बुधबार ३० माघ, २०८१ (Wednesday February 12, 2025)

पिडा लुकाएर खुशी बाँड्न सक्ने पिताहरु प्रति नमन 

शनिबार ११ भाद्र, २०७९ Nepalexplores 1593


पिडा लुकाएर खुशी बाँड्न सक्ने पिताहरु प्रति नमन 

  • किरण मोक्तान:

आजका पुत्रहरु भोलिका पिता हुन्, संसारमा जति पनि  छोराहरु छन् उनिहरु सबै पिता हुनेछन् तर दुनियाँमा (हाम्रो समाजमा) छोरा मान्छे भएपछि रुन हुन्न भन्ने भनाई छ भने छोरा मान्छे कतै रुइहाल्यो भने पनि  यो त छोरी मान्छे जस्तो रुन्छ भनेर साथिभाई, समाजले हेप्ने गरिन्छ । उनको जीवनमा जस्तोसुकै पिडा होस् कहिल्यै कोहि सँग धक फुकाएर रुन वा आफ्नो दुस्खका कुरा साट्न सकिदैन त्यसैले दिल खोलेर भन्न मन लाग्छ, पिडा लुकाएर खुशी बाँड्न सक्ने पिताहरुलाई सलाम छ ।

हामी सामाजिक प्राणी हौं, हामीले सामाजिक जीवन व्यतित गर्ने क्रममा हरेक खालका व्यक्तिहरुसंग भेट हुन्छ ,यसैबीच मैले पनि धेरै पिताजीहरु सँग भलाकुसारी गर्ने अवसर पाएको छु, जस मध्ये कति पिताजीहरु परलोक भैसक्नुभयो । जति पनि पिताजीहरुको साथ ,आशिर्वाद पाए उहाँहरुले आफ्नै सन्तान ठानेर आफ्ना हरेक पिडाहारु बिसाएर एकछिन भएपनि अनुहारमा खुशी देख्न पाउँदा मलाई पनि आनन्द लाग्थ्यो । हामी अनि हाम्रो समाज यति व्यस्त भैइसक्यो की हामीलाई हाम्रो पिताजीको दुःख बुझ्न फुर्सदै कहाँ छर ? आमाहरुले त चित्त नबुझे जोकोहीलाई भनेर मन हलुका बनाउन सक्छन् तर पिताजीले आफ्नो पिडा कसैलाई सुनाए पनि समाजले हेर त्यो फलानो त छोरी मान्छे जस्तो आफ्नो कुरा सुनाउदै हिड्छन् भनेर भन्छन् भन्ने डरले पनि भन्नै सक्तैनन् । त्यसैले गर्वका साथ भन्न मन लाग्छ
 पिडा लुकाएर खुशी बाँड्न सक्ने पिताहरुलाई सलाम छ ।

मैले आजसम्म संगत गरिएका हरेक पिताजीहरुको पिडा बारे लेख्दै गर्दा मेरो आफ्नै पिताजी र मेरो छोराछोरीको पिताजीको बारेमा र उहाँहरुले भोग्नुपरेको पिडा मेरो पिताजीको छोरी र मेरो छोराछोरीको पिताजीको जीवन सङ्गिनीको रूपमा नजीक भएर  महसुस गरेको पिडा पनि समावेश गर्न मन लाग्यो  ।जसमध्ये मेरो पिताजीको जीवनमा त्यस्ता पिडा कैयन आईपरे होलान् तर हामीले पारिवारिक रूपमा ब्यहोर्नु परेको कहिल्यै बिर्सन नसकिने पिडा मेरो माइतीघरमा चार बर्ष भित्र मेरो ठुलोबुबा,भाई र हजुरबुबा हजुर आमा बित्नुभयो, मेरो पिताजी आफैं मुटुको बिरामी हुनुहुन्छ मलाई थाहा छ उहाँ आफैं धेरै टुट्नुभएको छ तरपनि हामीलाई भन्नुहुन्छ जे नहुनुपर्ने त्यो भैसक्यो, म छु तिमीहरू पीर नगर, आज पनि उहाँहरु गाउँमा हुनुहुन्छ हामी काठमाडौं छौं तर पनि फोन बाट  थाहा पाउनुहुन्छ र भन्नुहुन्छ  तिमीलाई सन्चो छैन हो ?  लाग्छ बोलि बाट सन्तानको दुःख सुख बुझ्ने आमाबुबा भन्दा कोहि हुन्न र संयोग पनि कस्तो, मैले लेख्दै गर्दा उहाँकै फोन आएको थियो हुन सक्छ पिता र सन्तानको मायाको शक्ति अपरम्पार छ  । म आफ्नो गृहस्थ जीवनमा खुशी छु, फुर्सदमा सामाजिक क्षेत्रमा काम गर्छु तर मेरो आमाबुबाको लागी सदा सर्वदा सानानै हुदोरहेछ आजपनि मेरो खानपिन ,स्वास्थको बारेमा सम्झाईराख्नुहुन्छ, त्यसैले पनि सम्मान सहित भन्न मन लाग्छः पिडा लुकाएर खुशी बाँड्न सक्ने पिताहरुलाई  सलाम छ

 

त्यसै गरी मेरो छोराछोरीको पिताजी जसको जीवन संगीनी बनेर हरेक दुःख सुखमा साथ छौं  । उहाँले  आफ्नो श्रीमती र छोराछोरीको लागी गर्नुभएको त्याग शब्दमा बर्णन गर्न सकिन्न हामी र हाम्रो सन्तानको भबिष्यको लागी भनेर जीवनका सुनौलो पलहरु संघर्षको क्रममा  एक अर्को बाट टाढिएर व्यतित गर्यौ  । अझै पनि त्यही संघर्ष  निरन्तर  छ तर पनि सन्तानको भविष्यको चिन्ता हुन्छ सामाजिक हिसाबले हाम्रा सन्तान साना छैनन् तर पनि म भन्दा उहाँ बढी चासो राख्नुहुन्छ, हामीले भोगेको संघर्षका कहानी आफ्नो सन्तानले व्यहोर्न नपरोस् भनेर सचेत हुनुहुन्छ । कतिपय अप्ठ्यारा परिस्थिति बारे छोराछोरीलाई चिन्ता हुन्छ भनेर नभन्न मलाई  सुझाउनु हुन्छ । त्यसैले खुशीका साथ भन्न मन लाग्छः       पिडा लुकाएर खुशी बाँड्न सक्ने पिताहरुलाई सलाम छ ।
 
अन्त्यमा आज बुबाको मुख हेर्ने दिन मात्र हैन आमाबुबाको लागी भरपर्दो सारथि ,विश्वास गर्न लायकको सहारा बनेर बुढेसकालको असल मित्र ,सन्तान बनी उहाँहरुको साथ र आशिर्वाद लिन सकौ भन्दै आज बुबाको मुख हेर्ने दिन अर्थात कुशे औशीकाको उपलक्ष्यमा पिताजी, छोराछोरीको पिताजी लगायत सम्पुर्ण पिताजीहरुमा प्रणाम ,सम्मान र शुभेक्षा र शुभकामना ।
 

लेखक मोक्तान सामाजिक, राजनीतिक र साहित्यिक क्षेत्रमा क्रियाशिल एक अबिचलित योद्धा हुन । उनका शिरै फुल्यो..... लगायत दर्जनौ गीतहरु सार्वजनिक भएका छन । 




मतहरू

Smarika Dahal

Very Nice

Raj kumar waiba.

Asala


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु