आईतवार ३० मंसिर, २०८१
३० मंसिर, काठमाडौं ।
आज किरात समुदायले उधौली पर्व मनाउँदैछन्।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँने गरेका हुन्।
किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने र पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन्।
उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन्।भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउछन्।
ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ। आज सानो हात्तीवनमा पूजाआजा सहित किरात चाड विशेष रूपमा मनाइन्छ।
पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ। वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन्।
जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिन्छ। पर्वका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ।