शनिबार ६ बैशाख, २०८२ (Saturday April 19, 2025)

चितवनको भरतपुर विमानस्थल विस्तारको प्रक्रिया अगाडि बढ्यो

शनिबार ५ फाल्गुन, २०८० nepalexplores 1415


चितवनको भरतपुर विमानस्थल विस्तारको प्रक्रिया अगाडि बढ्यो

५ फागुन, काठमाडौं ।
शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रकृया तत्काल अगाडि बढाउने सहमति भएको हो। सोमबारदेखि सर्भेको काम सुरु हुने र एक हप्ताभित्रै सक्ने गरी काम गरिने महानगरपालिकाले जनाएको छ।

समग्र विमानस्थल विस्तार सहजीकरणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति गरिएको छ। विस्तारका लागि सर्भे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरूप ओएलएस –अप्सट्रेकल लिमिटेशन सर्भे) गरिने भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आर्चायले जानकारी दिए।

हाल ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ। अहिले १२ सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ। पूर्वतर्फका मानवीय संरचनाका कारणले विमानहरुले १२ सय सय मिटर रनवे पनि प्रयोग गर्न सक्दैनन् । विस्तार गरेपछि विमानस्थलको धावनमार्ग कम्तीमा १५ सय मिटर बन्नेछ।

विमानस्थलको पश्चिमतर्फ रहेको पश्चिम चितवन जाने सडकलाई पनि विस्तारित विमानस्थलको छेउमा सार्नुपर्दछ। संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले ब्यहोर्ने छ। विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलगायत संरचना छन्। अहिले भ्याट बाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँको लागतमा विमानस्थलको नयाँ टर्मिनल भवन पनि बनिरहेको छ।

विमानस्थल विस्तार भएपछि ठूला क्षमताका जहाज आउने, महँगो भाडा घट्ने, रात्रिकालीन उडान हुने अपेक्षा गरिएको छ। विमानस्थल विस्तार पछि जहाजको फ्युल पम्प यहीँ निर्माण हुनेछ। भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला, अन्तर्राष्ट्रिय सिटी हल, देशकै तेस्रो पर्यटकीय गन्तब्य, आर्थिक राजधानी, मेडिकल सिटी भएको कारणले विमानस्थलको विस्तार अति आवश्यक भएको बताइन्।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु