सोमबार २६ आश्विन, २०८३
२६ असोज, काठमाडौं ।
झापामा चिया परीक्षण प्रयोगशाला स्थापनाको लागि पहल भएको छ ।
झापामा चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल गरिने भएको हो ।
चिया उद्योगी तथा सरोकारवाला बिचको अन्तरक्रियामा चिया परीक्षणको गर्न सहज होस् भन्ने उद्देश्यले प्रयोगशाला स्थापनाका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाको आयोजनामा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको समन्वयमा आयोजित कार्याक्रममा सो निर्णय भएको जनाएको छ ।
हाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालय काठमाडौँमा मात्र चिया परीक्षण प्रयोगशाला रहेकोमा चिया उत्पादनको लामो इतिहास बोकेको झापामा परीक्षण प्रयोगशाला स्थापना हुँदा चियाको गुणस्तर परीक्षण गर्न सहज हुने र गुणस्तर सुधारमा सहयोग पुग्ने सहभागीको भनाइ रहेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा बनाएको पहिचान कायम राख्न गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
चियाको उत्पादन देखि प्याकेजिङ र बजारसम्म गुणस्तर कायम राख्न सम्बन्धित निकाय, उद्योगी तथा व्यवसायी बिच समन्वय आवश्यक रहेको बताएका छन् ।
अन्तरक्रियामा तयारी चियाको गुणस्तर, खाद्य सुरक्षा मापदण्डको पालना, उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने असर तथा मापदण्ड विपरीत रङ वा अन्य पदार्थ प्रयोग गरेमा प्रचलित कानुनअनुसार हुने दण्ड, जरिवाना र सजायका व्यवस्थाबारे जानकारी गराइएको थियो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाका प्रमुख इन्द्रप्रसाद अधिकारीका अनुसार जिल्लामा ३८ चिया उद्योग सञ्चालनमा रहेको बताएका छन् ।
जिल्लामा १० हजार ५०० हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको ठाउँमा गत आर्थिक वर्ष ९ करोड ८५ लाख किलो सिटिसी चिया उत्पादन भएको थियो । भने त्यस मध्ये ३ हजार ६०० हेक्टरमा साना किसानले चिया खेती गर्दै आएको र करिब ३ हजार किसान चिया उत्पादन क्षेत्रमा संलग्न रहेको बताएका छन् ।