बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

काँक्रो खेतीबाट भरतको वार्षिक ५ लाख आम्दानी 

मंगलवार २ आश्विन, २०८० nepalexplores 1377


काँक्रो खेतीबाट भरतको वार्षिक ५ लाख आम्दानी 

२ असोज, काठमाडौँ  । 

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उनले घर–व्यवहार सहज रूपमा चलाएका छन् ।


‘एक दशकदेखि काँक्रो खेती गर्दै आएका छौँ’, उनले भने, ‘स्थानीय बजारमा बिक्री गरी सोचेजस्तै आम्दानी हुने गरेको छ ।’ उनका अनुसार दुई महिनाको अवधिमै रु एक लाख ५० हजार जतिको काँक्रो बिक्री भइसकेका छन् ।

पहिलो खेपमा लगाएका काँक्रो बिक्री गरी दोस्रो खेपका काँक्रो बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् । बजारको मागअनुसार काँक्रोका जात खेतमा रोप्ने गरेको उनले बताए ।


‘अरु किसानभन्दा पहिला नै बजारमा काँक्रो पुर्‍याइसक्छौं, उनले भने, ‘त्यही भएर मूल्य अधिक पाइन्छ, बिक्री गर्न पनि झन्झट हुँदैन, अन्य किसानले बजारमा काँक्रो बिक्री गरेर सिध्याएपछि पुनः काँक्रो बजारमा पुर्याई बेच्छौँ ।’ बजारमा स्थानीय जातका काँक्रोको बढी माग हुने भएकाले यसकै खेतीलाई बढावा दिइँदै आएको उनले बताए ।

उनी काँक्रोसँगै मौसमी बेमौसमी तरकारी खेती पनि गर्छन् । काँक्रो र तरकारी खेती गरी वर्षमा रु १५ लाख बढीको बिक्री हुन्छ । जसबाट रु १२ लाख जति आम्दानी हुने गरेको छ ।

श्रीमान्–श्रीमतीसँगै घरका अन्य सदस्यले व्यावसायिक तरकारी खेती र काँक्रो खेतीमा गोडमेल, मल राख्ने, सिँचाइ गर्ने, टिप्ने र बजारमा लगेर बेच्नेसम्मका काममा सहयोग गर्छन् । तरकारी खेतीबाटै गाउँमा पक्की घर, सिँचाइका लागि पम्पसेट, खेत जोत्नका लागि पावर टिलर उनले जोडेका छन् ।

संयुक्त परिवारमा बस्दै आएका चौधरीले निजी विद्यालयमा पढ्दै आएका बालबालिकाको खर्च, घर खर्च काँक्रो र तरकारी खेतीबाटै धान्दै आएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु