शुक्रबार १२ मंसिर, २०८३
११ मंसिर, काठमाडौं।
पाहुना चरा जाडो छल्न तराई झर्न थालेका छन्।
चिसो याम सुरु भएसँगै पाहुना चरा आहाराको खोजीमा हिमाली क्षेत्रबाट चरा तराई झर्न थालेका हुन्।
स्वदेशी तथा विदेशी पाहुना चरा जाडो महिना सुरु भए सँगै चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा देखिन थालेको पक्षीविद् सङ्घका बागमती प्रदेश संयोजक बासु बिडारीले जानकारी दिएका छन्।
बिडारीका अनुसार जाडो छल्न हाँस प्रजातिका चरा सहित बाज, चिल लगायतका चरा निकुञ्ज आसपासका क्षेत्रमा आउन थालेको बाताएका छन्।
नेपाल बाहिर बाट आएका १२ देखि १५ प्रजातिका हाँस नारायणी, राप्ती नदी र रिउ खोलामा देखिन थालेको तथा कतिपय चरा आइसकेका भए पनि कतिपय आउन बाँकी रहेको बिडारीले बताएका छन्।
नेपालकै पहाडी क्षेत्र बाट समेत चिसो छल्न चरा चितवन आउने गरेका र साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीन लगायतका देश बाट नेपालमा चरा आउने गरेको बताएका छन्।
नेपाल आउने चरामा हाँस प्रजातिका चखेवा, सुइरोपुच्छ्रे, मालक, खडखडे, बिजुला र गैरीजस्ता चराहरु रहेका छन्।
नेपालमा जाडो छल्न आउने चरामा सुडसुडिया प्रजातिका वनमा आश्रित चरा वनमा आश्रित प्रजातिमा चाचर, चुइया र भारद्वाज आउने गरेको बताएका छन्।
पाहुना चरा चिसो छल्न र आहाराको खोजीमा चरा उत्तर बाट दक्षिणतर्फ आउने गरेको पाइन्छ। भने नेपालमा १२० देखि १८० प्रजातिका चरा आगन्तुकका रूपमा आउने र अहिले सम्म १ सयभन्दा बढी प्रजातिका चरा आइसकेको बिडारीले बताएका छन्।
आएका चरा ६ महिना पछि बच्चा कोरल्ने समयमा फेरि दक्षिण बाट उत्तर फर्कने जानकारी दिएका छन्।
पृथ्वीको उत्तरी गोलार्धमा दिन छोटो र रात लामो हुने भएकाले चरालाई आहार खोज्न पर्याप्त समय नहुने हुँदा पाहुना चरा दक्षिणतर्फ आउने गरेको पक्षीविद् सङ्घका बागमती प्रदेश संयोजक बासु बिडारीले बताएका छन्।
नेपालमा हाल ९०४ प्रजातिका चरा पाइन्छन् । भने चितवनमा ६५२ प्रजातिका चरा अभिलेख भएको छ।