मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

कुलमानले गरे बर्दिया–कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास

बुधबार २ पुष, २०८२ nepalexplores 2657


कुलमानले गरे बर्दिया–कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास

२ पुस, काठमाडौं।
कुलमान घिसिङले बर्दिया–कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास गरेका छन्। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया राजापुर नगरपालिका–१ दौलतपुर र कैलाली टीकापुर नगरपालिका–५ टीकापुर पार्कसँग जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्यास गरेका हुन्। 

शहरी विकास मन्त्रालय मातहत रहेको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गत सस्पेन्स बृज डिभिजन मार्फत निर्माण हुने पुलको लम्बाइ ४८२.२० र चौडाइ १.६० मिटर रहेको उल्लेख छ। 

यस पुल निर्माणबाट दौलतपुर र टीकापुर क्षेत्र दुवैतर्फका करिब २ हजार घरधुरी लाभान्वित हुने छन्। पुलको मध्य भागमा फोटो खिच्न मिल्ने गरी आवश्यक संरचना पनि बनाइने जनाएको छ।

दौलतपुरघाटमा पुल नहुँदा डुङ्गाको प्रयोग गरी कर्णाली नदी पार गर्नु पर्ने र वर्षा यामको समयमा डुङ्गाको प्रयोग गर्न नसकिने हुँदा आवतजावत जोखिमपूर्ण ढंगले गर्नु पर्ने अवस्था रहेको थियो।

सो झोलुङ्गे पुलको निर्माण पश्चात् स्थानीय बासिन्दालाई बाह्रै महिना सहज रूपमा नदी वारपार गर्ने सक्ने छन्। 

शिलान्यास समारोहमा मन्त्री घिसिङले पुल निर्माण पछि टापुको रूपमा रहेका राजापुर र टीकापुरलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न योगदान पुग्ने समेत बताएका छन्। 

मन्त्री घिसिङले त्यस क्षेत्रमा रहेको नदी कटानलाई नियन्त्रण गरी सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताएका छन्।

तोकिएकै समयमा पुलको निर्माण सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुका साथै ठेक्का सम्झौता बमोजिम पुल २०८४ असार ११ भित्र सम्पन्न हुने छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु