बुधबार २८ आश्विन, २०८३ (Wednesday October 14, 2026)

संस्कार सहितको बालमनोविज्ञान

बुधबार २८ आश्विन, २०८३ nepalexplores 2812


संस्कार सहितको बालमनोविज्ञान

२८ असौज, काठमाडाैं ।

देवशंकर पौडेल 

२०५१ साल माघ फागुन महिना तिरको कुरा हो। म रामेछाप जिल्ला बाट भर्खर सांसद भएको थिएँ। डेरा थियो, रामहरि बुढाथोकीको घर घट्टेकुलामा हामी दुबैजना छोराछोरीलाई डेरामा छाडेर काममा हुन्थ्यौँ। घरपति पनि काममा नै निस्किनु हुन्थ्यो। केटाकेटीमात्र घरमा हुन्थे। चञ्चले उमेरका केटाकेटी भेटेको चकचक गरिनै हाल्थे। त्यसबेला रामहरिको घर दुई तला मात्रको थियो। माथिल्लो तलाको छतमा सरो ईँटाको घेराबार थियो। एकदिन दिउँसो छोरी दीपा, दीपिका, छोरा भिमेश र दिवेश त्यहि पातलो गारामा चढेर हिँडिरहेका रहेछन्। 

छिमेकमा नेत्रबहादुर ’रामचन्द्र’ कार्की (बाम्ती, रामेछाप) को निवास थियो। रामचन्द्र र राधाले झन्नै २५ फिट माथि बाट बालकहरू खस्न सक्ने खतरा देख्नु भएछ। केटाकेटीहरू अब लड्ने भए भनेर आफ्नो छतबाट चक्लेट देखाउँदै विस्तारो झर्न लगाउनु भएछ। आफ्नो घरमा डाकेर खाना र खेलाउना आदि अनेक दिएर दिनभरी भुलाउनु भएछ। हामी बेलुका कोठामा आएको थाहा पाएर केटाकेटी आए। रामचन्द्र र राधाले दिनभरी त्यता बस्नुको भित्री रहस्य हामीलाई खुसुक्क सुनाउनु भयो। यो सुनेर हामी होसियार भयौँ तर आफ्ना बच्चाहरूलाई गाली चाहीँ गरेनौँ। उनीहरूको मनोविज्ञान बदल्ने उपाय खोज्न थाल्यौँ।

मैले हिमगंगा माध्यमिक विद्यालय साँघुटार (रामेछाप) देखि नै शिक्षा विषय लिएर पढेको थिएँ। त्यहाँ सङ्क्षेपमा बाल मनोविज्ञानका विषयमा पढाई हुन्थ्यो। शिक्षा विषयमा शिक्षक हुनुहुन्थ्यो, राजकुमार श्रेष्ठ, उहाँको पढाउने कला आकर्षक र प्रभावकारी थियो। ती कुरा सम्झनामै थिए। पछि कलेजमा हामी दुवै जना (श्रीमती देवकी) ले शिक्षा विषय नै पढियो। त्यहाँ झन् उपल्लो तहको मनोविज्ञानको पढाई हुन्थ्यो। यी सबै कुराको सम्झना ग¥यौँ। गाली ग¥यो, सम्झयो भने उपस्थितिमा उपद्रो गर्दैनन्। अभिभावकको अनुपस्थितिमा चकचक थालिहाल्छन्। 

यत्तिकैमा मनमा एउटा सोच आयो। एकदिन केटाकेटीलाई डुलाउने नाममा वीर अस्पतालको आकस्मिक कक्ष पु¥यायौँ। त्यहाँ दुर्घटनामा परेर अनेक खालका चोटपटक लागेका रक्ताम्य भएका विरामी राखिएका थिए। यो देखाउँदै आफू अनुकुल व्याख्या गर्दै गर्दै गयौँ। यो विरामी छतमा चढेर हिँड्ने हुँदा लडेर टाउको फुटेको रहेछ। यो चाहिँ हतार गरेर बाटो काट्न खोज्दा परबाट आएको गाडीले हानेर खुट्टा किचिएको रहेछ। यो साथीसाथी मुक्कामुक्की गर्दा एकले प्रहार गरेको झट्टी अनुहारमा लागेर चोट पुग्न गएको रहेछ, यो यसो भएको रहेछ। यो उसो भएको रहेछ, भनेर व्याख्या गर्दै गयौँ। यो सबै बालमनोविज्ञान बमोजिमको प्रयोग थियो। हाम्रो निसाना सहि ठाउँमा लाग्यो, छोराछोरीले हाम्रा कुरा हुवहु पत्याए।

केटाकोटी हुन्, बाबूआमासँग डुल्न जाने भनेपछि खुसी हुन्थे। अनि त्यसको केहिदिन पछि पशुपति, गुह्येश्वरी, मृगस्थली आदि तीर्थस्थल डुलाउन लग्यौँ। हाम्रो उद्देश्य तीर्थाटन थिएन। छोराछोरीमा मनोवैज्ञानिक प्रभाव पार्नु थियो। उद्देश्य बमोजिम आर्यघाट र भष्मेश्वरघाटतर्फ ध्यानाकर्षण गरायौँ। त्यहाँ मृतकका अनेकौँ पार्थिव शरीरहरू यत्रतत्र थिए। कोहि ब्रह्मनालमा सुताइएका, कोहि ब्रह्मनालको पालो कुर्दै रहेका, कोहि चिता चढाउँदै गरेका, कोहि जल्दै गरेका, कतै चिता पखाल्दै गरेको अवस्थाका मृत शरीर देखाउँदै गयौँ। 

अनि अस्ति वीर अस्पतालमा भेटिएका घाइते सबै मरेर त्यहाँ ल्याएर जलाएको बतायौँ। यो फलानो टाउको फुटेको विरामी हो। यो अस्ति ऐया ऐया गरेर कराउने विरामी हो। यीनीहरू सबै मरेछन्। यहाँ ल्याएर जलाउँदै रहेछन्, भन्यौँ। पखाल्दै गरेको चिता देखाउँदै यी जल्दै गरेका सबैलाई आगाले पोलेर यसैगरी खरानी बनाउँछन् भन्यौँ। मानिसको जीवन चक्रको दुःखद् अन्त्य देखेर छोराछोरी (दीपा, दीपिका, भिमेश र दीवेश) निकै गम्भिर भए। त्यसदिन देखि त्यस तहको उपद्रो गरेनन्। यो संस्कार सहितको मनोवैज्ञानिक उपचार गरेका थियौँ। त्यसमा सफल भयौँ। अहिले छोराछोरी बुझ्न सक्ने भए। त्यसबेला हामी जुन उमेरमा थियौँ। आज कान्छो सन्तान पनि त्यो उमेरको भैसक्यो। उसबेला बाबू–आमाले राम्रो उद्देश्यका निम्ति भनेका कुराको रहस्य अहिले जस्ताको त्यस्तै सार्वजनिक गरिदिएँ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु