शुक्रबार ४ जेष्ठ, २०८१
४ जेठ, काठमाडौं ।
प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी मनाइँएको छ। आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ । बिहीबारदेखि सुरु भएको यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न भएको छ।
पर्वका अवसरमा मिथिलाका मठ, मन्दिरमा यो पर्व वैशाख शुक्लपक्ष सुरु भएसँगै नौ दिनसम्म विभिन्न विधिका साथ मनाउने चलन छ। सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजी लगायत धेरै नाउँले जानकीलाई पुकारिन्छ। हिन्दू परम्परा र मान्यतामा देवीस्वरुपा मानिने जानकी अघि त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन प्रकट भएकी विश्वास गरिन्छ।
पर्वका अवसरमा प्राचीन मिथिलाका सबैजसो मठमन्दिरमा विशेष भजनकीर्तन हुँदै आएका छन् । त्यसैगरी सीताजी प्रकट हुनु भएको पौराणिक कथाका आधारमा ती विषय समेटिएको भावका मङ्गलगान जताततै गुञ्जिउदै आजको दिन बिशेष रुपमा मनाएका छन् ।
मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरको ब्रह्मचारीकुटीस्थित रामजानकी मन्दिर, बर्दिबासस्थित रामजानकी मन्दिर र जिल्लाका सबैजसो मठमन्दिरमा जानकी नवमीका अवसरमा विशेष धार्मिक अनुष्ठान भएको छ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाम र त्यहाँका मठमन्दिरमात्र नभएर घरघरमा हिजो बिहीबार साँझदेखि नै दीपावली गरिएको छ। जनकपुरधामस्थित दुधमती नदीमा आज बिहानै शाहीस्नान सम्पन्न भएको छ।