ “एउटा बम बडाहाकीमको कार्यकक्षमा हान्ने, अर्को चाहीँ आफूलाई खतरा भयो भने तिनीहरू माथि प्रहार गर्ने।” रुद्रप्रसाद भन्नु हुन्छ “आदेश बमोजिम भक्तबहादुर तामाङ र आफू बडाहाकीमको कक्षतिर प्रस्थान गर्‍यौँ। सल्लाह बमोजिम एकजनाले बम हान्ने, केहीगरी पक्रियो भने अर्काले खबर पुर्‍याउन अलि टाढै बस्ने भन्ने थियो। टोकले निकै पर बसे। मैले बम प्रहार गरेँ। बम प्रहार गर्दा झमक्क साँझ परिसकेको थियो। बमको धमाकाले रामेछाप त्रसित र हाहाकार भयो। त्यहि हाहाकारका समयमा हामीहरू फर्कियौँ। जगेडा बम पढ्काउनु पर्ने अवस्था आएन। त्यो साथमै रह्यो।

फर्किँदा भोर्ले, सुकाजोरखोला, मच्छेडाँडी, मन्थली, आकाशे भएर करमबोट पुग्नु भएछ। पद्मशङ्कर अधिकारीले विहान झिसमिसेमा कठजोर स्थित फ्याङ्लीको जङ्गलमा भेट्ने भन्नु भएको थियो। करमबोट पुग्दा केही घण्टा रात बाँकि रह्यो। त्यहीँको चौतारामा सुतेर बाँकि रात वितायौँ। विहान भएपछि पद्मशङ्कर अधिकारीसँग लक्षित ठाउँमा मानिस पठाउनु भएछ। उनीहरूलाई भेट्यौँ। त्यसपछि तिल्पुङ भलायोटार पुग्यौँ। जहाँ पद्मशङ्कर अधिकारी हुनुहुन्थ्यो। अनि आदेश कुशलतापूर्वक पुरागरेको यथार्थ विवरण सुनायौँ।”

दुई दिनदेखिको भोको उहाँहरूको क्रान्तिकारी टुकडी अर्का क्रान्तिकारी नेता भक्तबहादुर कार्कीको घर पुगिसकेको थियो। उहाँकी श्रीमती पद्मकुमारी कार्कीले खाना पकाउनु भयो। त्यहीँ खाना खायौँ र दिनभरी आराम गर्‍यौँ। त्यसबेला सरकार विरोधिलाई अराष्ट्रियतत्त्व भन्थ्यो। त्यतै रामेछाप, सुकाजोर, ल्याङ्ल्याङ, भँगेरी, बावियाखर्कतिर अराष्ट्रियतत्त्व फेला पर्छन् कि भनेर खोजेर बसेछ, के भेटोस् १

आज भन्दा नौ वर्ष पहिले हामीले रुद्रप्रसाद दाजुलाई बम पड्काएको मिति कुन हो त रु भनेर पनि सोधेका थियौँ। उहाँले मिति विर्सिनु भएछ। अहिले त रुद्रप्रसादको पनि निधन भईसक्यो। म त्यो मितिको खोजीमा निरन्तर थिएँ। नेपाली काङ्ग्रेसका अनेकौँ नेतासँग सोधेँ, पढ्काउनेले त विर्सिनु भयो १ अरुलाई सम्झना हुने कुरै थिएन। जुनबेला काम गरिन्छ, त्यतिबेला सामान्य लाग्छ, टिपोट गरिँदैन। समय बित्दै गएपछि घटना ऐतिहासिक भैदिन्छ। त्यसबेला घटनाको फेदटुप्पो भेट्न निकै कष्ट पर्दोरहेछ। यहाँ हामीलाई त्यस्तै भयो।

यस्तै खोजीको सिलसिला चलिरहेको थियो। एकदिनको कुरा हो, रामेछापको सुकाजोर पालेवन निवासी दुर्गाबहादुर बस्नेतले यात्राका क्रममा कुरा चल्दा भन्नुभयो (“मेरी आमाले भन्नु भएको यो त वि.सं. २०१८ माघ २५ गतेको घटना हो। आमाले मिति किन सम्झिइरहनु भएको रहेछ भने दुर्गाजी जन्मिनुभन्दा अघिल्लो साँझको घटना रहेछ। दुर्गाजीले भन्नू भयो (म त्यसको भोलिपल्ट जन्मिएको रहेछु।”

अहिले दुर्गाबहादुर बस्नेतजी जटिल सल्यक्रिया पछि निवासमा आराम गरिरहनु भएको छ। विजया दशमी २०८३ का दिन नीरबहादुर कार्कीजी (होदिल, ओख्रेनी) का साथ दुर्गाजीको स्वास्थ्य स्थिति बुझ्न दधिकोट (भक्तपुर) पुग्यौँ। इतिहास हो, अझै प्रष्ट गरौँ भनेर पुनः सोध्यौँ। उहाँको स्वर पनि राम्रो आइसकेको थिएन। मसिनु स्वरले उक्त मिति पुनः पुष्टी गरिदिनु भयो अनि बार समेत भनिदिनु भयो, मेरो जन्मबार बिहीबार हुँदा बम बुधवार पड्किएको हुनुपर्छ। इतिहास नमरोस भनेर पद्मशङ्कर अधिकारी, रुद्रप्रसाद ढुङ्गेल, भक्तबहादुर कार्की, भक्तबहादुर तामाङ (टोकले), पद्मकुमारी कार्की जस्ता क्रान्तिकारी योद्धाहरूको साहसका यी हरफ जानेसम्म पस्किएँ।

२०८३ कार्तिक ११




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु