शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

सुदूरपश्चिमका दुग्ध उत्पादक किसानले दुध पोखेर गरे सडकमा प्रदर्शन

शुक्रबार १८ फाल्गुन, २०८० nepalexplores 1362


सुदूरपश्चिमका दुग्ध उत्पादक किसानले दुध पोखेर गरे सडकमा प्रदर्शन

१८ फागुन, काठमाडौं ।

कैलाली, कञ्चनपुर र डडेल्धुराका दुग्ध उत्पादन गर्ने किसानले असोज १६ देखि दूधको भुक्तानी पाउन बाँकी छ। लामो समयसम्म दुग्ध विकास संस्थान बाट दुधको भुक्तानी नपाएको भन्दै किसानहरुले कैलालीको अत्तरियामा दुध पोख्दै प्रदर्शन गरेका छन्।


अखिल नेपाल किसान महासंघ र दुग्ध उत्पादक किसानले उत्पादन भएको दूध खरिद गर्नुपर्ने र बाँकी रहेको बक्यौता रकम भुक्तानी पाउनुपर्ने माग गर्दै सडकमा दूध पोखेर प्रदर्शन गरेका हुन्। दुध उत्पादक किसानले असोज १६ देखि माघ मसान्तसम्मको ४ करोड ६४ लाख २ हजार ४७३ रुपैयाँ र फागुन १५ गतेसम्मको पाँच करोड बढीको भुक्तानी पाउन बाँकी रहेको बताएका छन्।

 

आफूहरूले उत्पादन गरेको दूधको उचित मूल्य नपाएको गुनासो समेत गरेका छन्। उत्पादित दूध सबै बिक्री नहुने र थोरै बिक्री भएको दूधको समेत समयमा दुग्ध विकास संस्थानले भुक्तानी नदिँदा पेशा बाट पलायन हुनुपर्ने अवस्था आएको दुखेसो सुनाएका छन्। अखिल नेपाल किसान महासङ्घका प्रदेश अध्यक्ष मदनराज रेग्मीले दुग्ध विकास संस्थानले किसानको उत्पादित दूध नकिन्ने र थोरै खरिद गरेको दूधको पनि भुक्तानी ६,६ महिनासम्म भुक्तानी नदिनु गलत भएको भन्दै प्रदर्शन गर्नुपरेको बताए। 

 

महिनामा दुई पटक दूधको भुक्तानी दिने गरेको भए पनि असोज १६ देखि बजारमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री नभएकाले किसानलाई भुक्तानी दिन नसकेको दुग्ध विकास संस्थान, धनगढी दुग्ध वितरण आयोजना अत्तरिया कैलालीका सङ्कलन शाखा प्रमुख चन्द्रमोहन लेखकले बताए। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु