मंगलवार २ आश्विन, २०८०
२ असोज, काठमाडौँ ।
पार्किङ शुल्क विवाद सँगै बक्यौता रकमका कारण पशुपति क्षेत्रभित्रको बसपार्क निःशुल्क गरिएको छ । पार्किङ व्यवस्थापनको जिम्मा पाएको तत्त्व इन्भेस्टमेन्ट प्रा.लि.ले ४१ लाख बढी बक्यौता रकम भुक्तान नगरेको र पार्किङ शुल्कमा समेत अनियमितता गरेको भन्दै पशुपति क्षेत्र विकास कोषले उक्त कम्पनी सँगको सम्झौता तोडेको हो ।
पार्किङ व्यवस्थापनमा व्यापक अनियमितता देखिएपछि टेन्डरवाला कम्पनीसँग सम्झौता रद्द गरी तत्कालका लागि पार्किङ निःशुल्क गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उक्त बसपार्कमा अनियमितता मात्र नभई कानुनको समेत गम्भीर उल्लङ्घन देखिएको मन्त्री किरातीको भनाइ छ ।
‘पशुपतिनाथको बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लङ्घन देखिएकाले सम्झौता भङ्ग गरिसकिएको छ । अर्को प्रक्रिया पुरा नहुँदासम्म पार्किङ निःशुल्क गरिएको जानकारी गराइन्छ,’ मन्त्री किरातीले सामाजिक सञ्जाल मार्फत बताएका छन् ।