बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

शुक्लाफाटाँमा देखियो विश्वकै दुर्लभ बगाले बगेडी चरो

सोमबार १२ चैत्र, २०८० nepalexplores 1605


शुक्लाफाटाँमा देखियो विश्वकै दुर्लभ बगाले बगेडी चरो

११ चैत, काठमाडौं  ।
विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ। निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलो पटक देखापरेको हो।

 

धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मीले बताए। ‘फरक प्रजातिको चरा देखेपछि तस्वीर खिचेर नेपाल पक्षी संरक्षण सङ्घलाई पठाएँ’, उनले भने, ‘यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ। ’शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए। भँगेरा जस्तै तर रङ्गीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको उनले बताए।

 

नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस चरालाई पहिलोपटक सन् १९८० मा अभिलेखीकरण गरिएको थियो। त्यसपछि यस चराको तथ्याङ्क राखिएको नपाइएको उनले बताए। अभिलेखीकरण गरिएको ४४ वर्षपछि बगाले बगेडी चरा देखापरेको उनले बताए।

 

उत्तरी ध्रुवमा अत्यधिकरूपमा बढेको चिसो छल्नका प्रत्येक वर्ष यहाँ पुग्ने गर्दछन्। मासुका लागि अत्यधिकरूपमा सिकार हुन थालेपछि यो चरा विश्व बाटै लोप हुने अवस्थामा पुगेको छ। ‘अत्यन्तै सुन्दर शारीरिक बनावट र रङ भएका बगेड चराको सङ्ख्या पछिल्लो दशकमा ९० प्रतिशतले घटेको पाइएको छ”, चराविज्ञ डगौराले भने, ‘घट्नुको मुख्य कारणका रूपमा चोरी सिकारी नै हो।’ चीनमा सबैभन्दा बढी यस चराको सिकार हुने गरेको उनको भनाइ छ।


चराविज्ञ डगौराका अनुसार बगेडी चराका १५ प्रजाति नेपालमा पाइने गरेका छन्। तीमध्ये तीन प्रजाति रैथाने हुन् । बाँकी १२ आकर्षक साना प्रजातिका चरा रुस, मङ्गोलिया, चीन लगायतका क्षेत्र बाट बसाइँ सरेर आउने गर्दछन्। बसाइँ सरेर आउने मध्ये बगाले बगेडी चरा पनि पर्ने गर्दछ।


छातीमा पहेँलो रङ हुने बगाले बगेडी (एल्लो ब्रेस्टेड बन्टिङ) चरा नेपालमा पनि केही वर्ष पहिला हजारौँका सङ्ख्यामा देखिने गरेका थिए। अहिले २० देखि ३० को सङ्ख्यामा मात्रै देखिने गरेका छन”, डगौराले भने, ‘पछिल्लो वर्षमा यस चरालाई देख्न पनि दुलर्भ भएको छ, सन् १९८० पछि पहिलोपटक देखिएका छन्।’ यो चरा अतिसङ्कटापन्न अवस्थामा रहेको उनले बताए।

 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु