बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

झापाका किसान चैते धानखेतीतर्फ आकर्षित

बुधबार १४ चैत्र, २०८० nepalexplores 1425


झापाका किसान चैते धानखेतीतर्फ आकर्षित

१४ चैत, काठमाडौं ।

झापामा विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि चैते धान खेतीतर्फ झापाका किसान आकर्षित भएका छन्।

 

जिल्लामा विगतमा रु तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल रु चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए। 

 

जिल्लामा  आर्थिक वर्ष २०७९÷८० मा १९ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा चैत धान लगाइएकोमा यस वर्ष अझ बढ्ने केन्द्रले जनाएको छ। लागत कम र बढी मूल्य पाउन थालेपछि यस वर्ष जिल्लामा चैते धानखेती गर्ने किसान बढेका हुन्।  कन्काई नहर बाट सिञ्चित क्षेत्रमा केन्द्रले किसानलाई प्रविधि प्रदर्शनीको व्यवस्था गरेसँगै चैते धानप्रति किसानको आकर्षण बढेको हो।


कन्काई सिँचाइ आयोजना क्षेत्रमा उन्नत कृषि प्रविधि प्रदर्शन र धानखेतीमा प्रयोग हुने आधुनिक मेसिनरीबारे दुईवटा कार्यक्रम सञ्चालन गरिएको थियो। शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका गरी चारवटा स्थानीय तहमा सो कार्यक्रम लागू भएको छ। 

 

“विगतमा ४० देखि ५० केजी धानको बीउ लाग्ने ठाउँमा प्रविधिको प्रयोग गर्दा अहिले २० केजी बीउले पुग्यो” “एकातिर बीउमा खर्च घट्यो अर्कातर्फ मेसिनको प्रयोगले समय र श्रमिकको लागत पनि कम भयो । यसको प्रत्यक्ष लाभ किसानले पाउँछन्।” भण्डारीले भने।

 

गौरादह नगरपालिका–९ का किसान आधुनिक प्रविधिको प्रयोग गरेर कम लागतमा चैते धान लगाउन पाएकामा खुशी छन्। किसानहरुले ज्ञान केन्द्रको सहयोगमा आफूले आनुधिक प्रविधि प्रयोग गरेर धानखेती गरेको बताए। विगतमा जस्तो सिँचाइ असुविधा, धानको मूल्यमा समस्या नहुँदा पनि चैत धानखेतीप्रति उत्साहित भएर लगाएको बताएका छन्।

 

कृषि मन्त्रालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७९–८० झापामा बर्खाको समयमा ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु