बिहीबार ३१ जेष्ठ, २०८१
३१ जेठ,काठमाडौं ।
इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको छ। आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक भएको छैन।
मंगलबार इजरायलले लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए। उनी इजरायल र हिजबुल्लाहबीच भएको आक्रमणबाट मारिएका हालसम्मका सबैभन्दा उच्च कमाण्डर भएको बीबीसीले जनाएको छ।
त्यसको प्रतिउत्तर स्वरुप इजरायलमाथि आक्रमण गरेको हिजबुल्लाहले जनाएको छ। आक्रमणका कारण इजरायलका विभिन्न स्थानमा आगलागी भएको छ। हिजबुल्लाहले इजरायलका सैन्य इलाका र सैन्य बाहन बनाउने फ्याक्ट्रीलाई निशाना बनाइएको जनाएको छ।
बीबीसीका अनुसार लेबनानको भूमिबाट इजरायलमा बुधबार रकेटको वर्षा भएको थियो। यो आक्रमणलाई गत वर्ष अक्टुबरदेखि इजरायल र हमासबीच गाजामा युद्ध सुरु भएपछि लेबनानको तर्फबाट इजरायलमा भएको यो सबैभन्दा ठूलो आक्रमण भनिएको छ।
आकाशमा अग्नि नियन्त्रक विमानहरु उडेको देखिन्छ । लेबनानले आक्रमण गरेपछि खतराको संकेत स्वरुप साइरन बजाइएको थियो। इजरायललाई पार गरेर साफेद शहर र तिबेरियाज क्षेत्रसम्म पुगेको जनाएको छ। इजरायली मिडिया संस्थान वाइनेट न्यूजका अनुसार इजरायली सेनाले प्रतिरक्षा प्रणालीमार्फत् अधिकांश रकेटलाई आकासमै ध्वस्त पारिएको जनाएको छ।