शुक्रबार १९ असार, २०८३ (Friday July 03, 2026)

कर्णाली प्रदेशमा एमाले नेतृत्वका लागी  आकांक्षी बढ्दो

शनिबार ३० भाद्र, २०८० nepalexplores 1403


कर्णाली प्रदेशमा एमाले नेतृत्वका लागी  आकांक्षी बढ्दो


३० भदौ, काठमाडौं ।
आगामी १०–११ असोजमा हुने कर्णाली प्रदेश अधिवेशनका लागि आज प्रतिनिधि चयन भएका छन् । प्रदेश कमिटीका प्रचार प्रमुख सूर्यमणि गौतमका अनुसार, कर्णालीका १० जिल्लाबाट ५५४ र जनसंगठनहरुबाट ५० गरी ६०४ जना प्रतिनिधि चयन हुनेछन् ।


प्रतिनिधि चयनसँगै पहिलोपटक हुने प्रदेश अधिवेशनको औपचारिक प्रक्रिया अगाडि बढेको छ । यो प्रक्रिया नेतृत्व चयन गरेर टुंगिनेछ । तर प्रतिनिधि चयन हुनु अघिबाटै प्रदेश नेतृत्व चयनको गृहकार्य सुरु भइसकेको छ । प्रदेश अध्यक्षको राजनीतिक हैसियत पार्टीको पोलिटब्यूरो सदस्य सरह हुने र कार्यकारी पद समेत भएकाले नेताहरुको आकर्षण देखिएको छ ।

कर्णालीबाट एमालेमा गुलाबजंग शाह (सल्यान), लक्ष्मी पोखरेल (दैलेख), मोहन बानियाँ (मुगु) र भैरवसुन्दर श्रेष्ठ (जाजरकोट) पोलिटब्यूरो सदस्य छन् । यी मध्ये शाहलाई संभावित प्रदेश अध्यक्षका रुपमा प्रचार गरिएको छ ।

तत्कालीन राप्ती अञ्चलको राजनीतिमा महासचिव शंकर पोखरेल पोखरेललाई लामो समयदेखि सहयोग गर्दै आएका शाह तत्कालीन नेकपा विभाजनपछि प्रदेश अध्यक्ष बनेका थिए । शंकर पोखरेल नजिक भएकैले त्यो भूमिका उनले पाएको नेताहरु बताउँछन् ।


उनीहरुका अनुसार, गुलाबजंग शाह आफू प्रदेश अध्यक्ष बन्न नपाए सुर्खेतका ध्रुब शाहीलाई समर्थन गर्ने तयारीमा छन् । तर लुम्बिनीमा मतदानबाट नेतृत्व चयन भएकाले शाह र उनी निकट नेताहरुको चाहनाले मात्रै कर्णालीको नेतृत्व टुंगिने संभावना कम छ ।

एक नेताका अनुसार, परिस्थिति आफ्नो पक्षमा बने नेताहरु विष्णु रिजाल, निरज आचार्य, दल रावल, नगिन्द्र शाही  लगायत पनि प्रदेश नेतृत्वमा आउने सम्भावना छ । जनप्रतिनिधिले मुख्य पदमा जान नपाउने एमालेको नीतिका कारण अहिलेका प्रदेश अध्यक्ष विनोदकुमार शाहले चाहिँ उम्मेदवार बन्न पाउने छैनन् । उनी हाल कर्णाली प्रदेशसभा सदस्य छन् ।

प्रदेश उपाध्यक्ष लालबहादुर महतरा वा योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही र पूर्वसभामुख राजबहादुर शाहीलाई सम्भावित प्रदेश अध्यक्षका प्रतिस्पर्धीका रुपमा हेरिएको छ । राजबहादुर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट भएकाले पनि उनको आकांक्षालाई चासोका साथ हेरिएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु