सोमबार १ माघ, २०८०
१ माघ, काठमाडौं ।
प्रत्येक वर्ष जस्तै माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व देशभर स्नान, जप, ध्यान र साधना दान आदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा भोलि विशेष मेलासमेत लाग्ने गर्छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ । माघे सङ्क्रान्तिका दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ ।
मकर सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिस बाट स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता पनि छ ।