बिहीबार ५ माघ, २०७९
काठमाडौं । कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन छाडेर प्रतिगामी एमालेको साथमा गएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले एमाले अध्यक्ष केपी ओली संग निकैनै रिसाएका छन् । अध्यक्ष यादव पुनः ओली इतरको गठबन्धन बनाउने गृहकार्यमा लागेका छन् । उनी अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई साथमा लिएर कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटघाटलाई तीब्रता दिइरहेका छन् ।
उनले आफ्नो पार्टीदेखि लिएर विभिन्न बैठकमा कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग चुनावी गठबन्धन गर्नु आफ्नो ठूलो भूल भएको बताउन थालेका छन् । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँग एकताका लागि पटक पटक भएको छलफलमा पनि अध्यक्ष यादवले एमालेसँग गरेको चुनावी गठबन्धनले आफ्नो पार्टीलाई निकै क्षति भएको धारणा राखेका छन् ।
बुधबार मात्र जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति देउवासँग भेटेर नयाँ गठबन्धनको बारेमा छलफल गरेका छन् । सो छलफलपछि कांग्रेसले मधेस प्रदेशमा जसपा नेतृत्वको सरकारका मुख्यमन्त्री सरोज यादवलाई विश्वासको मत दिएको छ ।