शनिबार ३० भाद्र, २०८०
३० भदौ, काठमाडौं ।
आगामी १०–११ असोजमा हुने कर्णाली प्रदेश अधिवेशनका लागि आज प्रतिनिधि चयन भएका छन् । प्रदेश कमिटीका प्रचार प्रमुख सूर्यमणि गौतमका अनुसार, कर्णालीका १० जिल्लाबाट ५५४ र जनसंगठनहरुबाट ५० गरी ६०४ जना प्रतिनिधि चयन हुनेछन् ।
प्रतिनिधि चयनसँगै पहिलोपटक हुने प्रदेश अधिवेशनको औपचारिक प्रक्रिया अगाडि बढेको छ । यो प्रक्रिया नेतृत्व चयन गरेर टुंगिनेछ । तर प्रतिनिधि चयन हुनु अघिबाटै प्रदेश नेतृत्व चयनको गृहकार्य सुरु भइसकेको छ । प्रदेश अध्यक्षको राजनीतिक हैसियत पार्टीको पोलिटब्यूरो सदस्य सरह हुने र कार्यकारी पद समेत भएकाले नेताहरुको आकर्षण देखिएको छ ।
कर्णालीबाट एमालेमा गुलाबजंग शाह (सल्यान), लक्ष्मी पोखरेल (दैलेख), मोहन बानियाँ (मुगु) र भैरवसुन्दर श्रेष्ठ (जाजरकोट) पोलिटब्यूरो सदस्य छन् । यी मध्ये शाहलाई संभावित प्रदेश अध्यक्षका रुपमा प्रचार गरिएको छ ।
तत्कालीन राप्ती अञ्चलको राजनीतिमा महासचिव शंकर पोखरेल पोखरेललाई लामो समयदेखि सहयोग गर्दै आएका शाह तत्कालीन नेकपा विभाजनपछि प्रदेश अध्यक्ष बनेका थिए । शंकर पोखरेल नजिक भएकैले त्यो भूमिका उनले पाएको नेताहरु बताउँछन् ।
उनीहरुका अनुसार, गुलाबजंग शाह आफू प्रदेश अध्यक्ष बन्न नपाए सुर्खेतका ध्रुब शाहीलाई समर्थन गर्ने तयारीमा छन् । तर लुम्बिनीमा मतदानबाट नेतृत्व चयन भएकाले शाह र उनी निकट नेताहरुको चाहनाले मात्रै कर्णालीको नेतृत्व टुंगिने संभावना कम छ ।
एक नेताका अनुसार, परिस्थिति आफ्नो पक्षमा बने नेताहरु विष्णु रिजाल, निरज आचार्य, दल रावल, नगिन्द्र शाही लगायत पनि प्रदेश नेतृत्वमा आउने सम्भावना छ । जनप्रतिनिधिले मुख्य पदमा जान नपाउने एमालेको नीतिका कारण अहिलेका प्रदेश अध्यक्ष विनोदकुमार शाहले चाहिँ उम्मेदवार बन्न पाउने छैनन् । उनी हाल कर्णाली प्रदेशसभा सदस्य छन् ।
प्रदेश उपाध्यक्ष लालबहादुर महतरा वा योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही र पूर्वसभामुख राजबहादुर शाहीलाई सम्भावित प्रदेश अध्यक्षका प्रतिस्पर्धीका रुपमा हेरिएको छ । राजबहादुर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट भएकाले पनि उनको आकांक्षालाई चासोका साथ हेरिएको छ ।