शुक्रबार १८ फाल्गुन, २०८०
१८ फागुन,काठमाडौँ ।
काठमाडौँ महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको र मापदण्डविपरीत रहेको पाईएको छ।
काठमाडौं महानगरपालिकामा स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो। अहिलेसम्मको अनुगमनमा वडा नं १, २ र ३ का धेरै र अन्य वडामा गरिएको अनुगमनका क्रममा कमजोरी पत्ता लगाइएको विभागको भनाइ छ। वडा नं १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाई खोप भण्डारण गरेको पाइयो। यसरी भेटिएका तीन प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टिटी खोप नौ थान र तीन थान इन्सुलिन जफत गरिएको स्वास्थ्य विभागले जानकारी दिए।
अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको छ । “औषधि पसलले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो । जनस्वास्थ्यका दृष्टिले चरम लापरबाहि हो ।”
औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाणपत्र पसलमा अर्कै व्यक्ति बसेको पनि अनुगमनका क्रममा भेटिएको छ । अनुगमनका क्रममा भेटिएका केही प्रतिनिधि पसलबाहेक धेरैमा समस्या देखिएको र पटक पटक यस्तो हुने भएकाले सुधारको मौका दिन नसकिन अनुगमन समितिको संयोजक सुनिता डङ्गोलले जानकारि दिईन्।
महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसललाई प्रचलित व्यवस्थाअनुसार कानुनी दायरामा आउनका लागि सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो। सूचनाको बेवास्ता गरेको भन्दै कामपाले अनुगमन सुरु गरेको हो। अनुगमनका क्रममा समस्या देखिएका पसललाई कारबाहीको दायरामा ल्याउने कामपाले जनाएको छ।