बिहीबार २९ आश्विन, २०८३ (Thursday October 15, 2026)

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे विदेशी सवारीसाधनमा थप कर लगाउने घोषणा

बिहीबार १३ चैत्र, २०८१ nepalexplores 1382


अमेरिकी राष्ट्रपति ट्रम्पले गरे विदेशी सवारीसाधनमा थप कर लगाउने घोषणा

१४ चैत, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सवारीसाधनमा थप २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। ट्रम्पले अटो आयात र पार्टपुर्जामा चर्को कर घोषणा गरेका हुन्। अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछिल्लो कर नीतिको प्रतिकार गर्ने चेतावनी दिएका छन्।

ट्रम्पको यो घोषणा पछि जापानका प्रधानमन्त्री सिगेरु इसिबाले टोकियोले ‘सबै प्रकारका प्रतीकारात्मक उपायहरू विचार गरिरहेको’ बताएका छन् भने क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको करलाई आफ्नो देशका कामदारहरूमाथि ‘सीधा आक्रमण’को संज्ञा दिएका छन्।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भाले पनि आफ्नो देश ‘स्थिर रहन नसक्ने’ प्रतिक्रिया दिएका छन्। यो शुल्क अमेरिकी समय अनुसार अप्रिल ३ राति १२ः०१ बजेपछि लागू हुने जनाएको छ। यसले विदेशमा निर्मित कार र हल्का ट्रकहरूलाई असर गर्ने छ।

अटोमोबाइलका मुख्य पार्टपुर्जाहरू पनि एक महिनाभित्रै प्रभावित हुनेछन्। ओभल अफिसमा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, ‘संयुक्त राज्य अमेरिकामा नबनेका सबै कारहरूमा २५ प्रतिशत कर लाग्ने गरी हामीले निर्णय लिएको जनाएका छन्।’

गत जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेदेखि ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ कर लगाउनुका साथै स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएका छन्। ट्रम्पको घोषणा अघि नै जनरल मोटर्स र स्टेलेन्टिसको सेयर तीन प्रतिशतभन्दा बढीले घटेको थियो। 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु