शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

९ अधिकृतसहित २२ जनाविरुद्ध कीर्ते र संगठित अपराधमा मुद्दा दायर

बिहीबार १८ माघ, २०८० nepalexplores 1317


९ अधिकृतसहित २२ जनाविरुद्ध कीर्ते र संगठित अपराधमा मुद्दा दायर

१८ माघ २०८०, काठमाडौं

त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको हो । 


जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता समेत रहेका जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले बिहीबार लिखत कीर्ते र संगठित अपराधमा मुद्दा दर्ता गराएका हुन् । मुद्दा दर्ता गर्दै  जिल्ला न्यायाधिवक्ता अर्यालले पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काको सम्पत्ति लगायतमा थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लेखि पठाउने निर्णय समेत भएको बताए ।


जिल्ला प्रहरी परिसर, काठमाडौँले भिजिट भिसा प्रकरणमा संलग्न रहेकामध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेस गरेको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौँले दिएको रायसहितको प्रतिवेदनमा त्रिभुवन विमानस्थलमा कार्यरत अध्यागमन अधिकृतहरू नरवीर खड्का, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो तथा पहिले अध्यागमन कार्यालयमा कार्यरत रही हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना तथा समन्वय शाखामा कार्यरत शाखा अधिकृत तारा बहादुर कुँवरलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न प्रतिवेदन दिएको थियो । 

सेटिङमा भिजिट भिसामार्फत मान्छे पठाएबापत २ लाख रुपैयाँ बुझिसकेको अवस्थामा अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरिएको भए पनि अन्य अध्यागमन अधिकृतहरू भने सबै फरार नै रहेका छन् । नरवीर खड्काकै पोल बयानका आधारमा अन्य अध्यागमन अधिकृतहरूले समेत भिजिट भिसाको सेटिङ गरी कमिसन लिने गरेको पाइएपछि उनीहरुविरुद्ध समेत मुद्दा दायर भएको हो ।

त्यसबाहेक भिजिट भिसामा सेटिङ गर्ने, नक्कली कागजात तयार पार्ने र आफ्नो नक्कली कागजात तयारी पारी विदेश जान खोज्ने मानिसहरु समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको हो । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु