मंगलवार २० आश्विन, २०८३ (Tuesday October 06, 2026)

अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा

मंगलवार २० आश्विन, २०८३ nepalexplores 1009


अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा

२० असोज, काठमाडौं । 

अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा अहिले ‘ल्याण्ड फिलिङ’ र बाहिरी पर्खाल लगाउने काम धमाधम भइरहेको जनाएको छ ।

आयोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीपकुमार यादवका अनुसार जाजग्गा व्यवस्थापनसँगै सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम पनि अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

परियोजन अन्तर्गत राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा १२ कट्ठामा अत्याधुनिक सुविधा सहितको ग्रीन फिल्ड टर्मिनल निर्माण हुने जनाएको छ ।

इन्डियन आयल कर्पोरेसशन (आइओसी)को मोतिहारी डिपोमा रहेको पम्प हाउस बाटै लोथरसम्म पाइपलाइनका लागि पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिने जनाएको छ । 

अमलेखगन्ज देखि लोथरसम्म करिब ६२ किलोमिटरको दूरीमा १० दशमलव ७५ इन्चको पाइपलाइन बिच्छ्याइने जनाएको छ ।

अहिले निगमले भारतको मोतिहारी देखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ पाइपलाइन बाट ल्याइरहेको छ । सोही पाइपलाइनलाई अमलेखगन्ज देखि लोथरसम्म विस्तार गर्न लागिएको हो ।

पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन बिच्छ्याइने भएकाले पाइपलाइनको नक्साङ्कन भइसकेको प्रमुख यादवले जानकारी दिएका छन् । 

पाइपलाइन बिच्छ्याउनको लागि सडक विभागसँग समन्वय भइसकेको र हेटौँडा बजारमा ‘बाइपास’ गरेर पाइपलाइन बिच्छ्याउने गरी डिजाइन तय भएको निगमले जनाएको छ । 

अबको तीन वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । भने निमार्ण सम्पन्न हुँदा पाइपलाइन बाट २७३ किलोलिटर प्रतिघण्टाको गतिमा लोथरसम्म तेल आपूर्ति गर्न सकिने निगमले जनाएको छ ।

 कुल ६२ किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला नियमित रुपमा ३२ सय किलोलिटर इन्धन भण्डारण हुने जनाएको छ ।

निगमका उपप्रबन्धक ऋषिराम शर्माले परियोजना निर्माणस्थलमा जमिन सम्याउने, बाहिरी पर्खाल लगाउने र परियोजना निर्माण थालनीको पूर्वतयारीका काम धमाधम चलिरहेको बताएका छन् । 

जग्गा तयार भएपछि निगमले भण्डारण सहितका संरचना निर्माणका लागि आइओसीलाई जिम्मा लगाउने जनाएको छ । भने ल्याण्ड फिलिङ र बाहिरी पर्खाल निर्माणको ठेक्का मोतीदान कन्स्ट्रक्सनले पाएको छ । 

ठेकेदार कम्पनीका प्रतिनिधि कृष्ण घोरासाइनीले जग्गा पुर्नका लागि आवश्यक कच्चा पदार्थ सङ्कलन गर्ने र साइटमा ल्याउने काम भइरहेको जानकारी दिएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु