बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

म्याग्दीको अन्नपूर्ण आधार शिविरमा आरोहीहरुको चहलपहल बढ्दो 

मंगलवार १८ चैत्र, २०८१ nepalexplores 1389


म्याग्दीको अन्नपूर्ण आधार शिविरमा आरोहीहरुको चहलपहल बढ्दो 

१९ चैत, काठमाडौं ।
म्याग्दीको अन्नपूर्ण आधार शिविरमा आरोहीहरुको चहलपहल बढ्न थालेको छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्नेका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका हुन्।

आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ। चालु वसन्त याममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताएका छन्। 

पर्यटन विभागले पछिल्लो पटक गत मङ्लवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच समूहका ३० पुरुष र १२ जना महिला आरोहणको अनुमति लिएको जनाएका छन्।

वसन्तयामका लागि हालसम्म पाँच वटा हिमाल अरोहण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण चढ्ने पर्यटक रहेका विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिएन्।

उनका अनुसार पायनियर एडभेन्चर, आठ के एक्सपिडेसन, इमेल नेपाल, सेभेन समिट, १४ पिक्स एक्सपिडेसन, मकालु एडभेन्चर र बोचीबोची पिक्स मार्फत विश्वका विभिन्न देशबाट आएका आरोहीहरू आधार शिविरमा पुगेर तयारी थालेका छन्।

भारतीय पर्वतारोहीलाई आरोहण गराउन आधार शिविर पुगेका सेभेन समिटका पेम्बा शेर्पाले २० दिनभित्र अन्नपूर्ण आरोहण सकेर सगरमाथा जाने योजना रहेको बताए। “शेर्पाहरूले आधार शिविरबाट हिमालको चुचुरोतर्फ जाने बाटो बनाउन थालेका र केहीदिनमा आधार शिविरमा विश्राम र तयारी गरेपछि आरोहीहरू हिमाल चढ्न जाने बताएका छन्। 

विश्वको दशौँ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि वसन्तयाम उपयुक्त मानिन्छ। अन्नपूर्णको अहिलेसम्म चार सय ८८ जनाले सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ।

सन् १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए। मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि सन् १९५३ मा सरएडमण्ड हिलारी र तेन्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।

आठ हजार मिटरभन्दा अग्लो सबैभन्दा पहिलो पटक मानव पाइला परेका कारण अन्नपूर्णलाई ‘जेठो’ हिमाल पनि भन्ने गरिन्छ। प्रथम आरोही मौरिस हर्जोगले आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग तयार गरिएको अन्नपूर्ण गाउँपालिका कार्यालयले जनाएको छ ।

शान्त र एकान्त वातावरण, वन्यजन्तु, पशुपन्छी, जङ्गल, अग्ला पहाडको खोँच, फुटफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङ्गको पञ्चकुण्डताल आधार शिविरका आकर्षण हुन् । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु