आईतवार २० श्रावण, २०८१
२० साउन, काठमाडौं ।
आज रातो मच्छिन्द्रनाथको भोटो देखाएर जात्रा सम्मपन्न गरियो।
भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागे पनि भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका जोतिषले जानकारी दिए।
भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुँदैछ। भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा छ। यसरी रातो मच्छिन्द्रनाथको रथलाई ६ महिना पाटन र ६ महिना बुङ्मतीमा राख्ने चलन छ। मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार ६ सय वर्षअघि सुरु भएको किंवदन्ती छ।
नागराज कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटक वैद्यको खोजीमा लागे। खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए। औषधिले रानीको आँखा दुख्ने रोग निको भयो। पुरस्कारस्वरुप हीरा, मोती, मणि माणिक्यले जडित भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो।
किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले। मनुष्यरुपी भूत आएर भोटो लग्यो। किसानले खोजे पाएनन्। मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे। भूतले दिन नमानेपछि विवाद भयो। कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो। अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो।
आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो। त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ। अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ।
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ। जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी हुने कार्यक्रम तय भएको हो। जात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको मनाईएको छ।
गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ः ०० बजेपछि देखाइएको छ। प्रमुख आचार्यले रथको चारैकुनामा उभिएर तीनपटक देखाउँदै ‘यो भोटो मच्छिन्द्रनाथको हो ?’ भनेर सोध्नेछन्।
गत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो। रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन हुँदैछ।
यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा हो।