बुधबार ३० माघ, २०८१ (Wednesday February 12, 2025)

सोसोल्नीले कोरेको ढुङ्गो (सैपु, रामेछाप)

सोमबार २ श्रावण, २०७९ Nepalexplores 1841


सोसोल्नीले कोरेको ढुङ्गो (सैपु, रामेछाप)

  • देवशंकर पौडेल:

रामेछापको सैपु गाउँमा चार लौरी छन् । सिरानमा दिलौरी, केहि तल पालौरी, झन् तल तिलौरी र अझै तल पुछारमा बेलौरी । अरु लौरीका आआफ्ना कथा होलान् । अहिले यहाँ पालौरीमा रहेको एउटा चर्चित र रहस्यमय ढुङ्गाका बारेमा चर्चा गरिन्छ । यसका बारेमा थप अध्ययनको खाँचो छ ।  
नेपालमा दास प्रथा कायम भएका बेलाको प्रसङ्ग हो । त्यस बेला एकजना ‘सोसोल्नी’ नाम गरेकी महिलालाई उनकी जेठानीले कमारो (दास) संग बात लगाउँदै, खेदो खनेर दुःख दिइछन् । दुःख दिनुको कारण सामाजिक बहिस्कार गरेर गाउँबाट निकाल्नु थियो । जेठानीले घाँस-दाउरा, पानी-पँधेरो, मेला-पात जहाँसुकै सोसोल्नीका विरुद्धमा अनेकौं मिथ्या प्रचार गरिरहन्थिन् । गाउँमा यस्तो अवस्था आयो,  निर्दोश सोसोल्नी र उनको श्रीमान् थात छाड्न बाध्य भए । 

उनका श्रीमान् (सोसोले) लाई श्रीमती प्रति पूर्ण विस्वास थियो । त्यसै भएर दुवैजना गाउँ छाड्ने निश्चय गरे । सानो घर बाहेक उनीहरूको खास सम्पत्ती थिएन । खोरिया फाँड्दै ठाउँसर्दै गर्ने अवस्थाबाट समाज स्थायी बसोबास गर्न थालिसकेको थियो । तर पनि वरपर जति भस्मे फाँड्यो त्यति आफ्नो हुने समय कायमै थियो । सोसोले र सोसोल्नीका सन्तान जन्मिएका थिएनन् । अल्झन नभएकाले उनीहरू जति पनि भस्मे फाँड्न सक्थे । त्यसले उनीहरुको आर्थिक अवस्थामा सुधार आइरहेको थियो । यसकारण उनका आफन्तमा सोसोल्नी परिवारका प्रति डाह लागेको हुनसक्छ । 

अर्काको कुरा सुनेर गाउँका दाजुभाई पनि सवै उनीहरूका विरुद्ध थिए । कसैले माया दिएन । निर्दोशलाई दोषी करार गरेका कारण दुवैको चित्त नराम्रोसंग दुखेको थियो । अत्याचारको हद नाघेपछि गाउँ नछोडी सुख पाएनन् । यो पौरखी जोडी एकदिन विहानै गाउँ छाडेर मुग्लानतर्फ बाटो लाग्न विवश भयो । आफू जन्मिए, हुर्किएको थातथलो र आफ्ना भनिएका इष्टमित्र छाड्नु पर्दा हिंड्ने बेलामा भक्कानिदै दुवैजना खुव रोए । सामुन्ने पारी पोकली छाँगो देखियो । त्यो पनि दुवै आँखाबाट आँसु चुहाएझैं बर्बरी रोएजस्तो देखियो । घुर्‍यानका पिडालु र केराका पातले उनिहरूलाई हातहल्लाएर विदाई गरेझैं गरे । प्रकृतिलाई यसै गरी नियालेर सोसोल्नी दम्पति दच्किदै दच्किदै घरबाट दुईचार कान्ला तल झरे । 

अलि तल बाटोमा पर्ने पालौरी डाँडाको डिलमा पुगे । पालौरी डिलमा एउटा चप्लेटी परेको ढुङ्गो छ । त्यहाँबाट ‘स्यात्पुलु’ तिर फर्किएर विभिन्न देवी देउता संझिएर बर्वराए । विशेष गरेर स्यात्पुलुलाई संझिएर सोसोल्नीले भनिन्आफूले नगरेको कुरामा फतुर लाग्यो । “साक्षात्का ‘स्यात्पुलु’ छौ भने, यो ढुङ्गा तीन टुक्रा हवस् । म दोषी भए यो ढुङ्गो जस्ताको तस्तै रहोस् ।” भनेर बाचा गरेर उनले भिरेको हँसियाले ढुङ्गामा क्वारक्वार दुई धर्का कोरिन् र त्यस ढुङ्गालाई दायाँ पारेर आफ्ना श्रीमानका साथ बाटो लागिन् । जाँदा जाँदै पुलुपोखरी पुगेर उनै ‘स्यातपुलु’को दर्शन पछि मात्र बाटोलागेकी थिइन् । विचराहरूलाई मुग्लान कताहो, के थाहा १ पहाडी बाटैबाटो पूर्वतर्फ गए । उनिहरू कता गए, कति दुःखपाए वा झन् सुखपाए, त्यो वेग्लै विषय हो । तर यता हँसियाले कोरेको ढुङ्गो त्यस पछि क्रमशः तीन टुक्रा भएर फाट्दै गयो । हुँदाहुँदा आज निकै फाटिएको अवस्थामा आएको छ । 

त्यस पछि सोसोल्नी र उनका श्रीमान् सैपुबाट मुग्लान हिंडेका अरुण नदी पानीढलो भोजपुर जिल्लाको फालिकोट भन्ने ठाउँमा पुगेछन् । त्यहाँ पनि खोरिया फाँडेर घरजम गरेर बसे । भनिन्छ केहि पुस्ता फालिकोट बसे पछि उनका सन्तानहरू पुनः सैपुमा फर्किएर आए । स्थानीयहरूलाई सोधखोज गरेर पुरानै घडेरीमा बसोवास गरे । पुरानै जग्गा जमिन कमाए । 
हिंड्ने बेलामा सोसोल्नीले भनेकी थिइन् रे, “मलाई नविराएको दोष लगाएर निकाल्नेहरूका सन्तानहरू यस गाउँमा पैंतीस छत्तीस घर भन्दा नबढुन् । हाम्रा सन्तान पुनः यहि गाउँमा आएर यीनीहरूलाई विरोली रहुन्, पिरोली रहुन् । अर्थात् बदला लिउन् ।” भनेर समाजलाई समेत श्राप दिएकी थिइन्, भन्ने कहावत् छ । 

उनका सन्तान को हुन् ? उनिहरूले पुरानो समाजलाई बदला लिएकि लिएनन् ? यो सामाजिक अध्ययनको बेग्लै विषय हो ।
हामी वि.सं.२०२६-०२९ सालतिर चण्डेश्वरी प्राइमरी स्कूलमा पढ्थ्यौं । पुलु र बेलौरीका विद्यार्थीहरूलाई आउँदा जाँदा त्यहि बाटो भएर हिंड्नु पर्थ्यो । त्यसबेला हामीलाई यो कथा थाहा थिएन । तर बाटैमा पर्ने यस ढुङ्गामा हामीले हेर्दा थोरै फाटेका ससाना चेप थिए । अचेल निकै नै फाटेको देखिन्छ । रहस्यमय कहावत बोकेको यो ढुङ्गामा टेक्दा थकाई नै मर्ने गरी पुरै शरीर चिसो हुन्छ । सकारात्मक सोचाई आएर बेग्लै अनुभूति हुने गर्छ । टेक्ने मानिसको पैतालको डाम ढुङ्गामा पर्छ । यसो हुनाको कारण चाहीँ ढुङ्गो निकै चिसो हुनाले पसिनाको डाम परेको हुनुपर्छ । 

त्यसवेला गाउँ घरमा आजको जस्तो जुत्ता चप्पल लाउने चलन थिएन । सवै नाङ्गा खुट्टा गाउँ बेशी गर्थे । झन् हामी बालबच्चाका खुट्टामा जुत्ता चप्पल हुँने त कुरै भएन । विद्यालय जाँदा आउँदा नाङ्गा खुट्टाले पालैपालो त्यस ढुङ्गामा नटेकी हिंड्दैनथ्यौं । लामो उकालो हिंडेर असिन पसिन भएर लखतरान भएको शरीर त्यस ढुङ्गामा टेकेपछि थकाई मरेको भान हुन्थ्यो । यो ऐतिहासिक ढुङ्गो पालौरी डाँडाको डिलमा छँदैछ । विज्ञानसंग मेल खाए पनि नखाए पनि बुढापाकाको मुखवाट यस्तै किसिमका कहावत सुनिंदै आएको छ ।  
लेखक पौडेल नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज हुन । उनले रामेछापका विभिन्न भुभागमा रहेका ऐतिहासिक विषयवस्तुको खोज, अनुशन्धान र विश्लेषण गर्दै आएका छन । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु