शनिबार ३० जेष्ठ, २०८३ (Saturday June 13, 2026)

वीरगञ्ज नेशनल मेडिकल कलेजमा चर्कियो आन्दोलन ओपीडी सेवा बन्द

बिहीबार १८ माघ, २०८० nepalexplores 1425


वीरगञ्ज नेशनल मेडिकल कलेजमा चर्कियो आन्दोलन ओपीडी सेवा बन्द

१८ माघ २०८०, काठमाडौं
वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीहरुले आन्दोलन कार्यक्रमलाई थप सशक्त बनाउँदै लगेका छन् । व्यवस्थापन पक्षविरुद्ध आइतबारदेखि आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले बुधबारदेखि ओपीडी सेवासमेत बन्दै गराएका छन् ।


आन्दोलनको सुरुवाती चरणमा मेडिकल कलेजको ओपीडी कक्ष अगाडि धर्नामा बस्दै आएका विद्यार्थीहरुले बुधबारदेखि ओपीडी सेवा पूर्णरुपमा बन्द गर्दै आन्दोलन चर्काएका हुन् ।

पीजी, इन्टर्न, एमबीबीएस र बीडीएसमा अध्ययनरत विद्यार्थीहरुले अनिवार्य छात्रावासको व्यवस्था खारेजीको माग गर्दै धर्नामा बस्दै आएका थिए । पछिल्लो समय उनीहरुले मेडिकल कलेजको व्यवस्थापन पक्ष समक्ष विभिन्न ७ बुँदे माग अघि सारेका छन् ।

स्वेच्छा अनुसार छात्रावासमा बस्ने विद्यार्थीहरुलाई अनिवार्य खाना खानुपर्ने व्यवस्था खारेज, छात्रावासमा बस्ने विद्यार्थीलाई उचित शुल्क र गुणस्तर कायम हुनुपर्ने, पूर्व सम्झौताविपरीत होस्टेल र मेशको बढाइएको शुल्क फिर्ता गर्नुपर्ने माग उनीहरुले अघि सारेका छन् । यस्तै, अनिवार्य इन्टरनेट जडान गर्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने, आवासीय चिकित्सकहरुको पारिश्रमिक वृद्धि गर्नुपर्ने र फिल्ड् भिजिट (सीएचडीएफपी, एफएचइ, एचएसएम) अटोपीजी त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम अनुसार लागु गर्नुपर्ने उनीहरुको माग छ ।

अस्पतालको व्यवस्थापनले विद्यार्थीहरुसँगको सम्झौताविपरीत छात्रावास (होस्टेल) को शुल्क बढाएपछि आफूहरु आन्दोलनमा उत्रेको एमबीबीएस चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी दानबहादुर तामाङले बताए । उनका अनुसार केही महिना अगाडिसम्म कलेजले होस्टेल र मेशको गरी प्रत्येक विद्यार्थीसँग वार्षिक १ लाख ७५ हजार रुपैयाँ लिने गर्थ्यो । तर २ महिना अगाडि विद्यार्थीहरुसँग छलफल नै नगरी एकाएक होस्टेल र मेसको शुल्क वार्षिक अढाइ लाख पु¥याइएको उनले बताए । ‘पहिला लिइरहेको शुल्क नै बढी थियो । त्यही तिर्न हामीलाई कठिनाइ हुन्थ्यो,’ उनले भने, ‘अब त झन् हामीलाई गाह्रो हुन्छ ।’

उनका अनुसार पहिलाको शुल्कमा विद्यार्थीलाई साताको ३ दिन मासु र ३ दिन अण्डा दिने तालिका थियो । तर बिस्तारै यसमा कटौती गर्दै सातामा २ दिन मासु र एक दिन अण्डा दिन थालेको उनको भनाइ छ । तैपनि आफूहरुले आपत्ति नजनाएको उनले सुनाए । ‘तर अहिले आएर एकाएक सिधै ७५ हजार थपेर यो वार्षिक शुल्क अढाइ लाख पु¥याइयो, जुन एकदम बेठिक हो,’ उनले भने, ‘त्यसकारण हामी विरोधमा उत्रिएका हौँ । कलेजका सबै विद्यार्थी आन्दोलित छन् ।’
 




मतहरू

Logan

Jade Willis


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु