सोमबार ७ फाल्गुन, २०८०
७ फागुन,काठमाडौं ।
नेपाली बाजा सारंगी, मादल, धिमे र बाँसुरीलाई हिपहपसँग मिश्रण गरे कस्तो संगीत सुनिएला? अमेरिकी र नेपाली कलाकारले पृथ्वीका दुई भूगोलको सांगीतिक स्वादलाई भिन्न शैलीमा बुन्ने प्रयत्न गरे।
‘सांस्कृतिक दूत’को रुपमा काठमाडौं आइपुगेका अमेरिकी कलाकार माजी मुताफा, सब्सटेन्सियल र डिजे फ्लेगले नेपाली बाजा र तिनका धुन सुने। नेपाली परम्परागत बाजाको रागलाई उनीहरुले ¥याप र डिजेइङमा पस्किए। पूर्वीय र पश्चिमा संगीतको यो फ्युजनमा सिर्जिएको संगीतको मिठास आइतबार सुनियो।
हाँडीगाउँको संगीत पाठशालामा नेपाली लोक सांगीतिक समूह ‘फ्युजन जात्रा’ र अमेरिकी कलाकारले सारंगीमा हिपहपको धुन सिर्जना गरे । अमेरिकी दूतावास र नेपाल हिपहप फाउण्डेसनको सहकार्यमा ‘नेपाल आर्ट्स इन्भोय हिपहप प्रोग्राम २०२४’ अन्तर्गत यस्तो कार्यशाला आयोजना गरिएको थियो।
नेपाली लोक बाद्यबादक र अमेरिकी कलाकारबीच संस्कृतिक आदानप्रदान गर्न कार्यशाला आयोजना गरिएको दूतावासले जनाएको छ । ‘नेपालको मौलिक सांगीतिक बाजा सारंगी र कलाकारलाई हिपहप संगीत र यसको तत्वसँग चिनारी गराउन कार्यशाला महत्वपूर्ण हुनेछ’ दूतावासद्धारा जारी वक्तव्यमा उल्लेख छ। सारंगीको मेलोडीलाई हिपहपसँग मिश्रण गरेर भविष्यमा सांगीतिक सहकार्यको बाटो खुल्ने आशा पनि दूतावासले लिएको छ ।
‘आर्ट्स इन्भोय २०२४ ः खुलौं बोलौं’ थिमसहित आयोजना गरिएको यी कार्यक्रमले दुई मुलुकबीच सांस्कृतिक अनुभव आदानप्रदान र घनिष्टता वृद्धिमा मद्दत पुग्ने आशा लिएको छ । ‘दूतावास अमेरिकी र नेपाली सहभागिको रचनात्मक स्वतन्त्रतालाई समर्थन गर्दै नेपाली नागरिकको सामाजिक र आर्थिक सचेतना वृद्धिमा प्रोत्साहन गर्न चाहन्छ’ विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी दूतावास र नेपाल हिपहप फाउण्डेसनले यस अघि पनि संगीत र नृत्य सम्बन्धी रचनात्मक कार्यक्रम आयोजना गर्दै आइरहेका छन् ।